पर्यटक पर्खिदै टिटी बराह

सुन्दरकुमार थकाली २०८२ असार १६ गते ११:३१

जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिकामा अवस्थित टिटी बराह ताल पर्यटकको पर्खाइमा छ । प्राकृतिक तथा जैविक विविधताले भरिएको मनमोहक टिटी बराह ताल बेनी जोमसोम राजमार्ग नजिकै भएर पनि ओझेलमा परेको छ ।


थासाङको टिटी बराह ताल थासाङ गाउँपालिका वडा नम्बर ५ को टिटी गाउँमा पर्छ । राष्ट्रिय राजमार्गको कालिगण्डकी पूर्वको अग्लो स्थानमा अवस्थित टिटी तालमा पर्यटकीय अथाह सम्भावना हुँदाहुँदै पनि आझेलमा परेको छ । बर्सेनी ७ लाख पर्यटक मुस्ताङ भित्रिदै गर्दा टिटी तालको अवलोकन गर्ने पर्यटक लगभग शून्य देखिन्छ ।


कालिगण्डकी नदीमा पुल नहुँदा र टिटी बराह तालको आवश्यक प्रचार/प्रसार हुन नसक्दा यहाँको टिटी बराह ताल आझेलमा पर्न गएको संरक्षण क्षेत्र व्यवस्थापन समिति टिटी गाउँका अध्यक्ष तेजेन्द्र गौचन बताउँछन् । अध्यक्ष गौचनले यहाँको टिटी बराह ताल जोड्ने गरी सरकारले (लेते—छयो) र (लेते—धम्पु)मा मोटरेबल पुल निर्माण गरे पनि विभिन्न प्राविधिक समस्याले सम्पन्न हुन नसकेको सुनाए ।

Advertisement


‘यहाँको टिटी बराह तालको सडक कनेक्टिभिटी भनेकै कालिगण्डकी नदीमा पुल चाहिने हो । तर, निकै लामो समय भईसक्यो, पुल बन्ने अझै छेकछन्द देखिएको छैन,’ उनले भने । संघीय सरकारले यहाँका टिटी बराह ताल जोड्ने गरी थासाङमा ओझेलमा परेका बस्ती जोड्ने गरी कालोपत्र सडक निर्माण गरिरहेको छ । कालिगण्डकीमा पक्की पुल बनेमा र सडक निर्माणको काम सम्पन्न भएमा यहाँको टिटी ताल घुम्न पर्यटक ओइरिने संरक्षण व्यवस्थापन समिति अध्यक्ष गौचनले दाबी गरे ।


समुन्द्री सतहको २ हजार ६ सय ७९ मिटरमा अवस्थित तालको चारैतिर सल्ला र धूपीका रुख छन् । आवश्यक प्रचारप्रसार नहुँदा र सडक पूर्वाधार नहुँदा टिटी बराह ताल ओझेलमा परेको त्यहाका स्थानीय धीरेन्द्र ल्वागुनले बताउँछन् । ‘मुस्ताङको ढुम्बाताल भन्दा यहाँको तालले पर्यटक आर्कर्षित गर्न सक्ने अथाह सम्भावना छ, तर यसको आवश्यक संरक्षण तथा प्रचार प्रसारको कमी देखियो,’ ल्वागुनले भन्नुभयो, ‘तालको महत्व र गरिमा बढाउने गरी प्रचारप्रसार र सडक कनेक्टिभिटीमा जोड दिनुपर्छ ।’

Advertisement


टिटी बराह ताललाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिएमात्रै त्यहाँको आझेलमा परेका गाउँहरु टिटी, कुञ्जो, ताक्लुङ, छयो लगायतको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय बताउँछन् । यो तालमा धौलागिरि हिमालको प्रतिबिम्ब देखिन्छ । ताल छेउबाट नीलगिरि र धौलागिरि हिमालको दृष्यावलोकन गर्न सकिन्छ ।


पछिल्लो समय दैनिक ४०/५० जना मोटरसाइकल यात्री टिटी ताल अवलोकन गर्न आउने गरेको थासाङ २ कोखेठाँटीका स्थानीय नवीन शेरचनले सुनाए । सडक र पुल निर्माणाधीन भएकाले तालसम्म पुग्न पर्यटकलाई केही असहज छ । सडक तथा पुल निर्माण सकिएमा ताल अवलोकन पर्यटकको लर्को लाग्ने उनले अपेक्षा गरे ।


त्यसो त यो ताल संरक्षणका लागि राष्ट्रिय प्रकृतिक संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सघाएको संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष तेजेन्द्र गौचनले बताए । एक्यापको बजेटले ताल संरक्षणका लागि ड्याम निर्माण गरिएको छ । तालका लागि विभिन्न सूचनामूलक बोर्ड, बिश्राम स्थल, रेलिङ बाटो लगायतका संरचना बनाउन आवश्यक छ ।


तालछेउ थासाङ गाउँपालिकाको १० लाख खर्च गरी टिटी बराह मन्दिर बनाएको छ । यो तालमा ७ प्रजातिका पानी हाँस पाइन्छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया