के कोसेली लाने पोखराबाट ?

पोखरा ।
पोखरा महानगरपालिकाले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईलाई बिदाइ गर्दा करुवा र बुद्धका मूर्ति मायाको चिनो दियो । पोखराबाट सेवा निवृत्त भएका अधिकृत चौलागाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, दलका नेताहरू दिवसमान प्रधानांग र राधिकाकुमारी शाही योगी, प्रवक्ता मोतीलाल तिम्सिना, महाशाखा तथा शाखा प्रमुखहरू, जनप्रतिनिधि र कर्मचारीले संयुक्त रूपमा बिदाइ गरेका थिए ।
कोसेलीको रुपमा दिइएका दुवै चिजले पोखराको पहिचान झल्काउँदैन् । महानगरले नै आफ्नो ठाउँको चिनारी दिने कोसेली नपाउने ठाउँमा घुम्न आउने पाहुनाले पोखराको चिनो खोजेर कहाँ पाउँथे र ? फेवातालको पानी बोकेर जाने कुरा भएन, माछापुच्छ्रे बोकेर जान सम्भव छैन !
काम विशेषले पोखरा आएकी दोलखाकी पत्रकार मेनुका कुँवरलाई यहाँको प्रकृतिले लोभ्यायो । फेवा किनार घुमिसकेर उनलाई अरु ठाउँमा पनि जान मन थियो । तर, समय अभावका कारण छिट्टै यहाँबाट फर्किइन् । प्रकृतिसँग रमाएर फर्कदा केही चिनो लैजान उनी चाहन्छिन् ।
पोखराको चिनो खोज्दै उनी २ दिन पोखरा लेकसाइड डुलिन् । तर, उनले पोखराको चिनो यही हो भनेर फेला पारिनन् । ‘पोखरा आएर हामीले के लैजाने ? फेवाताल र तालबाराही चिनो भन्ने भेटियो । त्यो पनि पशुपति र ठमेलमा पाइने सामान जस्तोमात्रै छ,’ उनले भनिन्, ‘यहाँको स्पेसल चिनो भन्ने नै रहेनछ । पोखरालाई चिनाउने चिनारीका सामान भए अझै राम्रो हुने थियो ।’
अर्की पत्रकार रुवि रौनियार पनि पर्यटनको राजधानी घोषणा भइसकेको पोखराले आफ्नो चिनारीमा ध्यान नदिएको गुनासो गर्छिन् । ‘पोखराको लेकसाइडमा सबै विदेशी खाना र सामानमात्र देखिन्छ । हामी यहाँ आउँदा यसैमा त रमाइरहेका छौं,’ उनले भनिन्, ‘हाम्रै रैथाने खाना र सामान भए अनि हामीले ती सामान जो पोखरा चिनाउँछ, त्यो सामान किनेर चिनोका रुपमा लैजान पाउने हो भने कस्तो राम्रो हुन्थ्यो ।’
पर्यटन राजधानीको विशेषता सुन्दर प्रकृति हो । अरुका उत्पादन बेच्ने पोखराले यहाँ आउने पाहुनालाई चिनो दिन सक्ने उत्पादन गरेकै छैन ।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालय लगायतको सहयोगमा भएको गण्डकी प्रदेशमा पर्यटनको सम्भावना विषयक अन्तरक्रियाका वक्ताहरुले पर्यटनको राजधानीले सबै विषयमा ख्याल गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पोखराले प्रकृतिमा मात्र भर नपर्ने गरी अरु योजना पनि बनाएर जानुपर्ने विचार राखिन् । जलवायु परिवर्तनको चपेटामा मुलुक फसिरहेको अवस्थामा प्रकृति सधैं एकैनास नहुने भएकाले अन्य पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ । शर्माले पनि पोखरा चिनाउने गरी कोसेली विकास गर्नुपर्नेमा जोड दिइन् ।
नेपाल पर्यटन बोर्ड, पोखराका वरिष्ठ अधिकृत युवराज गुरुङले अन्तरक्रियामा उठान भएका विषय केन्द्रमा पठाएर समाधानतर्फ लाग्ने बताए । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि बोर्ड सधैं तत्पर रहेको उनले सुनाए ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल गण्डकीको पर्यटन क्षेत्रको विकासका लागि यहाँका सञ्चार क्षेत्रसँगै अघि बढ्न तत्पर रहेको बताए । पोखराको चिनोका विषयमा पोखरा भ्रमण वर्ष समितिका संयोजक तथा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई प्रदेश सरकार र पोखरा महानगरपालिका नै गम्भीर रुपमा लाग्नुपर्ने बताउँछन् ।
‘प्रदेश सरकार र महानगरले कोसेली घर बनाउने भनेर नीति त लिएका छन् । तर, कार्यान्वयन जिरो भयो । हामी बारम्बार सरोकारवालासँग त छलफल गरिरहेका नै छौं,’ उनले भने, ‘मै भ्रमण वर्षको संयोजक भइरहँदा यो नै पहिलो नम्बरको प्राथमिकतामा राखेको छु । म सात प्रदेश वा विदेश घुम्न जाँदा के लिएर जाने भन्ने अन्योलमा छु । त्यसैले प्रदेश सरकार र पोखराले बनाउन लागेको कोसेली घर छिटो निर्माण भएर पोखराको चिनो यो भनेर स्थापित गर्न जरुरी छ ।’ जेठोबुढोको चामल, ल्वाङको चिया, सारंगी, सिक्लेस, ताङतिङ, घान्द्रुकतिर बनाइने राडीपाखी, भांग्रा, गार्मेन्ट, हस्तकलाका सामान लगायत धेरै चिज पोखराको चिनोका रुपमा विकास गर्न सकिने उनले सुनाए ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया