पोखरामा ११ सय बाल श्रमिक

समाधान संवाददाता २०८२ असार १७ गते १०:५५

पोखरा ।
नेपालको श्रमसम्बन्धी कानुनले बाल श्रमलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । तर पोखरा महानगर क्षेत्रमा १ हजार १ सय ४७ बाल श्रमिक रहेको एक सर्वेक्षणले देखाएको छ । पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको सामाजिक विकास केन्द्रले गरेको बाल श्रमिकको अवस्थाको सर्वेक्षणमा ३ सय २३ बालिका सहित त्यति बाल बालिका बाल श्रममा छन् ।

केन्द्र अन्तर्गत रहेको परियोजनाको सामाजिक लेखाजोखा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहजकर्ता भक्तराज रसाइलीले बाल श्रम उन्मूलन कार्यक्रम अन्तर्गत सेवा केन्द्रले ६७ बालिका सहित ४ सय ९५ बाल श्रमिकलाई सेवा दिएको बताए ।

गत वर्षको सर्वेक्षणले पोखरामा १ हजार ३ सय ६९ बाल श्रमिक रहेको देखाएको थियो । सामाजिक विकास केन्द्रले बाल श्रम उन्मूलन, बाल अधिकार रक्षाको लागि कम्युनिटी हब र जीविकोपार्जन र शिक्षा परियोजना चलाएको छ ।

Advertisement


तीमध्ये वक्र्ससप,ग्यारेज र मेटल उद्योगमा काम गर्नेको संख्या करिब ६ सय ५० रहेको छ । वक्र्ससपमा काम गर्ने ती बालकहरु त्यहीँको सानो कोठामा सुत्ने, सामूहिक रुपले खाना खाने र मुख्य मिस्त्रीलाई सघाउने गरेको रसाइलीले बताए ।

वर्कसपमा काम गर्नेहरु बालकहरुमध्ये अधिकांश भारतीय मुलका रहेका तथा उनीहरुलाई आफ्नै आमाबाले काम सिक्नको लागि ग्यारेज संचालकको जिम्मा लगाएर पठाउने गरिएको पाइएको उनको भनाइ छ । सामाजिक विकास केन्द्रले त्यस्ता बालबालिकाहरुलाई कार्यस्थलमै गएर अनौपचारिक शिक्षा दिने गरेको र त्यो कार्यक्रमलाई ग्यारेज र वक्र्ससप संचालन एवं बालबालिकाहरुले पनि प्रशंसा गरेको उनको भनाइ थियो ।

Advertisement


किडासाको सहयोगमा सामाजिक विकास केन्द्रले ग्यारेजमै पुगेर शिक्षा दिने,श्रमिक धेरै भएको बस्ती क्षेत्रका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने, अतिरिक्त कक्षा संचालन गर्ने एवं शैक्षिक सामग्री सहयोग गर्दै आइरहेको परियोजनाकी सामाजिक परिचालक विजया अधिकारी मानन्धरले जानकारी दिइन् ।


नेपालमा घरेलु श्रम, साना होटल, वयस्क मनोरञ्जन क्षेत्र, यातायात, कृषि, इट्टा कारखाना, जरी भर्ने तथा गलैचा कारखानामा बाल श्रमिक छन् । होटल तथा रेष्टुेन्टमा ६८ बाल श्रमिक कार्यरत छन् । पोखरा क्षेत्रमा ३९ बाल श्रमिक भारतीय रहेको रसाइलीले उल्लेख गरे । नेपालले २०८२ सम्ममा सबै प्रकारका बाल श्रम निवारण गर्ने लक्ष्य लिएको छ ।

सामाजिक विकास केन्द्रले ७६ बाल बालिकाको पुनस्थापना गरेको छ । ४५ बालबालिकाको जन्मदर्ता र नागरिकता बनाउन सघाएको छ । उनले कार्यक्रम अन्तर्गत बालबालिका शिक्षा सहयोग कोषका लागि १४ लाख संकलन भएको बताए । जीवन उपयोगी सीप अन्तर्गत ३ सय ३० बाल बालिकाले सेवा लिएको उनले उल्लेख गरे ।


श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेशराज ढकालले गत वर्ष १३ सय बाल श्रमिक रहेकोमा अहिले कमी हुँदै गएको बताए । ‘बाल श्रम न्यूनीकरणका लागि उद्योग वाणिज्य संघको योगदान छ,’ उनले भने, ‘सामाजिक विकास केन्द्रको कामले गरिबी निवारण र रोजगारी सिर्जना गर्न सहयोग पुगेको छ ।’

उनले गरिबी र बेरोजगारीका कारण बाल बालिका बाल श्रम गर्न बाध्य रहेको जानकारी दिए । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्माले अनुगमन पक्षलाई प्रभावकारी बनाएर बालबालिकालाई श्रममा लगाउने व्यक्ति तथा प्रतिष्ठानलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताइन् ।


शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले श्रम क्षेत्रका बालबालिकाको शिक्षामा सरकारको लगानी अपुग भएको जानकारी दिए । उनले निकृष्ट बाल श्रममा रहेका बालबालिकाको उद्दारको जिम्मेवारी सरकारी निकायको पर्ने बताए ।


जिल्ला प्रहरी कार्यालय महिला,बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख सरला ढकालले नेपाल प्रहरी र बाल कल्याण अधिकारीले उद्धारको काम गर्ने उल्लेख गरिन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सबै उद्योगी, व्यवसायीलाई आव्हन गरे अनुरुप २ सय ९० प्रतिष्ठानले बाल श्रम मुक्त व्यवसाय घोषणा गरेको जानकारी दिए ।


संघका पूर्व अध्यक्ष तथा सामाजिक विकास केन्द्रका संयोजक राजेन्द्रकुमार लालचनले कार्यक्रम अन्तर्गत बाल श्रम मुक्त वडा घोषणाको अभियान गरेको बताए । स्वान्त सुखाय परोपकार प्रतिष्ठानका अध्यक्ष प्राडा कृष्णकुमार श्रेष्ठले बाल श्रमको उन्मूलन गरे समुन्नत समाज निर्माण गर्न सहयोग पुग्ने चर्चा गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्वाचार्य, महासचिव शोभा गौतम, पोखरा ४ का वडा सदस्य पार्वती माकाजु, पोखरा ८ का वडा सदस्य पवित्रा केसी, बाल बालिका सिकाइ केन्द्र रामघाटका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, गैसस महासंघ नेपाल कास्की उपाध्यक्ष सरोजनारायण बराल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया