सातै प्रदेश प्रमुखहरूको राष्ट्रपति पौडेलसँग भेट

समाधान संवाददाता २०८२ असार १८ गते १९:११
Rt. Honorable President Ramchandra Paudel holds an interaction session with the Head of Seven Provinces at the President’s Office on July 2, 2025.

पोखरा ।
सातै प्रदेशका प्रदेश प्रमुखहरूले बुधबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । बुधबार उनीहरुले शीतल निवासमा भेट गरेका हुन् । भेटमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी थिए ।


प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको सामाजिक, राजनीतिक र आर्थिक अवस्था तथा सामना गरिएका कठिनाइ र कानुनी अन्यौलबारे राष्ट्रपति पौडेललाई जानकारी गराउँदै समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन आग्रह गरे । राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता प्रदेशहरूको सुदृढतासँग जोडिएको बताउँदै प्रदेशहरूबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने सुझाव दिए । उनले भने, ‘प्रदेशहरू सुदृढ भए मात्र यो व्यवस्था सुदृढ हुन्छ। संविधानको सार्थकता निष्कपट कार्यान्वयनबाट प्रमाणित हुन्छ ।’


प्रदेश प्रमुखहरू संघ र प्रदेशबीचको समन्वयकर्ता तथा संघीयताको सेतु भएको उल्लेख गर्दै पौडेलले निरन्तर सम्पर्क, संवाद र समन्वय आवश्यक रहेको बताए। उनले प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा, अन्तरप्रदेश सहकार्य र नागरिकको जीवनस्तरसँग राजनीतिक उपलब्धिलाई जोड्नुपर्नेमा जोड दिए ।

Advertisement


राष्ट्रपतिले प्रदेश प्रमुखहरूलाई आन्तरिक स्रोतको प्रयोग गरी मौलिकता विकास गर्ने, जनमुखी, समावेशी र सुशासनमा आधारित संरचना निर्माणमा प्रेरणादायी भूमिका निर्वाह गर्न आग्रह गरे । ‘मुख्य कुरा नागरिकको सम्मान, स्वाभिमान र समृद्धि हो,’ उनले भने, ‘प्रदेश प्रमुखहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गरी झक्झक्याउने भूमिका खेल्नुपर्छ ।’

Advertisement

तपाईको प्रतिक्रिया