कास्कीमा ११४ मानव अधिकार उल्लंघनका घटना

समाधान संवाददाता २०८२ असार १९ गते १०:२७

पोखरा ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म कास्की जिल्लामा १ सय १४ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरेको छ । इन्सेकले बुधबार पोखरामा कास्की जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे जानकारी दिँदै अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा गरेको हो ।


इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले कास्कीमा घरेलु हिंसा सबैभन्दा बढी देखिएको जनाए । बालअधिकार अन्तर्गत ९ घटना छन् । तीमध्ये बालिका बलात्कारका ७ वटा र बालबालिका कुटपिटका २ वटा घटना भएको खकुरेलले बताए । अमानवीय व्यवहार तथा दुव्र्यवहारका २ वटा, कुटपिटका २ र हत्याका १ वटा घटना छन् ।


जातीय विभदका १, महिला बलात्कारका ७ वटा घटना भएको खकुरेलले बताए । ६ महिनामै घरेलु हिंसाका ९२ वटा घटना घटना अभिलेख भएका छन् । ‘गत वर्ष यहीँ समयमा सन् २०२४ जनवरीदेखि जुनसम्म ९३ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना भएका थिए । त्यसमध्ये घरेलु हिंसाको घटनामात्र ५३ वटा थिए । ‘तर, यो वर्ष त्यसको संख्या ह्वातै बढेर ९२ पुगेको अभिलेख गरिएको छ,’ खकुरेलले भने ।

Advertisement


इन्सेकले विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार महासन्धीमा आधारित रहेर वर्षभरि देशभरिका घटना संकलन गर्ने र विश्लेषणसहित ‘नेपाल मानव अधिकार वर्ष पुस्तक’ प्रकाशन गर्दै आएको छ । आगामी वर्षको मानव अधिकार वर्ष पुस्तकका लागि लागि घटना संकलन भइरहेको इन्सेक कास्की जिल्ला प्रतिनिधि सञ्जय रानाभाटले बताए । यो ६ महिलाको अवधिमा नागरिक तथा राजनीतिक अधिकारमा केही सुधार देखिए पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्थामा खासै प्रगति नभएको रानाभाटले सुनाए ।


इन्सेक गण्डकी प्रदेश प्रमुख खकुरेलले शिक्षा, स्वास्थ्य, खाद्य, आवास, सुरक्षा, रोजगारी र विभेदविरुद्धको प्रत्याभूतिमा राज्य चुकिरहेको औंल्याए । बालअधिकारको सन्दर्भमा उनले भने, ‘छोरीको भ्रूण हत्या, बालश्रम, विद्यालयमा दिइने शारीरिक दण्ड, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अभाव, बालविवाह लगायतका घटना अझै समाजमा लुकेर भइरहेका छन् । त्यसलाई न्यूनीकरण गर्न सबै जागरुक हुनुपर्छ ।’

Advertisement

‘अपराधीलाई दण्डसँगै पीडितलाई क्षतिपूर्ति हुनुपर्छ’

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मानवअधिकार उल्लंघन र आपराधिक घटना फरक विषय भएको भन्दै यस्ता घटनाको गहिरो विश्लेषण गरी नीति निर्माणमा योगदान दिनुपर्नेमा जोड दिएकी छन् । उनले उजुरी लिने निकायले उजुरी नलिँदा मानव अधिकारको उल्लंघन हुने औंल्याइन् ।


‘पीडितले न्याय नपाउँदा त्यो आफैंमा मानव अधिकार उल्लंघन हो । अपराधको सजायमात्र नभई, पीडितले क्षतिपूर्ति पायो कि पाएन, त्यो आधारमासमेत मूल्यांकन गर्नुपर्छ,’ शर्माले भनिन् ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले आर्थिक अपराधपछि साइबर अपराधका उजुरी धेरै दर्ता भएको बताए । मान्छे लोभी र पापी बन्न खोज्दा आफैं ठगिएका घटना बढ्दै गइरहेको डिएसपी बस्नेतले बताए । कतिपय घटनाका मुद्दामा पीडित होस्टाइल हुने गरेको उनले सुनाए ।


मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका टंक खनालले इन्सेकले उल्लंघनका घटना वर्गीकरण गरेर प्रस्तुत गरे भविष्यमा समाधान प्रक्रिया सहज हुने बताए । कार्यक्रममा पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले युद्ध र संघर्षका बीचमा विश्वमै मानव अधिकार संकटमा परेको बताए ।


गैरसरकारी संस्था महासंघका गोपाल खड्काले तीन–तीन महिनामा स्थानीय स्तरमा घटनाहरूको अनुगमन र समीक्षा हुनुपर्ने बताए । दलीत महिला संघ गण्डकीकी अध्यक्ष सुमित्रा गायकले जातीय विभेदका घटना बाहिर ल्याउनुपर्ने धारणा राखिन् ।


राष्ट्रिय अपांग महासंघ गण्डकीका कृष्णप्रसाद अधिकारीले अपांग व्यक्तिका परिचयपत्रमै भेदभाव हुने स्थिति रहेको बताए । ‘परिचयपत्रमा अपांगता नखुलाई अधिकार सुनिश्चित गर्न सकिँदैन,’ उनले भने । कोपिला नेपालका तीर्थ थापाले महिला हिंसा कुन क्षेत्र वा वर्गमा बढी छ भन्ने वर्गीकरण गर्न सुझाव दिए ।


मानव अधिकार एयरलायन्सका बुद्धि थापाले ढिलासुस्ती जस्ता सेवा प्रवाहमा हुने कमजोरीलाई पनि मानव अधिकार उल्लंघनको रूपमा अभिलेख गर्नुपर्ने सुझाएका छन् । मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष धुव्रसिंह खड्काले सरकारी अस्पतालमा बीमा सेवा प्रभावकारी नभएको जनाउँदै बिरामीले अनावश्यक सास्ती पाएको उल्लेख गरे ।


कार्यक्रममा महिला एकल महिला समूहकी जुना केसीले परिवारमै हुने हिंसा बढिरहेको बताइन् । गोरेटो नेपालकी विमला गुरुङले बालश्रमको अवस्था गम्भीर बन्दै गएको बताउँदै नियमित अनुगमनको आवश्यकता औंल्याइन् । मानव अधिकार एयरलायन्स कास्की अध्यक्ष मधु पन्थीले साइबर अपराधलाई पनि उच्च प्राथमिकतामा राखी अभिलेख गर्नुपर्ने बताए ।


सिविन नेपालकी कृष्णा गुरुङले आर्थिक अभावका कारण धेरै बालबालिका न्यायबाट वञ्चित भएको सुनाइन् । द्वन्द्वपीडित दूधराज अधिकारीले गण्डकी प्रदेशको बजेटले उनीहरूको स्वास्थ्य बीमा हटाएको भन्दै गुनासो पोखे ।

तपाईको प्रतिक्रिया