मोहन बस्नेत रवि लामिछानेको फोटोकपी भएको अजयबाबुको जिकिर, पार्टीलाई फोहरमुक्त बनाउन राजीनामा दिन सुझाव

समाधान संवाददाता २०८२ असार १९ गते १९:२५

काठमाडौँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी अहिंसात्मक र सफा हुनुपर्ने बताएका छन् । उनले लामो समयपछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा जनआकांक्षा, कार्यकर्ताका आकांक्षा र आम कांग्रेसको भावना समेटेर छलफल गर्नुपर्नेमा आरोप प्रत्यारोपमा उत्रेर पार्टीलाई आम जनताले कसरी हेर्छन् भनेर ख्यालसमेत नगर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

Advertisement

बिहीबार दिउँसो बैठकलाई सम्बोधन गर्दै नेता शिवाकोटीले बुधबार बोल्ने क्रममा अर्का केन्द्रीय सदस्य मोहन बस्नेतले दिएको हिंसात्मक अभिव्यक्तिको चर्को आलोचना गरे । उनले भने, ’जुन किसिमले हिंसात्मक अभिव्यक्ति दिनुभएको छ के त्यसलाई हामीले टुलुटुलु सहेर बस्नुपर्ने हो ? ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो ? के हामीले पार्टीलाई मल्लयुद्धको मैदान बनाउन खोजिरहेका हौँ ? होइन भने ’ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गाह्रो पर्ला, होश गर्नु’ भनेर महामन्त्री गगन थापाको नामै लिएर ज्यान प्राणमा दागा धर्दासमेत त्यस्ता अराजक प्रस्तुति दिनेलाई रोक्न सकिँदैन भने हामी कस्तो अभ्यासतिर जान खोजिरहेका छौँ ?’

उनले बुधबारको बैठकलाई बिर्सनयोग्य र पार्टीको रेकर्डबाट हटाउनु पर्ने अभिव्यक्ति आएको भन्दै ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा सभापतिसहित आफूहरु निरीह भएर बस्नु परेको बताए ।

Advertisement

उनले भने, ’बुधबारको बैठक धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरण गरे झैँ थियो। महाभारतमा कुलको मर्यादालाई निर्वस्त्र गर्ने प्रयास भएको थियो भने कांग्रेस सभामा महामन्त्रीलाई मर्यादाहीन आरोप लगाएर सो पदको गरिमा धुलिसात बनाउँदै चरित्रहत्या गरिएको थियो। अनि धृतराष्ट्रको सभाका सदस्य दुर्योधनसँग लाचार भएजस्तै हामी भ्रष्टाचारका एक आरोपितसँग लाचार भइरहेका थियौँ ।’

उनले पार्टीको गुन्डा प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै सभापति शेरबहादुर देउवालाई सचेत हुन आग्रह गर्दै भने, ’सभापतिज्यू,भोलि फेरि कोही उठेर सभापतिज्यूविरुद्ध बुधबारको बैठकमा जस्तै विषवमन गरे के हुन्छ ? यसैगरी पार्टी अर्डरमा रहन्छ ? मियो बिनाको दाइँ जस्तै गरेर पार्टी चल्छ ? बाहुबलले मात्र पार्टी चल्छ ?’

शिवाकोटीले मोहन बस्नेतलाई सहकारी ठगीसहित संगठित अपराधमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँग तुलना गर्दै घुर्की देखाएरै अपराधबाट पन्छिने क्रम बन्द गर्न सुझाव दिए ।

उनले भने, ’केही समयअघि सहकारी ठगी प्रकरणमा हाल पूर्पक्षका क्रममा कैदमा रहेका रवि लामिछानेले संसदको रोष्ट्रममा उभिएर ’आफूलाई फसाउन खोज्ने कांग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको’ बताएका थिए । बुधबारको बैठकमा लामिछानेकै भेरियन्ट बस्नेतज्यूमा देखियो । लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यूलाई मेरो आग्रह छ तपाईं फाइल छ फाइल छ भनेर किन घुक्र्याइरहनु भएको छ। थर्काउने पनि अनि महामन्त्री थापालाई अतिरिक्त माया किन देखाइरहनुभएको छ। थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्बन्धित निकायमा नदिएको ?’

शिवाकोटीले अगाडि भने, ’तपाईं आफू डामिइसक्नुभएको छ। महामन्त्रीलाई पनि कारबाही भएको देख्न चाहनुहुन्छ भने कानूनी प्रक्रियामा जानुस् । हेर्नुस् हामीलाई फोहर नभएको पार्टी चाहिएको छ । भ्रष्टाचारको आहालमा डुबेको पार्टी चाहिएको छैन । थापाजी दोषी देखिए भोग्नुहोला। हैन भने धम्क्याउने राजनीति बन्द गर्नुस् ।’

पार्टीलाई बदनाम गर्ने छुट कसैलाई नभएको भन्दै शिवाकोटीले बस्नेतलाई सचेत गराउँदै भने, ’जहाँसम्म मेरो जानकारी छ तपाईंसँग गभर्नर पद कांग्रेसले साटेको पनि छैन । अहिले जे भइरहेको छ तपाईंकै कर्मले हो । रुन्चे याचना गर्दै अरुलाई दोष नदिनुस् । पार्टीमा तपाईंले योगदान गरेको छ भन्ने नाममा पार्टीलाई बदनाम बनाउने छुट तपाईंलाई छैन। हामीलाई पनि छैन। पार्टीभित्रको सुशासनको लागि बरु आरोपको टुंगो नलागेसम्म पार्टीको पदबाट अलग रहँदा त्यो पार्टीकोलागि ठूलो गुन हुनेछ ।’

यस्तो छ कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले राखेको धारणा –

सभापतिज्यू पदाधिकारीज्यूहरु, पूर्व पदाधिकारीज्यूहरु, केन्द्रीय समितिका अग्रज तथा साथी केन्द्रीय सदस्यज्यूहरु, प्रदेश सभापतिज्यूहरु जय नेपाल ।

आज म यो बैठकमा केही सवालहरुका साथ उपस्थित भएको छु। म यो बैठकमा आम नागरिकले हामीलाई कसरी बुझ्न थालेका छन् ? उनीहरुको भावनासँग हामी कसरी एकाकार भएर जाने भन्ने विषयमा घनिभूत छलफलको अपेक्षाका साथ उपस्थित भएको थिएँ । पार्टीले संचालन गरेको सय दिने अभियानको प्रतिवेदनमाथि लामै विमर्श हुने र त्यसका आधारमा नयाँ कार्यक्रम तय हुने अपेक्षा गरेको थिएँ ।

अबको चुनावमा सबैभन्दा प्रभावशाली उपस्थिति जनाउने जेन्जी पुस्तासँग कसरी सहकार्य गर्दै उनीहरुलाई पार्टीमा आकर्षित गर्ने भन्ने बारेमा योजना बनाइने अपेक्षा गरेको थिएँ । पार्टीले सोसल मिडियामा सामना गर्नुपरिरहेको चुनौतीको चर्चा गर्दै त्यसबाट पार लाग्ने उपायको बारेमा मन्थन हुने अपेक्षा गरिरहेको थिँए । हाम्रै पार्टीका परम्परागत मतदाता के सोचिरहेका छन् र कसरी उनीहरु अभिव्यक्त गरिरहेका छन् भन्नेमा छलफल हुने अपेक्षा गरेर बसेको थिएँ ।

श्रमिक गए, विद्यार्थी गए, देशबाट उद्यमी व्यवसायीहरु यहाँ उपस्थिति मात्रै जनाएर बाहिर गइरहेका बारेमा तथ्याङ्कसहित चिन्तन हुने अपेक्षा राखेको थिएँ । नयाँ पुस्ता जोडिन हिच्किचाइरहेको र पुरानो पुस्ता बिच्किरहेको कारण हामीले खोज्छौं होला भन्ने पनि अपेक्षा थियो ।

पार्टी केन्द्रीय समितिको बैठकमा यस्ता विषयमा कतिको चर्चा भयो होला भन्ने सोच्दै आज बिहान बालाजु पार्कमा हिँडिरहेको थिए। पार्कमा नियमित भेट हुने सभापतिज्यूकै उमेर हाराहारीका एक जना दाजुले भन्दै हुनुहुन्थ्योः “कांग्रेसले अब हामीलाई मत हाल्न जानु नपर्ने गरी सजिलो बनाइरहेको छ।”

सभापतिज्यू ती दाजुका कुराले म गम्भीर भएँ, त्यो केवल तीतो टिप्पणी थिएन । यो हाम्रो परम्परागत मतदाता वर्गको चेतावनी थियो। यस्ता चेतावनीको भाषा तपाईंहरुले कति सुनिरहुनुभएको छ ?

अवसर र जिम्मेवारी पाउँदा आम नागरिकको भरोसा जित्नुपर्ने ठाउँमा बेलगाम भएर मैमत्ता हात्ती जस्तो भएर हिँडेपछि आम मानिस हाम्रो आरती गरेर बस्दैनन् । संघ र प्रदेशको बजेटपछि देशभर आफ्नै पार्टीका नेता कार्यकर्ताहरुको प्रतिक्रिया र टिप्पणी त नेतृत्वगणले देख्नु सुन्नुभएकै होला ।

कांग्रेसको नेता कतै आरोपित हुँदा, अख्तियार र अदालतमा बयान दिन पुग्दा, भ्रष्टाचारमा डामिदा तपाईं हामीहरु भन्दा गाउँघरमा कांग्रेसको नाममा दियो बालेर कांग्रेसलाई बचाइरहेका कार्यकर्ता र मतदाताको शिर कति निहुरिन्छ भन्ने हेक्का हामीले राखेका छौँ ?

तपाईं हामी जस्ता नेता कार्यकर्ताले लिएको निर्णय वा व्यवहार गलत हुँदा तपाईं हामी भन्दा बढी रक्षात्मक कांग्रेसका तिनै मतदाता र कार्यकर्ता भइरहेका छन् । धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तो भएपछि अहिले आफ्नै समर्थक हामीलाई गाली गर्न थालेका छन् । के यस्को जानकारी हामीहरुले राखेका छौँ ?

आम नागरिक र कार्यकर्ताहरू कांग्रेसको बारेमा अरु कसरी सोचिरहेका छन् ? सय दिने अभियानपछि केन्द्रीय कार्यालयमा प्राप्त जिल्लागत रिपोर्टहरूमा पनि यो कुरा आएकै होला । तनहुँको रिपोर्ट मैले पनि बुझाएको छु ।

मेरै जिल्ला दोलखामा केन्द्रीय प्रतिनिधि भएर जानुभएका नेताज्यूले पनि दोलखा कांग्रेसको बारेमा त्यस्तै रिपोर्ट बुझाउने अपेक्षा गरेको थिएँ । तर विडम्बना आमसभामा आफ्नो महिमा गान गाउने, विपक्षीलाई थर्काउने टेक्निक बाहेक दोलखा कांग्रेसले केही पाउन सकेन । बरु हामीले एक जना हाम्रा नागरिक ज्ञानबहादुर तामाङ उहाँका कारण गुमायौँ । भिमेश्वर नगरपालिका ६ का तामाङलाई उहाँको टीमले बेपर्वाह चलाएको गाडीले ठक्कर दिएर यमलोक पु¥यायो । पैसा र शक्तिको भरमा दबाब दिएर घटना सामसुम बनाइए पनि तामाङ परिवार अहिले पनि शोकबाट निस्कन सकेको छैन ।

सभापतिज्यू गत वर्ष २०८१ मंसिर ३ गते सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले आफ्नो कार्यालय भवन उद्घाट्न ग¥यो । दोलखाको सय दिने अभियानमा सहभागी हुन जाने क्रममा सिन्धुपाल्चोक कांग्रेसले गरेको निम्तो मान्न म पनि चौतारा पुगेको थिएँ । तर सो दिन सोही जिल्लाका नेता कार्यक्रम बहिष्कार गरेर हुल बाँधेर दोलखातिर बरालिँदै चौताराको कार्यक्रममा नजान सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्ताहरुलाई उर्दी जारी गरिरहनुभएको थियो । महामन्त्री गगन थापा प्रमुख अथिति रहेको कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाभरका नेता कार्यकर्ता उर्दीको अवज्ञा गर्दै उत्साहजनक रुपमा सहभागी भए ।

सभापतिज्यू, कोही मन परेन भन्दैमा आफ्नै जिल्लाको पार्टी कार्यालय उद्घाटन बहिष्कार गर्न सुहाउने कुरा हो ? त्यस्ता सोच भएका व्यक्तिले तल नेता कार्यकर्तामा कस्तो संस्कार दिइरहेका होलान् सभापतिज्यू आफै विचार गर्नुहोला । दुःखका साथ भन्नुपर्छ दोलखामा पठाइएका केन्द्रीय प्रतिनिधिबाट दम्भको प्रदर्शन बाहेक केही सिक्न नपाएको दोलखाली कांग्रेसजनको गुनासो छ।

केहि दिनअघि पार्टीको पुस्तकालयमा संसदीय लोकतन्त्रको जननी बेलायतका एक नेपाली मूलका नेतालाई बोलाएर हाम्रो भगिनी सम्बन्ध रहेको लेबर पार्टीका अभ्यासहरुको बारेमा अन्तरक्रिया गरेका थियौँ । पार्टीका नेताहरु कुनै विषयमा आरोपित भएको अवस्थामा कसरी उनीहरुले प्रक्रिया पार गरेर पार्टीबाट अलग हुन्छन् र पार्टीलाई रक्षात्मक बन्न दिँदैनन् भनेर सुन्न पाएका थियौँ ।

दोषी नपाइए पार्टीमा पुनरागमन भए पनि सो समयसम्म पार्टीबाट अलग रहने नैतिकता बेलायती अभ्यासमा रहेको लेवर नेता डा बच्चुकैलाश कैनीले बताउनुभएको थियो। तर यहाँ भ्रष्टाचारको मुद्धाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थप रक्षात्मक हुन नदिनुको साँटो उल्टै केन्द्रीय समितिमा थप समय लिएर गठबन्धन सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री र स्वयं पार्टी सभापति, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरु र विशेषगरी पार्टीका महामन्त्रीविरुद्ध विषवमन गर्दा त्यसलाई टुलुटुलु हेरेर हामीले कस्तो नजिर स्थापित गर्न खोजेका हौँ ?

सभापतिज्यू हर विषयको सीमा हुन्छ। भगवान् श्रीकृष्णले पनि १०० गालीसम्म सहनु भएको थियो । त्यसपछि सिसुपालको के भएको थियो महाभारतको प्रसङ्गमा चाख राख्ने सबैलाई जानकारी नै होला । कलियुगमा त्यो पनि कांग्रेसमा जे गर्दा पनि हुन्छ जे बोल्दा पनि हुन्छ भन्ने हो भने अलग कुरा नत्र पार्टीभित्र मर्यादा, अनुशासन, पदीय गरिमा भन्ने कुरा हुन्छ कि हुँदैन सभापतिज्यू ?

बुधबारको बैठक धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरण गरे झैँ थियो। महाभारतमा कुलको मर्यादालाई निर्वस्त्र गर्ने प्रयास भएको थियो भने कांग्रेस सभामा महामन्त्रीलाई मर्यादाहीन आरोप लगाएर सो पदको गरिमा धुलिसात बनाउँदै चरित्रहत्या गरिएको थियो। अनि धृतराष्ट्रको सभाका सदस्य दुर्योधनसँग लाचार भएजस्तै हामी भ्रष्टाचारका एक आरोपितसँग लाचार भइरहेका थियौँ ।

सभापतिज्यू,भोलि फेरि कोही उठेर सभापतिज्यू विरुद्ध बुधबारको बैठकमा जस्तै विषवमन गरे के हुन्छ ? यसैगरी पार्टी अर्डरमा रहन्छ ? मियो बिनाको दाइँ जस्तै गरेर पार्टी चल्छ ? बाहुबलले मात्र पार्टी चल्छ ?

सभापतिज्यू, तपाईंकै सामुन्ने बुधबार केन्द्रीय सदस्य मोहन बस्नेतले जुन किसिमले हिंसात्मक अभिव्यक्ति दिनुभएको छ के त्यसलाई हामीले टुलुटुलु सहेर बस्नुपर्ने हो ? ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो ? के हामीले पार्टीलाई मल्लयुद्धको मैदान बनाउन खोजिरहेका हौँ ? होइन भने “ ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गाह्रो पर्ला, होश गर्नु “ भनेर महामन्त्री गगन थापाको नामै लिएर ज्यान प्राणमा दागा धर्दासमेत त्यस्ता अराजक प्रस्तुति दिनेलाई रोक्न सकिँदैन भने हामी कस्तो अभ्यासतिर जान खोजिरहेका छौँ ?

सभापतिज्यू, बीपी कोइरालासहित अग्रजहरुले शुरु गरेको पार्टीको संस्कार यही हो ? सभापतिज्यूलाई सोध्न चाहन्छु यो अराजकता कहिलेसम्म ? मर्यादाहीन यस्ता विषय पार्टीको रेकर्डमा राखेर हामी कस्तो कुरा आउने पुस्तालाई दिन खोज्दैछौँ । त्यसैले मेरो आग्रह छ यस्तो गैरजिम्मेवार, अराजक र हिंस्रक भनाइलाई पार्टीको रेकर्डबाट हटाइयोस् ।

सभापतिज्यू केही समयअघि सहकारी ठगी प्रकरणमा हाल पूर्पक्षका क्रममा कैदमा रहेका रवि लामिछानेले संसदको रोष्ट्रममा उभिएर ’आफूलाई फसाउन खोज्ने कांग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको’ बताएका थिए । बुधबारको बैठकमा लामिछानेकै भेरियन्ट बस्नेतज्यूमा देखियो ।

लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यूलाई मेरो आग्रह छ तपाईं फाइल छ फाइल छ भनेर किन घुर्कयाइ रहनुभएको छ। थर्काउने पनि अनि महामन्त्री थापालाई अतिरिक्त माया किन देखाइरहनुभएको छ। थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्बन्धित निकायमा नदिएको ? तपाईं आफू डामिइसक्नुभएको छ। महामन्त्रीलाई पनि कार्वाही भएको देख्न चाहनुहुन्छ भने कानूनी प्रक्रियामा जानुस् । हेर्नुस हामीलाई फोहर नभएको पार्टी चाहिएको छ । भ्रष्टाचारको आहालमा डुबेको पार्टी चाहिएको छैन ।

थापाजी दोषी देखिए भोग्नुहोला। हैन भने धम्क्याउने राजनीति बन्द गर्नुस् । जहाँसम्म मेरो जानकारी छ तपाईंसँग गभर्नर पद कांग्रेसले साटेको पनि छैन । अहिले जे भइरहेको छ तपाईंकै कर्मले हो । रुन्चे याचना गर्दै अरुलाई दोष नदिनुस् । पार्टीमा तपाईंले योगदान गरेको छ भन्ने नाममा पार्टीलाई बदनाम बनाउने छुट तपाईंलाई छैन। हामीलाई पनि छैन। पार्टीभित्रको सुशासनको लागि बरु आरोपको टुंगो नलागेसम्म पार्टीको पदबाट अलग रहँदा त्यो पार्टीकोलागि ठूलो गुन हुनेछ ।

पार्टी शुसासनका सन्दर्भमा


सुशासन, सेवा प्रवाहको कुरा हामीले धेरै सुन्दै आएका छौँ । तर यो कुरा पार्टीमा पनि लागू हुनुपर्ने होला नि ? विधानत तोकिएको जिम्मेवारी पुरा गर्न नसक्दा सम्बन्धित तहका नेतृत्वलाई जवाफदेहि पनि बनाउनु पर्ने होला नि ।

क्रियाशील सदस्यताको विषयमा ३३ वटा परिपत्र पठाउँदा पनि मातहतका तहले समयमा काम गर्दैनन भने त्यसको जवाफदेखि को हुने ? पार्टी महाधिवेशनको तयारीमा जुट्नुपर्ने बेला अझै सक्रिय सदस्यताको विषय टुंगिन सकेको छैन । सक्रिय सदस्यता नविकरणको टुंगो लगाउने विषय अनुसासन समितिमा परेका उजुरीसँग पनि जोडिएको छ। अनि अनुसासन समितिमा परेका उजुरी टुंगिने कहिले हो ? अनि नयाँ सदस्यता वितरण कहिलेबाट ?

निजामती सेवामा २ वर्षे कुलिङ अफ पिरियडको चर्चा अहिले चर्चामा छ । पार्टी महाधिवेशन र स्थानीय तहको चुनावबीच कम्तीमा डेढदेखि २ वर्षको कुलिङ पिरियड राखेमात्र स्थानीय तहको चुनावमा हामीले राम्रो नतिजा ल्याउन सक्छौँ त्यसको सकारात्मक प्रभाव संसदीय चुनावमा पनि पर्छ भनेर २ वर्षअघिकै बैठकमा धारणा राखेको थिएँ ।

त्यसमा पार्टी नेतृत्वको ध्यान पुगेन। महासमिति बैठकअघि महामन्त्रीले कार्यतालिका पेश गरेर महाधिवशेन सुनिश्चित गर्न खोजेको हाम्रो बुझाइ थियो। तर कस्को दबाबमा हो कि के हो विडम्बना त्यो कार्यतालिका नै पछि गायब भयो ।

डेढ वर्षअघि २०८२ मंसिरमा महाधिवेशन सुनिश्चित गर्न ल्याइएको त्यो कार्यतालिकाको समर्थन गर्न नसकेका हामीहरुले अब सोही मितिमा महाधिवेशन गर्न कार्यतालिका ल्याउनु भन्नु सार्वजनिक खपत भन्दा अरु होइन भनेर कसरी विश्वासमा पर्नु ?

आदरणीय सभापतिज्यूले आफ्नो रिटायरमेन्टको समय आएको संकेत गर्नुभएको छ। तर जिम्मेवारी पाएर पनि पूरा गर्न नसकेका भ्रातृ संस्थाको नेतृत्वलाई कहिले रिटायरमेन्टमा पठाउने ? नेविसंघ, तरुण दल, महिला संघ, दलित संघको बेथिति कहिलेसम्म टुलुटुलु हेरिरहने ?

सभापतिज्यूले रिटायरमेन्ट लिँदै गर्दा पार्टीलाई एक ढिक्का बनाएर लाने सबैभन्दा ठूलो चुनौती छ। तपाईंको उमेर समूहदेखि जेन्जी हुँदै अल्फा पुस्तासम्मको भावना समेट्दै आम नागरिकको बीचमा फेरि पनि नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी बनाउने चुनौती छ । यो चुनौती पार्टीभित्र मर्यादा, अनुशासन र एकता बिना सम्भव छैन।

यसैले पनि दृष्टिकोणमा आत्मपरीक्षण गर्दै काममा निरन्तरता र इमानदारीता कायम हुनुपर्छ। अतः यस बैठकले सरकार तथा पार्टीको समग्र गतिविधिको सिंहावलोकनका साथ मूल्यांकन गर्दैः मतदातासँग पुनः भरोसायुक्त सम्बन्ध बनाउने, जेन्जी पुस्तालाई आत्मसात् गर्दै उनीहरुसँग सहकार्य गर्ने र विश्वासको पुनर्निर्माण गर्ने दिशामा ठोस योजना ल्याओस् भन्ने मेरो आग्रह छ । धन्यवाद। जय नेपाल ।

तपाईको प्रतिक्रिया