‘आर्थिक क्षेत्रमा जलवायु संकटले अनेक समस्या’

समाधान संवाददाता २०८२ असार २० गते १३:३१

पोखरा ।
मेची महाकाली मिडिया सोसाइटीले बिहीबार सञ्चारकर्मीसँग गण्डकी प्रदेश स्तरीय जलवायु संवाद आयोजना गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा कार्यक्रम भएको हो ।


कार्यक्रमको प्राविधिक सत्रमा संघीय वन तथा वातावरण मन्त्रालयका सहसचिव अजय कार्कीले जैविक विविधताको संरक्षण र जलवायु संकट, राष्ट्रपति कार्यालयका पूर्वसचिव डा भेषराज अधिकारीले जलवायु परिवर्तन र खाद्य सुरक्षा, पत्रकार अर्जुन ढकालले जलवायु संकट र आर्थिक विकासमा पर्ने असर विषयमा सहजीकरण गरे ।


कार्यक्रममा मुख्य वक्ताका रुपमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव पूर्णेश्वर सुवेदीले जलवायु परिवर्तनको अवस्था र असर न्यूनीकरणमा प्रदेश सरकारका भूमिकाको विषयमा प्रस्तुति राखे । जलवायु संवादमा हिमाल बचाऊ अभियन्ता तथा संविधान सभाका सदस्य डिबी नेपाली, गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालय वातावरण महाशाखाका उपसचिव शिवप्रसाद सापकोटा र एक्यापका आयोजना प्रमुख रविन कडरीया सहभागी भए । पत्रकार दीपक परियारले संवादको सहजीकरण गरे ।

Advertisement


पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले कार्यक्रमको उद्घाटन गर्दै जलवायु परिवर्तनले परेको असर विश्वव्यापी रुपमा चुनौतीको विषय बनेको बताए । नेपालको भौगोलिक बनावट संवेदनशील भएकाले मनसुनजन्य विपद् र प्राकृतिक प्रकोपको असर बढ्दो भएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको असरले आर्थिक, कृषि र पर्यटन क्षेत्रमा असर परेको जनाए ।


विश्वविद्यालयले वातावरण र दिगो विकास र मानव संशाधनको विकासमा काम गरेको जानकारी दिँदै उनले जलवायु परिवर्तनको समस्या र समाधानका उपायलाई पाठ्यक्रममा समेटेको उल्लेख गरे । संघीय वन तथा वातावरण मन्त्रालयका सहसचिव कार्कीले नेपालको मनसुन जन्य विपद्मा बंगालको खाडीको मात्र नभएर अरब सागरको प्रभाव पर्न थालेको जानकारी दिए । राष्ट्रपति कार्यालयका पूर्वसचिव अधिकारीले नेपालमा ४६ लाख जनताको खाद्य अधिकार सुनिश्चित हुन नसकेको बताए । दिगो कृषि प्रणाली विना नेपालको खाद्य अधिकार सुनिश्चित हुन नसक्ने उनको तर्क छ ।

Advertisement


प्रदेश वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव सुवेदीले पृथ्वीमा चली आएको तापक्रम, जाडो गर्मी, वर्षा हिमपात जलवायुको अवस्थामा आउने परिवर्तन भएको बताए । उनले जलवायु परिवर्तनको असरलाई न्यून गर्न समुदायको सहकार्य अनुकुलन कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरे । पत्रकार ढकालले जलवायु परिवर्तनको असरको कारण कोशी, गण्डकी र कर्णालीको हिमाली क्षेत्रका ४७ हिमताल जोखिममा रहेको जनाए ।


जलवायु परिवर्तनको असरले कास्कीमा सरदरभन्दा ११ दशमलव ४४ मिलिलिटर कम वर्षा भएको जानकारी दिँदै उनले स्याङजामा ९ मिलिलिटर सरदरभन्दा बढी पानी परेको बताए । मेची महाकाली मिडिया सोसाइट अध्यक्ष माधव शर्माले पिता पुर्खाले तुलसी, बर, पीपल रोप्ने, खानेपानी मुहान तथा पोखरीको संरक्षण गरेर परम्परागत रुपमा वातावरण संरक्षणको काम गरेको उदाहरण पेश गरे ।


कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरु पुण्य पौडेल र दीपेन्द्र श्रेष्ठ लगायतले जलवायु परिवर्तनले पारेको असरबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया