मुस्ताङमा आयुर्वेदको सेवा विस्तार

सुन्दरकुमार थकाली २०८२ असार २० गते १८:१५

जोमसोम ।
मुस्ताङमा आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा विस्तार गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको चालु वर्षको बजेट ३४ लाखबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको बिहीबार पूर्वाधार निर्माणसहित आयुर्वेद स्वास्थ्य सेवा विस्तार गरिएको छ ।


जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले साविकमा प्रवाह गर्दै आएका सेवालाई थप विस्तार गरेको हो । केन्द्रद्वारा यहाँ कार्यालयमा थेरापी सेवा, पञ्च कर्म÷पूर्व कर्म, शिरोधारा, साउना, विस्तारित ओपडी सेवा, शल्यकर्म, अग्निकर्म, मर्म चिकित्सा लगायतका सेवा विस्तार गरेको केन्द्रका प्रमुख डा सरोजकुमार रायले जानकारी दिए ।


आयुर्वेद स्वास्थ्य केन्द्रले यहाँ आयुर्वेद स्वास्थ्य सेवासम्बन्धी साउनातर्फ १० लाख, भवन निर्माणतर्फ २० लाख, काठ तथा फर्निचरमा २ लाख र उपकरण खरिदमा २ लाख बजेट खर्च भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले आयुर्वेद स्वास्थ्य केन्द्रको विस्तारित सेवा सुरुआत गरे ।

Advertisement


भुसालले आयुर्वेद स्वास्थ्य केन्द्रको विस्तारित सेवाबाट मुस्ताङका नागरिक, यहाँका सुरक्षा निकाय तथा कर्मचारी लगायत मुस्ताङ जिल्लामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित हुने अपेक्षा गरे । यहाँ शारीरिक तथा मानसिक बिरामी र स्वस्थ्यकर मानिसका लागि पनि थप स्वस्थ रहन यहाँको आयुर्वेद उपचार पद्धति प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।


केन्द्रले विस्तारित सेवा प्रवाहअघि पनि यहाँका नागरिक, कर्मचारी, सुरक्षा निकाय र पर्यटकलाई विभिन्न प्रकारका आयुर्वेद सेवा प्रवाह गर्दै आएको थियो ।

Advertisement

केन्द्रले निःशुल्क औषधि वितरण, प्रयोगशाला सेवा, योग परामर्श, चिकित्सकीय सेवा, जीवनशैली तथा आहार बिहारबारे परामर्श लगायतका सेवा दिइरहेको छ । आयुर्वेद स्वास्थ्य सेवा विस्तारका लागि कार्यालयका लागि सीमित जग्गा भएकाले पूर्वाधार निर्माण गर्न समस्या परेको केन्द्रले जनाएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया