दलित उन्मुक्तिको मार्गमा बुद्ध धर्मको भूमिकाबारे पोखरामा विमर्श

समाधान संवाददाता २०८२ असार २० गते १८:३०

पोखरा। नेपाली समाज र संस्कृतिमा जातीय विभेद तथा दलित समुदायको उन्मुक्तिको प्रश्नलाई लिएर शुक्रबार पोखरामा एक विशेष विमर्श आयोजना गरिएको छ। अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक तथा नेपालविज्ञ डेभिड गेल्नरले उक्त कार्यक्रममा नेपाली दलित समुदायले आफ्नो मुक्तिका लागि कसरी बौद्ध धर्मलाई आत्मसात् गरिरहेका छन् भन्ने विषयमा आफ्नो अध्ययन र विश्लेषण प्रस्तुत गरे।

पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा रहेको समाज विज्ञान केन्द्रले आयोजना गरेको कचहरीमा प्राध्यापक गेल्नरले ‘हाइरार्की, बिलङ्गिङ, रेजिस्टेन्स: फ्रम बुद्धिस्ट रिचुअल्स टु दलित एक्टिभिजम्’ शीर्षकमा आफ्नो प्रस्तुति दिएका थिए।

आफ्नो प्रस्तुतिमा उनले भारतीय दलित आन्दोलनका प्रणेता डा. भीमराव अम्बेडकरले बौद्ध धर्मलाई सामाजिक तथा राजनीतिक स्वतन्त्रताको सशक्त मार्गका रूपमा अपनाएको प्रसङ्ग उल्लेख गरे। सन् १९५६ मा काठमाडौँ भ्रमणपछि भारत फर्केर अम्बेडकरले हजारौँ दलित अनुयायीसहित बौद्ध धर्म ग्रहण गरेको घटनाको स्मरण गर्दै प्राध्यापक गेल्नरले भने, “त्यस ऐतिहासिक घटनाको ठूलो प्रभाव नेपालमा भने त्यतिबेला देखिएन।”

Advertisement

सन् १९८२ मा आफ्नो विद्यावारिधिको अनुसन्धानका लागि पहिलोपटक नेपाल आउँदा ‘दलित’ शब्द नै प्रचलनमा नरहेको उनले स्मरण गरे। “जब म फिल्डवर्कका लागि नेपाल आएँ, त्यतिबेला जनजाति, दलित र खसआर्य जस्ता शब्दावली राजनीतिक वृत्तमा थिएनन्,” उनले भने, “पछिल्ला दिनमा पहिचानको राजनीतिसँगै यी शब्दावलीहरू बढी प्रचलनमा आएका हुन्।”

प्राध्यापक गेल्नरले नेपालमा छुवाछुतको अवस्थामा धेरै परिवर्तन आएको तर यसको स्वरूप बदलिएको बताए। वैदेशिक रोजगारीमा गएका नेपाली युवाका लागि जातपात ठूलो विषय नबने पनि स्वदेश फर्किँदा उनीहरू यही सामाजिक संरचनामा अभ्यस्त हुन नसकेको विरोधाभास आफ्नो अध्ययनमा देखिएको उनले प्रस्ट्याए। उनले नेपालको पछिल्लो १५० वर्षको इतिहासलाई सबै प्रकारका विभेदविरुद्धको प्रतिरोधको इतिहासका रूपमा लेख्न सकिने धारणा राखे।

Advertisement

कचहरीका परिकल्पनाकार तथा लेकसिटी कलेजका अध्यक्ष प्रा.डा. विश्वकल्याण पराजुलीले डा. अम्बेडकरले प्रचलनमा ल्याएपछि मात्र ‘दलित’ शब्द नेपालमा अनुसरण गरिएको बताए। उनका अनुसार, त्यसअघि समाजमा ‘पानी चल्ने’ र ‘नचल्ने’ भनेर मात्रै जातीय विभेदको व्याख्या गरिन्थ्यो।

कार्यक्रममा दलित अधिकारकर्मी केशबहादुर परियारले नेपालमा ठूला राजनीतिक परिवर्तनहरू भए पनि दलितमाथिको विभेदको प्रश्न अझै मुख्य चुनौतीका रूपमा रहेको बताए।

उक्त अवसरमा डा. कृष्ण अधिकारी, डा. अञ्चला चौधरी, रमेश अधिकारी सन्तोष सुनार, मनोज सुवेदी, गिरिधारी दाहाललगायतले जिज्ञासा र आफ्ना विचार राखेका थिए। लेकसिटी कलेजले हरेक महिना समसामयिक विषयमा यस्ता कचहरी आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया