पृथ्वीचोकको पूरै जग्गामा बसपार्क बनाउँछौँ : आचार्य

समाधान संवाददाता २०८२ असार २१ गते ९:०६

पोखरा ।
पोखराको पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणको योजना पाँच दशकअघिको हो । बसपार्कका लागि जमिन अधिग्रहण गरिएको लामो समय व्यतीत हुँदासम्म बसपार्क बन्न सकेको छैन । बसपार्कका लागि अधिग्रहण गरिएको जमिनसमेत खुम्चिँदै गएको छ । सुविधासम्पन्न बसपार्क कहिले बन्छ भनेर पोखरेलीले महानगरसँग सधैँ प्रश्न गर्ने गरेका छन् ।


पोखरा महानगर प्रमुख धनराज आचार्यले बसपार्कका लागि अधिग्रहण गरिएको पूरै क्षेत्रमा बसपार्क बनाउने प्रतिबद्धता जनाएका छन् । उनले बसपार्कको १४८ रोपनी क्षेत्रफलमै बसपार्क बनाउने महानगरको योजना सुनाए ।


पोखरा महानगरले प्रवाह गरेका सेवाका सम्बन्धमा शुक्रबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले आफू निर्वाचित भएर आएदेखि नै बसपार्क निर्माणका लागि प्रयत्न गरेको बताए ।

Advertisement


‘बसपार्कका लागि सुरुमा एक सय ४८ रोपनी जमिन अधिग्रहण गरिएकामा अहिले २६ रोपनी बाँकी छ, जमिनमा सुकुम्बासी बसेका छन् । उनीहरूलाई व्यवस्थापन गरेर बसपार्कको पूरै क्षेत्रफलमा बसपार्क बन्छ । यसका लागि सबैको साथ र सहयोग चाहिन्छ,’ प्रमुख आचार्यले भने । महानगरले १९ हजार १७६ जना भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण गरेकामा त्यसमध्ये चार सय जना बसपार्कमा बसोबास गरिरहेको जानकारी दिए ।


पोखराको विकास र समृद्धिका लागि आफू दिनमा १८ घण्टाभन्दा बढी समय काम गरेको प्रमुख आचार्यले बताए । विभिन्न दातृ निकायबाट अर्बौँ रकम ल्याएर पोखराको पूर्वाधार, पर्यटन तथा सहरी यातायात व्यवस्थापन लगायतको क्षेत्रमा काम भइरहेको बताए । प्रमुख आचार्यले भने, ‘हामीले पोखराका लागि मेसिन भएर काम गरेका छौँ । जाने बेलासम्म परिणाम देख्नुहुन्छ ।’

Advertisement


महानगर प्रमुख आचार्यले वर्षायाम सकिनेबित्तिकै फिर्के खोलाको खोलाघर खाली गर्ने अभियान सञ्चालन गरिने बताए । उनले यसअघि संरक्षणका काम अघि बढाउँदा अदालतले रोके पनि अहिले ‘गो अहेड’ भनेकाले संरक्षणको काम हुने बताए ।
‘फिर्केको मापदण्ड कार्यान्वयन गर्नेछौँ र खोलाघर खाली गर्ने अभियान मनसुन सकिनेबित्तिकै सुरु हुन्छ । व्यक्तिको सम्पत्तिको संरक्षण गर्नेछौँ । त्योबाहेक फिर्के खोलाघर अतिक्रमण गर्न मिल्दैन,’ प्रमुख आचार्यले भने ।


प्रमुख आचार्यले उज्यालो पोखरा अभियानअन्तर्गत विभिन्न २३ स्थानमा हाइमास्ट बत्ती जडान गरिएको तथा आगामी वर्षमा समेत उज्यालो पोखरा अभियानलाई निरन्तरता दिइने बताए ।


महानगरका प्रवक्ता मोती तिमिल्सिनाले महानगरमा अहिले फाउन्डेसन बनेकाले बाँकी दुई वर्षको अवधिमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम हुने बताए । प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले जनताका सुझावबाट काम गर्न दिशानिर्देश हुने बताए ।


नागरिक समाजका रामबहादुर पौडेलले फेवातालमा पुनः जलकुम्भी झारले कुरुप बनाएकाले संरक्षणका काम अघि बढाउन आग्रह गरे । उनले फिर्केका अतिक्रमित संरचना छिटो हटाउन माग गरे । पोखरा–१६ का गोपाल गिरीले योजना तर्जुमा गर्दा स्थानीयलाई सहभागी गराउन तथा सेती नदीको मापदण्ड लागू गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा नगरवासीहरूले वडामा कर्मचारी तथा प्राविधिक जनशक्ति न्यून हुँदा समस्या भएको, वधशाला बन्न नसकेको, महानगरको खानेपानी नियमित आपूर्ति हुन नसकेको, सार्वजनिक जमिन अतिक्रमण बढेको, सहरी स्वास्थ्य केन्द्रहरूमा औषधि प्राप्त हुन नसकेको तथा महानगरका सबै वडाहरूमा समानुपातिक विकास हुन नसकेको लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया