पोखरा ९ को हाइकिङ हरिहर गुफासम्म

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ९ को आयोजनामा शनिबार हरिहर गुफा सन्यास आश्रमसम्म हाइकिङ गरिएको छ । पोखरा महेन्द्रपुल स्थित झण्डापार्कदेखि सुरु भएको हाइकिङ पोखरा ११ फुलबारी हुँदै पोखरा २० मा रहेको आश्रममा पुगेर सकिएको हो ।
समुन्द्री सतहदेखि १ हजार ३ सय मिटरमा रहेको आश्रमसम्मको हाइकिङमा वडाका विभिन्न सञ्जाल, आमा समूह, पत्रकार र स्थानीयसहित ९० जनाको सहभागिता थियो । उक्त कार्यक्रममा सहभागीले प्राकृतिक वातावरणसँग रमाउँदै त्यस क्षेत्रको धार्मिक महत्वबारे जानकारी लिएका थिए ।
पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बढ्दो सहरीकरण, व्यस्त र आधुनिक जीवनशैलीले वडाबासीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले केही समय व्ययामसँगै हिड्नुपर्छ भन्ने सन्देश दिन हाइकिङ आयोजना गरिएको जानकारी दिए । वडालाई सुन्दर, शान्त र समृद्ध बनाउनका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।
हाइकिङ संयोजक वडा सदस्य लक्ष्मी पहारीले वडाको चौतर्फी विकासका लागि हाइकिङ आयोजना गरिएको बताइन् । विकास भनेको पूर्वाधारमात्र नभएकाले वडाबासीको स्वास्थ्य पनि विकासको पाटो भएकाले यस खालको कार्यक्रम आवश्यक रहेको उनले सुनाइन् ।
आश्रमका पठाधीश इशानन्दजी महाराजले पोखरा ९ का जनप्रतिधिले हाइकिङ आयोजना गरेर सिर्जनात्मक कामको थालनी गरेको बताए । सो अवसरमा उनले हाइकिङमा सहभागीलाई आश्रमबारे जानकारी दिए ।
आश्रम १८ औं शताब्दीमै स्थापना भएको अनुमान गरिए पनि औपचारिक लिखत भने वि.स. १९०६ वैशाखमा श्री ३ जंगबहादुर राणाले सनद पत्र जारी गर्दाको मात्रै भेटिएको छ । अन्नपूर्ण हिमश्रृंखलाका साथै पोखरा सहरका अधिकांश भाग देख्न सकिने आश्रम प्राकृतिक हिसाबले मनोरम र रमणीय छ । पोखराबाट करीब ८ किलोमिटरमा पर्छ ।







सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया