कुलिङ पिरियडबारे छानबिन गर्न समिति

काठमाडौं ।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाले विशेष समिति बनाउने भएको छ । सभामुख देवराज घिमिरेको अग्रसरतमा शनिबार विभिन्न दलका सचेतकसहितको बैठकले संसदीय संसदीय विशेष समिति बनाउने निर्णय गरेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिमा सर्वसम्मत भएको प्रतिवेदन लेखनमा गडबडी भएको पछि थाहा भएको थियो । यस विषयमा आवश्यक अनुसन्धान गर्न विशेष समिति बनाउने बैठकको निष्कर्ष निकालिएको सत्तारूढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । कर्मचारीले सरकारी सेवाबाट राजीनामा वा अवकास भएको दुई वर्षसम्म संवैधानिक वा सरकारी नियुक्ति नपाउने गरी ‘कुलिङ अफ पिरियड’को व्यवस्था विधेयकमा राख्न समितिले सर्वसम्मत निर्णय गरेको थियो ।
उक्त व्यवस्थालाई निष्प्रभावी बनाउने गरी भाषा प्रयोग गरिएको प्रावधान समितिको प्रतिवेदनमा देखिएको छ । त्यसलाई प्रतिनिधिसभाले पारितसमेत गरिसकेको छ । प्रतिनिधिसभाले पारित गरिसकेपछि फरक कुरा प्रतिवेदनमा राखिएको र त्यो पारित भएको खुलेको थियो । विधायन कार्यमा संलग्न सांसद र कर्मचारीमाथि गम्भीर प्रश्न उठ्न थालेपछि त्यसको छानबिनका लागि चौतर्फी दबाब बढेको छ ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले समितिले सर्वसम्मति जुटाएको विषयमा गरिएको गडबडीबारे छानबिन आवश्यक रहेको बताए । त्यसैको छानबिनका लागि विशेष समिति बनाउने सभामुख र दलरूबीच सहमति जुटेको उनले जानकारी दिए । ‘सहमति एउटा छ । प्रतिवेदन आउँदा अर्कै छ । त्यो स्वीकार्य हुने कुरा होइन,’ उनले भने, ‘संसदीय विशेष समितिको मुख्य काम त्यो गडबडी कसरी भयो त्यसको छानबिन गर्नु हुनेछ ।’
७ सदस्यीय समिति बनाउने निर्णय भएको उनले सुनाए । प्रतिनिधिसभाको नियमावलीको नियम १८० मा रहेको विशेष समितिसम्बन्धी प्रावधानअनुसार समिति बनाइनेछ । विशेष, संवेदनशील वा गम्भीर प्रकृतिका विधेयक वा अन्य कार्यका लागि प्रतिनिधिसभामा आवश्यकता अनुसार विशेष समिति गठन गर्न सकिने व्यवस्था छ । सभामुख र दलका प्रमुख÷मुख्य सचेतकबीच त्यही नियमलाई टेकेर विशेष समिति बनाउने सहमति जुटेको हो ।
सोमबार बस्ने प्रतिनिभिसभाको बैठकबाट समिति घोषणा गरिनेछ । त्यही दिन बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा समितिमा रहने सांसदको नाम, संयोजक तथा समितिको काम कर्तव्य टुंगो लगाइने माओवादीका मुख्य सचेतक पाण्डेले जानकारी दिए । कांग्रेस र एमालेबाट २/२ जना तथा माओवादी, रास्वपा र राप्रपाबाट १/१ जना रहने गरी समिति बनाउन लागिएको छ ।
यो विधेयक सरकारले २०८० फागुन २ गते उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गराएको हो । दुई वर्षभन्दा बढी अवधि गुजारेर राज्य व्यवस्था तथा परामर्श समितिले उक्त विधेयकमाथि सहमति जुटाएको हो । समितिले सर्वसम्मतिले पारित गरेको विधेयकका प्रतिवेदन असार १ गते प्रतिनिधिसभामा पेस गरिएको थियो । सभाले असार–१५ मा पारित गरेको छ । पारित भइसकेपछि उक्त विधेयक विवादमा तानिएको हो । समितिले कर्मचारीका लागि ‘कुलिङ अफ पिरियड’को व्यवस्था राख्ने तयारी गरेपछि मुख्य सचिव, संसदका महासचिवदेखि दर्जन बढी सचिवले त्यो नराख्न दबाब दिएका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया