शुक्ला साहित्य प्रतिष्ठानले कृष्ण भजन प्रतियोगिता गर्ने

समाधान संवाददाता २०८२ असार २२ गते १३:३४

पोखरा ।
पोखराको शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय स्तरको कृष्ण भजन प्रतियोगिताको तयारी सुरु गरेको छ । साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने २६औं संस्करणको प्रतियोगितालाई सफल र व्यवस्थित बनाउन प्रतिष्ठानले पोखराका विभिन्न संघ–संस्थासँग अन्तक्र्रिया तथा छलफललाई तीव्रता दिएको सचिव रामप्रसाद पौडेल धर्मेलीले जानकारी दिए ।

Advertisement


शनिबार प्रतिष्ठानले बाटुलेचौरमा त्यहाँका विभिन्न संघ–संस्थासँग अन्तक्र्रिया गरी सुझाव संकलन गरेको थियो । भेलामा पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले राष्ट्रिय कृष्ण भजन प्रतियोगिता यस क्षेत्रको गौरव भएको बताउँदै सबै मिलेर भव्य, सभ्य र भक्तिभावका साथ सफल पार्नुपर्नेमा जोड दिए । वडाध्यक्ष तिमिल्सिनाले शुक्लाका हरेक कार्यक्रम हाम्रो पहिचान र परिचय भएको बताउँदै यसले यस क्षेत्रको गरिमा उच्च बनाएको उल्लेख गरे ।


प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पोखरा–१९ का पूर्व वडाध्यक्ष शोभामोहन पौडेल, प्रतिष्ठानका मानार्थ सदस्य तथा संस्कृतिकर्मी रामबहादुर बानियाँ, पूर्व अध्यक्ष नेत्रबहादुर बानियाँ, पूर्व सल्लाहकार बेनीबहादुर बस्नेत, सल्लाहकार सुवास अधिकारी, बाटुलेचौर कालिलेक सहकारीका अध्यक्ष बसन्त तिमिल्सिना, पोखरा मन्टेश्वरीका निर्देशक थिरबहादुर थापा, बडहर बोट आमा समूहकी उपाध्यक्ष गीता पौडेललगायतले कृष्ण भजन प्रतियोगितालाई सफल बनाउन सबैको साथ र सहयोग रहनुपर्नेमा जोड दिए ।

Advertisement


प्रतिष्ठानका उपाध्यक्ष दीपेन्द्र बानियाँले यसपटक विभिन्न उपसमिति थप गरी कार्यक्षेत्र पनि विस्तार गरिएको जानकारी दिँदै तयारी सुरु भएको बताए ।


शुक्ला साहित्य प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय कृष्ण भजन २०८२’ अन्तर्गत महिला तथा सामाजिक संघ–संस्था समन्वय उपसमितिको संयोजकत्वमा शारदादेवी बस्नेतको संयोजनमा भएको उक्त अन्तक्र्रियामा प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत गरेकी थिइन् भने सचिव रामप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । ‘जहाँ संस्कृति, त्यहाँ साहित्य’ भन्ने मूल ध्येयका साथ प्रतिष्ठानले विगत २५ वर्षदेखि श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्ण भजन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया