एसइईमा ४ जिपिए ल्याएकी ममतालाई व्यवसायी ओझाको सहयोग

समाधान संवाददाता २०८२ असार २२ गते १३:३९

पोखरा ।
एसइईमा ४ जिपिए ल्याएकी ममता जैसवाललाई लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले आर्थिक सहयोग गरेका छन् । पोखरा–३२, गगनगौँडास्थित सामुदायिक विद्यालय गगन माविबाट एसईईमा ४ जिपिए ल्याएकी ममतालाई आफ्नो जन्मदिनको अवसरमा ओझाले २० हजार नगद सहयोग गरेका हुन् ।

Advertisement


पोखरा–३०, पावरहाउस, लेखनाथमा उनका बुबा लखन जैसवालले सञ्चालन गर्दै आएको चटपटे पसलमा बिहान–बेलुका सहयोग गर्दै उज्ज्वल भविष्यको आशा राखेकी ममतालाई थोरै भए पनि आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्न पाएकामा ओझाले खुसी व्यक्त गरे । उनले ममताको उज्ज्वल भविष्यको कामना पनि गरे ।


चुनौतीहरूको सामना गर्दै, गरिबीसँग जुध्दै ममताले आत्मविश्वास, मेहनत र लगनशीलताका साथ एसईईमा ४ जीपीए प्राप्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले बताए । उनले व्यवसायी ओझाको सहयोगप्रति आभार व्यक्त गरे । प्रधानाध्यापक मोहनराज बरालले परिवारको बढ्दो खर्च र सीमित आम्दानीका बीच सहयोगी हातहरूले थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

Advertisement


सहयोग ग्रहण गर्दै ममताले हरेक दिन बिहानदेखि बेलुकासम्म ठेलामा उभिएर चटपटे बेच्ने बुबाको मेहनत र संघर्षले आफूलाई पढाइमा जिम्मेवार बनाएको बताइन् ।

व्यवसायी ओझाले आफ्नो जन्मदिनको अवसरमा शनिबार पोखरा–३२, लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रम तथा मन्दिर र गुरुकुलमा दैनिक उपभोग्य सामग्री र नगद सहयोग गरेका थिए । उनी पोखरा–२९, भण्डारढिकस्थित दीपशिखा पुस्तकालयको आजीवन सदस्यता ग्रहण गरी जन्मदिनको अक्षयकोष अभियानमा पनि जोडिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया