उता मन्त्री फेरिने चर्चा, यता मन्त्री गयल !

सञ्जय रानाभाट २०८२ असार २४ गते १०:५५

पोखरा ।
प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची बनाउँछ । सोही अनुसार आइतबार गण्डकी प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले सोमबार ‘प्रदेश औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने कार्यसूची तय गर्‍यो ।


सोमबार उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालको अनुपस्थितिले बैठकको कार्यसूची नै प्रभावित बन्यो । संसदमा विधेयक पेश गर्ने बेला मन्त्री बस्याल अनुपस्थित भएपछि दिउँसो १ बजे बोलाइएको सदन सवा २ बजेमात्र सुरु भयो । सदन सुरु हुने समय घर्किदै जाँदा सभामुख कृष्णप्रसाद धितालले मन्त्री बस्याललाई फोन गर्दा ‘बिरामी भएको’ जानकारी पाए ।


मन्त्री बस्यालले एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीलाई समेत सदनमा अनुपस्थित हुने जानकारी गराएका थिएनन् । ‘म बिरामी भएका कारणले उपचारका लागि काठमाडौं जानुपर्ने भयो । त्यस कारण सभामा उपस्थित हुन सकिनँ भन्नुभयो,’ मन्त्री बस्यालको भनाइ उदृत गर्दै सभामुख धितालले समाधानलाई भने ।

Advertisement


मन्त्री बस्याल बिरामी भएको खबरपछि गण्डकी प्रदेश सभा नियमावलीको एउटा बुँदा नै निलम्बन गरियो । गण्डकी प्रदेश सभा नियमावली २०८० मा नियम ६ को उपनियम ५ मा गण्डकी प्रदेश सभा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । त्यसमा कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य उपस्थित हुनुपर्ने यो उपनियममा उल्लेख छ ।


सोही अनुसार मन्त्री बस्याल अनुपस्थित हुँदा उनको मन्त्रालयसँग सम्बन्धित ‘प्रदेश औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ अगाडि बढाउन समस्या भयो । त्यसको गाठो फुकाउन एमालेका प्रमुख सचेतक नेपालीले गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम २०२९ बमोजिम गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम ६ को उपनियम ५ लाई निलम्बन गर्न प्रस्ताव पेश गरे ।

Advertisement


सदनले उपनियम ५ लाई निलम्बन गरेपछि बल्ल बैठकको कारवाहीअघि बढेको थियो । मन्त्री बस्यालको अनुपस्थितिमा सामाजिक तथा युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अर्थ तथा विकास समितिको प्रतिवेदन सदनमा पेश गरे । मन्त्री थापाले ‘प्रदेश औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । उनैले सदनमा उठेका प्रश्नहरुको जवाफ पनि दिए । सोमबारकै बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको छ ।

मन्त्रीहरु हेरफेर हुने चर्चा चलेका बेला एमालेबाट मन्त्री बनेका चारै जना सोमबारको बैठकमा अनुपस्थित

एमालेका सबै मन्त्री अनुपस्थित


गण्डकी प्रदेशसभा बैठक प्रायःजसो भरिभराउ नै हुन्छ । सरकारले बजेट ल्याउँदा होस् वा विधेयक अगाडि बढाउँदा, यो अधिवेशनमा अधिकांश सांसद प्रदेश सभा बैठकमा उपस्थित छन् । तर, सोमबारको बैठक भने अनौठो देखियो । बजेट पारितपछि बसेको पहिलो बैठकमा अधिकांश सांसद गयल भए ।


त्यसमध्ये मन्त्री गयल भएको विषय चर्चामा छ । कांग्रेसबाट निर्वाचित मन्त्री सभामा उपस्थित हुँदा एमालेबाट मन्त्री बनेका ४ जना नै गयल भए । उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, कृषि भूमी तथा सहकारी मन्त्री पद्ममा जिसी, स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी गयल भए ।


उनीहरु एकैपटक गयल हुँदा गण्डकीको मन्त्रिमण्डल परिवर्तन हुने चर्चा चुलिएको छ । त्यसैबिच, एमाले प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले मुख्यमन्त्री र दलको नेताको सहमति भए जुनसुकै बेला मन्त्रीमण्डल पुनर्गठन हुन सक्ने बताए । यद्यपि अब मन्त्रिमण्डल पुनर्गठन भए मन्त्रीको कार्यक्षमताका कारणले नहुने उनको भनाइ छ ।


‘मन्त्रीज्यूहरु फेरिन सक्नुहुन्छ । एउटा बजेट कार्यान्वयन गर्नुभयो, अर्काे ल्याउनुभयो । त्यसका लागि मुख्यमन्त्रीज्यू र दलका नेताबिच सहमति भएर नै अगाडि बढ्छ,’ प्रमुख सचेतक नेपालीले भने, ‘यद्यपि त्यो कुनै मन्त्री फेरिदा उसको कार्यक्षमता कमजोर भएर भने हुँदैन । यदि त्यो भयो भने, त्यो स्वभाविक हो भन्ने बुझ्नुपर्छ ।’


एमालेले अहिलेसम्म दलको बैठक राखेर मन्त्री परिर्वनबारे छलफल गरेको छैन । तर, नेताहरुले मन्त्रीहरुको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् । मन्त्रीहरु नीतिगत र दीर्घकालीन काममा भन्दा नियमित काममै सीमित भएको भन्दै मन्त्रिमण्डल परिवर्तनको गृहकार्यसमेत भएको स्रोत बताउँछ । त्यसका लागि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपयुक्त समय कुरेर बसेको उनी निकटले जानकारी दिए ।


‘मन्त्रीहरुले आफ्नो स्पिडमा काम गर्न नसकेको मुख्यमन्त्रीज्यूलाई लागेको छ । त्यस कारण गठबन्धनमा छलफल गरेर कांग्रेस, एमाले दुवैतर्फका मन्त्री फर्ने पक्षमा उहाँ देखिनुहुन्छ,’ मुख्यमन्त्री स्रोतले भन्यो । तर, मुख्यमन्त्री पाण्डे केन्द्रमा मन्त्रीहरु फेरिए, प्रदेशमा पनि मन्त्रमण्डल फेर्न सहज हुने बुझाइमा छन् ।


मन्त्रिमण्डल फेरिने विषय आफूलाई थाहा नभएको स्वास्थ्य मन्त्री पाठकले बताए । आफू मन्त्रालयकै कामले काठमाडौं आएकाले प्रदेश सभा बैठकमा अनुपस्थित भएको उनको भनाइ छ । ‘मलाई लाग्दैन, अहिले मन्त्रिपरिषद् पुर्नगठन हुन्छ । यदि भए, सरकारको नेतृत्व आलोपालो भन्ने छ । त्यस बेला हुन सक्ने भयो,’ मन्त्री पाठकले भने ।


पाठक मन्त्रालयकै काममा काठमाडौं हुँदा भौतिक पूर्वाधार मन्त्री केसी पनि काठमाडौंमै छन् । उनी श्रीमती बिरामी भएका कारणले काठमाडौं रहेको जानकारी गराएका छन् भने कृषि मन्त्री पद्यमा जिसीले बाटो अवरुद्ध भएकाले पोखरा आइपुग्न नसकेको प्रदेश सभामा जानकारी गराएकी छन् । सोमबार उनी नवलपुरमा थिइन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया