मन्त्री थापाको सहारा आविलाई सहयोग

समाधान संवाददाता २०८२ असार २४ गते १५:०६

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ९, बसपार्कमा अवस्थित सहारा बाल आधारभूत विद्यालयमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले एक कार्यक्रमबीच विभिन्न कार्यक्रमको शुभारम्भ तथा सामग्री हस्तान्तरण गरेका छन् ।


सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय, कास्कीले प्रदान गरेको २ लाख रुपैयाँ बराबरको विज्ञान प्रयोगशालाको औपचारिक रूपमा मन्त्री थापाले हस्तान्तरण गरे ।

सोही क्रममा सहारा युकेका महासचिव क्याप्टेन पिताम्बर गुरुङको ५० हजार रुपैयाँको आर्थिक सहयोगमा प्रदान गरिएको प्रोजेक्टरको शुभारम्भका साथै पोखरा महानगरपालिका शिक्षा महाशाखाद्वारा भौतिक संरचना स्तरोन्नति शीर्षकमा विनियोजित १ लाख रुपैयाँद्वारा खरिद गरिएका फर्निचरहरू पनि हस्तान्तरण गरियो ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर ९ को ६० हजार रुपैयाँ आर्थिक सहयोगमा प्रदान गरिएको साउन्ड सिस्टम पनि विद्यालयलाई हस्तान्तरण गरिएको थियो । उक्त क्रममा सनराइज ड्राइभिङ सेन्टरका सञ्चालक समाजसेवी राजु लालचनले वडा कार्यालयद्वारा प्रदान गरिएको साउन्ड सिस्टम खरिदमा अपुग भएको २० हजार रुपैयाँ हस्तान्तरण गरे ।


विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको समग्र अवस्थासहित सम्पूर्ण अतिथिहरूलाई स्वागत मन्तव्य राखिन् । सोही क्रममा विद्यालयको स्थापनादेखि हालको अवस्थासम्म ल्याइपुर्‍याउन समय र सहयोग प्रदान गर्ने सबैलाई स्मरण गर्दै कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुले अध्ययन गर्ने पवित्र थलोमा सबैको साथ र सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् ।

Advertisement


पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले मन्तव्यका क्रममा विद्यालयले गरेको भौतिक तथा शैक्षिक प्रगतिको साक्षी हुन पाउँदा निकै खुशी व्यक्त गरे । सोही क्रममा महाशाखाद्वारा आगामी दिनमा विद्यालयलाई आवश्यक सहयोग गर्न प्रयासरत रहने बताउँदै फर्निचर हस्तान्तरण गर्न पाउँदा धन्यवाद व्यक्त गरे ।


कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले विद्यालयको आवश्यकता स्थानीय तहले सम्बोधन गर्न पाउँदा खुशी व्यक्त गरे । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मन्तव्यका क्रममा सरकारले चाहेको परिवर्तन विद्यालयबाटै सुरु हुने बताउँदै जहाँ विज्ञान पढिन्छ र प्रयोग हुन्छ, त्यहाँ मात्र बालबालिकाहरूले भविष्य कोर्न सक्ने धारणा राखे ।

उनले शिक्षा क्षेत्रमा प्रदेश सरकारको प्राथमिकताअनुसार सार्वजनिक–निजी साझेदारीमार्फत आवश्यक प्रविधि र पूर्वाधारका साथै अवसरहरूलाई अगाडि बढाउनुपर्ने बताउँदै आगामी आर्थिक वर्षमा विद्यालयको भौतिक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट ५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

स्तरोन्नतिका क्रममा आर्थिक अभाव भएमा थप ५ लाख रुपैयाँ प्रदान गरी विद्यालयलाई बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे । सोही क्रममा मन्त्रालयको अभिभावक शिक्षा जागरण कार्यक्रम रहेको हुँदा अभिभावकहरूलाई सो कार्यक्रममा सहभागी हुन अपिल गरे । मन्त्री थापाले आफ्ना दिवंगत ज्येष्ठ छोरा देवेन्द्र थापाको स्मृतिमा विद्यालयमा १ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।


कार्यक्रमको समापनका क्रममा विद्यालयका अध्यक्ष विक्रम थकालीले कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै दाताहरुलाई स्मरण गरे । सोही क्रममा प्रदेश सरकारले विगत ८ वर्षमा पहिलो पटक विद्यालयका लागि रातो किताबमा बजेट विनियोजन गर्नु सकारात्मक भएको बताउँदै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा सहारा क्लब पोखरालाई रकम विनियोजन गरेकोमा मन्त्रीलगायत प्रदेश सरकारलाई आभार प्रकट गरे ।


विद्यालयका शिक्षक सुदीप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयलाई बालमैत्री बनाउन टेलिभिजन हस्तान्तरण गर्ने दाता सपना गुरुङ र तातो–चिसो पानी शुद्धीकरण यन्त्र प्रदान गर्ने अमर गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि, सहयोगी संस्थाहरूको साथै विद्यार्थी र शिक्षकहरूको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया