प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरुको भेटवार्ता

काठमाडाैं ।
गण्डकी प्रदेश प्रमु ख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । काठमाडाैंमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
भेटमा संघीयताको कार्यान्वयन, प्रदेश सरकारको कामकारबाही तथा संघ र प्रदेश सरकारको समन्वयका विषयमा छलफल भएको थियो । उनीहरुबीच आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँग भेट गर्न पाँच प्रदेशका प्रदेश प्रमुखहरू सोमबार अबेर बालुवाटार पुगेका थिए । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ भेटमा सहभागी थिए । कोशी र कर्णालीका प्रदेश प्रमुख असार १८ गते राष्ट्रपतिसँग भेटपछि काम विशेषले आफ्नो प्रदेश फिर्ता भएकाले उपस्थित हुन सकेनन् ।
प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र नभई केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता रहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले पछिल्लो समय संघीयता र त्यसमाथि पनि प्रदेश संरचनाको आलोचना भएको उल्लेख गर्दै संघीयतालाई बलियो र प्रभावकारी बनाउनुपर्ने बताए ।
सामूहिक भेटवार्तामा प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा सात वटै प्रदेशका प्रमुखहरु शितल निवास पुगी भेटवार्ता र छलफल गरेको जानकारी गराए । प्रदेश प्रमुखहरूले आफ्नो कार्यक्षेत्रका सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे साझा अवधारणा बनाई प्रधानमन्त्री समक्ष प्रतिवेदन हस्तान्तरण गरे ।
प्रदेश प्रमुखहरुले आफूले भोग्नुपरेका कठिनाइ, कानुन तथा नियममा रहेका अन्यौलहरूको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध गरे ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रधानमन्त्रीसँगको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको जानकारी दिए । उक्त अवसरमा प्रदेश प्रमुखहरूले प्रधानमन्त्रीसँग नियमित सम्पर्क र समन्वयका लागि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले संघीयताको प्रभावकारी कार्यान्वयन, यसमा देखिएका समस्या र समाधानका उपायबारे सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई बोलाएर छलफल गर्ने बताए ।
उक्त अवसरमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आफ्ना प्रदेश कार्यालयबाट प्रकाशित बुलेटिन प्रधानमन्त्रीलाई हस्तान्तरण गरे ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया