मगर र गुरुङ भाषा पनि सरकारी कामकाजमा

पोखरा ।
गण्डकी प्रदेशमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजमा आउने भएका छन् । प्रदेश सभाको मंगलबारको बैठकले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो ।
त्यसैको खुसीयालीमा मंगलबार मगर र गुरुङ समुदायका सांसदहरू पारम्परिक पोशाकमा सभामा उपस्थित थिए । उनीहरूले आफ्नै भाषामा मन्तव्य दिँदै प्रदेश सरकारप्रति आभार व्यक्त गरे । भाषालाई चेतना, संस्कृति र पहिचानको आधार भन्दै उनीहरुले विधेयकलाई कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्न आग्रह गरे ।
गण्डकी प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी विधेयक दर्ता गरेको थियो । प्रदेश सभामा दर्ता भएको उक्त विधेयक सामाजिक विकास तथा कृषि समितिबाट सर्वसम्मत पास भएपछि सदनबाट मंगलबार विधेयक पास गरिएको हो । अब सभामुख कृष्णप्रसाद धिताल र प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणिकरण गरेपछि यो विधेयक ऐन बन्नेछ ।
संविधानको धारा ७ को उपधारा २ अनुसार प्रदेशले बहुसंख्यक जनताले बोल्ने अन्य राष्ट्रभाषालाई प्रदेशको कानुन बमोजिम सरकारी कामकाजको भाषा बनाउन सक्छ । यही व्यवस्था अनुरुप उक्त विधेयक सरकारले अगाडि बढाएको थियो । गण्डकीमा मगर १८.७९ प्रतिशत र गुरुङ ११.३१ प्रतिशत रहेको पछिल्लो जनगणनाले देखाएको छ ।
यसअघि गण्डकी प्रदेश नामाकरणका बेला गण्डकी प्रदेशको नाम तमुवान मगरात राख्नुपर्ने माग गरिएको थियो । यसअघि पनि बारम्बार आदिवासी जनजाति समूह यस्तो कानुन आउनुपर्ने माग गर्दै आएका थिए । विधेयक प्रमाणीकरण भएपछि अब प्रदेश सरकारका मन्त्रालय, आयोग, निर्देशनालय, कार्यालय वा संगठित संस्थामा यी दुवै भाषा प्रयोग गरिनेछ । देवनागिरी लिपीमा लेखिने नेपाली भाषाका अतिरिक्त तोकिए बमोजिमको लिपीमा लेखिने मगर र गुरुङ भाषा समेतलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्ने छ ।
पछिल्लो जनगणनाअनुसार गण्डकीमा मगर १८.७९ प्रतिशत र गुरुङ ११.३१ प्रतिशत छन् ।
सरकारी कार्यालयमा सरकारी काम कारबाही र कार्यालयमा रहने सार्वजनिक दस्तावेजहरु यी दुई भाषामासमेत अनुवाद गरी अभिलेखीकरण गर्नुपर्ने, सेवाग्राहीले मगर वा गुरुङ भाषामा निवेदन, प्रमाण, कागजात पेश गरेमा कार्यसम्पन्न भएपछि सोही भाषामा आवस्यक कागजात उपलब्ध गराउनु पर्ने छ ।
नेपाली भाषाका अतिरिक्त अब मगर र गुरुङ भाषामा समेत प्रदेश राजपत्र प्रकाशन गर्न सकिने कानुनी प्रबन्ध गरिएको छ । नयाँ विधेयकमार्फत सरकारी कार्यालयमा मातृभाषाको प्रयोगलाई मान्यता दिइएको छ । साथै अन्य राष्ट्रिय भाषामा कामकाज गरिएकै आधारमा कुनै पनि प्रकारको विभेद, बहिष्करण वा अपमानजन्य व्यवहार गर्न पाइने छैन । त्यस्तो गरिए कानुनी कारबाही गरिने विधेयकमा व्यवस्था गरिएको छ ।
विधेयकअनुसार प्रदेश सरकारले मगर र गुरुङ भाषाको संरक्षण तथा प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्न, भाषा अध्ययन, अनुसन्धान तथा मानकीकरणका लागि विज्ञ समूह गठन गर्ने लगायतका व्यवस्था गरिएको छ । यसैअनुसार स्थानीय तहका कार्यालयले नागरिक वडापत्र र सूचना पाटी मगर वा गुरुङ भाषामा समेत राख्नुपर्नेछ व्यवस्था गरिएको हो ।
विधेयक निर्माणको सामाजिक विकास तथा कृषि समितिले ११ वटै जिल्लाका सरोकारवाला र विज्ञसँग परामर्श गरेको थियो । सबै सरोकारवाला निकायसँग छलफल गरेर विधेयक ल्याइएकाले कार्यान्वयनमा जटिलता नभएको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बताए । मंगलबार सांसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘आयोगको सिफारिस तथा संविधानको भावना अनुसार विधेयक ल्याइए छ । संशोधनको क्रममा ‘भाषाको स्तरीकरण’ जस्ता विषय थप गरिएको, विधेयक विवादरहित र सर्वस्वीकृत बनाइएको छ ।’
मन्त्री थापाले प्रदेश सरकारले अन्य भाषाको संरक्षणमा पनि कन्जुस्याईं नगरेको बताए । यो विधेयक गत वर्ष फागुन २३ गते प्रदेश सभामा पेश गरिएको थियो । जसमा २१ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए । संशोधनमा भाषाको स्पष्टता, थपघटका विषय, संरचना तथा प्राविधिक विषयमा १९ वटा सुझाव दिएपछि सामाजिक विकास तथा कृषि समितिले सर्वसम्मति पास गरेपछि सदनबाट मंगलबार पारित गरिएको हो । यो विधेयकले गण्डकी प्रदेशको भाषिक विविधतालाई सम्मान गर्ने, भाषाको अस्तित्व जोगाउने र बहुभाषिक समाज निर्माणतर्फ सरकारको प्रतिबद्धता देखाउने विश्वास गरिएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया