फाटफुट वर्षा, डरलाग्दो बाढी

समाधान संवाददाता २०८२ असार २५ गते १०:२३

काठमाडौं ।
नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको छ । ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिए । ‘त्यति ठूलो बाढी नै जाने गरी दुवैैतर्फ ठूलो वर्षा भएकै छैन । न्यून चापीय रेखा पनि सरदर आसपासमा नै रहेको छ,’ उनी भन्छन्, ‘के कारणले बाढी गएको भन्ने विषयमा थप अनुसन्धान गरेरमात्रै हामी सूचना सार्वजनिक गर्छाैं ।’


विश्व मौसम संगठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको एक प्राविधिक प्रणाली (फ्ल्यास फ्लड गाइडेन्स प्रणाली)को स्याटेलाइट–आधारित वर्षा अनुमान अनुसार पनि भोटेकोसी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन । बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन या नेपालको क्षेत्रमा पर्ने कुनै पनि हिमताल एक्कासि फुटेर बाढी गएको हुन सक्ने अनुमान गरेका छन् ।

Advertisement


‘ठूलो वर्षा नहुँदा पनि बाढी जानु भनेको हिमताल कतै फुटेको पनि हुन सक्छ । अहिल्यै नै कारण यकिन गर्न त सक्दैनौँ तर कारण खोजिरहेका छौं,’ उनले भने । बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार भोटेकोसी बाढीसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । महाशाखाले बिहान ३ बजे आसपास भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको जनाएको छ ।


रसुवा–टिमुरेस्थित जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांक अनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिन्छ । बाढीविद् पराजुलीले नुवाकोट जिल्लास्थित त्रिशूली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले त्रिशूली नदीको तल्लो तटीय आसपासका क्षेत्रमा बस्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेका छन् ।

Advertisement

विभागले निरन्तर अनुगमन गरिरहेको र हाल बहाव घट्दो क्रममा रहे पनि जोखिम कायम रहेको भन्दै भोटेकोसी तथा त्रिशूली नदी तटीय क्षेत्रका आम सर्वसाधारण तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

१८ बेपत्ता, ५७ को उद्धार

ल्हेन्दे खोलामा आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत ३ प्रहरी र ६ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको जानकारी दिए ।


बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गाउँपालिका ४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नगरपालिका–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् ।


बाढीमा परी ६ चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् । उनीहरू सबै पुरुष हुन् । चिनियाँ नागरिकको विस्तृत पहिचान खुल्न बाँकी छ । बाढीमै परी बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारु, २४ वर्षीय लक्ष्मीनारायण थारु र ३० वर्षीय सुरेश थारू तथा बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्वा लामा, हाइलक्स जिप चालक गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन् । बाढीले उत्तरगया गाउँपालिका १ मैलुङस्थित गल्छी बेत्रावती स्याफ्रुबेँसी सडकखण्ड अन्तर्गत त्रिशूली नदीमा रहेको ‘बेलीब्रिज’ बगाएको छ ।


बाढी, पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । तीमध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । टिमुरेमा रहेको विद्युतीय गाडी ‘चार्जिङ स्टेसन’लाई पनि बाढीले क्षति पु¥याएको छ ।

चार्जिङ स्टेसनमा रहेका केही गाडी पनि बगाएको छ । भन्सार कार्यालय रसुवाको यार्डमा रहेका करिब आठ÷नौवटा सामानसहितका कन्टेनर र डिब्बा बगाएको छ । पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको अधिकांश भाग सडक कटान र पहिराका कारण प्रभावित भएसँगै अहिले सो सडक अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया