ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा

दमौली ।
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । रु १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको र केही दिनभित्रै यसलाई व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ ।
कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ । उनले भने, “स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ । सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन ।”
यो स्थान पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको रहेकाले यहाँ पूर्वाधार थप गरिएको उनको भनाइ छ । स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रुपमा विकास भएको छ । सार्वजनिक बिदाका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए ।
ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनले बताए । उनले भने, “गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा अगाडि बढाएको छ, राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ ।”
ऐना पहराबाट गाउँपालिकाले रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ ।
यहाँ झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ ।
ऐना पहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत आयोजना प्रतिवेदनअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया