सामुदायिक वनमा सर्पगन्धा खेती

दमौली ।
देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको छ । देवघाट ५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलोपटक चार रोपनी जग्गामा सर्पगन्धाका ८ हजार बिरुवा रोपण गरेको छ ।
उक्त बिरुवा रोप्नका लागि डिभिजन वन कार्यालयले ४ लाख र सामुदायिक वन समूहले १ लाख १० हजार लगानी गरेको समूहका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए । सोही वडाकै चक्रवर्ती सामुदायिक वन समूहले चार हजार र रानीवन समूहले एक हजार सर्पगन्धाको बिरुवा रोपेका छन् । पहिला काठजन्य बिरुवा रोप्ने सामुदायिक वनमा अहिले भने महत्त्वपूर्ण तथा दुर्लभ वनस्पतिका रूपमा लिइने सर्पगन्धाको बिरुवा रोप्न थालिएको हो ।
देवघाट ५ कै कालिका सामुदायिक वन तथा वडा नं १ को सुनझाँक्री सामुदायिक वनले भने आफैँ उम्रिएको सर्पगन्धाको संरक्षण गर्न थालेको छ । सर्पगन्धाको महत्व र उपयोगिता बुझेर नै व्यावसायिक खेती गरिएको मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अधिकारीले बताए । सामुदायिक वनको आम्दानी बढाउन पनि उक्त खेती गरिएको उनको भनाइ छ ।
चक्रवर्ती सामुदायिक वन समूहका अध्यक्ष टुकनाथ अधिकारीले वनमा बढेको झाडी फाँडेर बहुमूल्य जडीबुटीका रूपमा रहेको सर्पगन्धाको खेती गरिएको जानकारी दिए । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनले आम्दानीको विभिन्न स्रोत खोज्नुपर्ने विचार राखे ।
सबडिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले वन समूहका उपभोक्तालाई सर्पगन्धाको महत्वको बारेमा जानकारी गराएपछि यसको व्यावसायिक खेती गर्न सम्भव रहेको उल्लेख गरे । उनले भने, ‘यसअघि धेरैले झाडी ठानेर यसलाई मास्ने गरेका थिए । सर्पगन्धाको महत्व र उपयोगिताका बारेमा जानकारी गराएपछि सामुदायिक वनहरूले अहिले व्यावसायिक खेती गर्न थालेका छन् ।’
२ सयदेखि ५ सय मिटरको उचाइमा रहेको जग्गामा मात्र सर्पगन्धाको खेती गर्न सकिने हुँदा देवघाटकै वडा नं १ र ५ बाहेक अन्य वडाका सामुदायिक वनले भने यसको खेती गर्न सम्भव नरहेको भट्टको भनाइ छ । सर्पगन्धाको जरामा रहेका रिपर्पिन, सर्पेन्टाइन र एजमालिन आदि नामका मुख्य वनस्पतिजन्य रसायन उच्च रक्तचाप, निन्द्रा नलाग्ने, डिप्रेसन, मानसिक उत्तेजना र मृगीजस्ता रोगहरूमा समेत उपयोगी भएकाले हानिरहित प्राकृतिक औषधिका रूपमा यसलाई प्रयोग गरिने उनले उल्लेख गरे ।
देवघाटमा पहिलोपटक व्यावसायिक खेती गरिएको हुँदा जनकपुर र सर्लाहीबाट प्रतिबिरुवा ५० का दरले खरिद गरिएको उनको भनाइ छ । सरकारले आर्थिक समृद्धिका लागि प्राथमिकता राखेका ३० प्रकारका जडीबुटीमध्ये सर्पगन्धा एक हो ।
यसको निकासी भन्सार दर नै प्रतिकेजी ५० तोकिएको छ । यसको राम्रो संरक्षण गर्न सके २ वर्षपछि देवघाटका सामुदायिक वनले सर्पगन्धाको जरा बिक्रीबाट मात्र वार्षिक लाखौँ रुपैयाँ आम्दानी लिन सक्नेछ । रासस








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया