लेखा अधिकृतले कसरी कमाए साढे ९ करोड ?

समाधान संवाददाता २०८२ असार २६ गते १६:३५

पोखरा ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले ६ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

पदीय मर्यादाविपरीत शर्माले भ्रष्ट्राचार गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा ६ करोड २६ लाख ९३ हजार एक सय २९ रुपैयाँ सम्पत्तिको स्रोत पुष्टि नभएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । विस २०५४ माघ ८ गते सेवा प्रवेश गरेका शर्माले ०८० कात्तिक १० गतेको अवधिमा आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरिएको थियो ।

Advertisement

तलब, भत्ता, कृषि आय, जग्गा बिक्री गरी ३ करोड ३९ लाख आय देखिएकोमा ६ करोडको स्रोत खुलेन

सो क्रममा शर्माले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टचार गरेको पुष्टि भएको अख्तियारको ठहर छ । अवैधरुपमा अर्जित सम्पत्ति शर्माले पत्नी हुमा कुमारीको नाममा राखेर सम्पत्ति विवरणमा नखुलाएको पाइएको छ । लेखा अधिकृत शर्मा र उनकी पत्नी हुमाकुमारीलाई समेत प्रतिवादी बनाए भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम उक्त सम्पत्ति जफत र कैद सजायको माग गर्दै आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता पौडेलले जानकारी दिए ।

Advertisement

जागिर अवधिमा उनले प्राप्त गरेको पारिश्रमिक÷तलब बचत बापतको रकम, दैनिक भ्रमण भत्ता बचत बापतको रकम, प्रोत्साहन भत्ता, बैठक भत्ता, कर्मचारी सञ्चय कोष, कृषि आय, जग्गा बिक्री लगायतको कुल आय ३ करोड ३९ लाख ८७ हजार ४९० रुपियाँ देखिएको छ । यसैगरी, सोही अवधिमा निज तथा निजको परिवारको नाममा रहेको विभिन्न बैंक तथा वित्तीय संस्था एवं सहकारीमा रहेको बैंक खाताबाट विभिन्न व्यक्तिलाई दिएको ऋण सापटी, कर्मचारी सञ्चय कोषबाट लिएको विशेष सापटी, विभिन्न कम्पनीको शेयर दरिखमा भएको लगानी रकम, शैक्षिक खर्च, सवारी साधन खरिद तथा नवीकरण खर्च रकम, सुन लगायतका बहुमूल्य धातुका गरगहना खरिद गरी सो अवधिमा कुल खर्च ९ करोड ६६ लाख ८० हजार ६ सय २० रुपियाँ देखिएको छ ।

आयोगका अनुसार जाँच अवधिमा खर्च भएको ६ करोड २६ लाख ९३ लाख १२९ रुपियाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि भएको छैन । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा २ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख समेतको प्रचलित कानुन बमोजिम जफत गर्ने प्रयोजनार्थ गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी हुमाकुमारी उपााध्यायको नाममा रहेको देखिएको हुँदा सोही बमोजिम कैद जरिवाना हुन मागदाबी लिई बुधबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया