कीर्तिमानी धाविका नारायणी गण्डकीको ‘वर्ष खेलाडी’ घोषित, ९५ खेल प्रतिभा सम्मानित

पोखरा – गण्डकी प्रदेश खेलकुद परिषद्ले राष्ट्रिय प्रतियोगितामा कीर्तिमान कायम गरेकी एथलेटिक्स खेलाडी नारायणी भण्डारीलाई ‘वर्षको सर्वोत्कृष्ट खेलाडी’ को उपाधिबाट सम्मान गरेको छ। बुधबार पोखरामा आयोजित एक विशेष समारोहमा भण्डारीसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको नाम चम्काउने ९३ जना खेलाडी र दुई खेल संघलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिएको हो।
भण्डारीले गत जेठमा काठमाडौंमा सम्पन्न १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्रा ८०० मिटर दौडमा २ मिनेट १७.९ सेकेन्डको समय निकाल्दै २५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी थिइन्। सोही प्रतियोगितामा उनले १५०० मिटरमा स्वर्ण र रिले दौडमा रजत पदक पनि जितेकी थिइन्। ‘वर्ष खेलाडी’ को सम्मान स्वरूप उनले ४३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।
समारोहमा प्रदेश क्रिकेट संघलाई ‘वर्षको उत्कृष्ट खेल संघ’ घोषणा गर्दै नगद एक लाख रुपैयाँले सम्मान गरियो भने प्रदेश हक्की संघलाई पनि उत्कृष्ट संघको रूपमा ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरियो।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई उनीहरूको प्रदर्शनको आधारमा नगद पुरस्कार र छात्रवृत्ति दिइएको जानकारी दिए । परिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने १६ खेलाडीलाई जनही १७ हजार, राष्ट्रिय स्वर्ण विजेतालाई १७ हजार, रजतलाई १५ हजार र कास्य विजेतालाई १३ हजार रुपैयाँ प्रदान गरेको छ।
यसैगरी, खेलाडीलाई शिक्षामा प्रोत्साहन गर्न स्नातक तहमा अध्ययनरत पदक विजेता ४ जनालाई २७ हजार, कक्षा ११/१२ का खेलाडीलाई २२ हजार र विद्यालय तहका २१ जुनियर खेलाडीलाई १७ हजार रुपैयाँका दरले छात्रवृत्ति समेत उपलब्ध गराइएको छ।
कार्यक्रममा परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले गण्डकी प्रदेशको खेलकुद विकासमा यो सम्मान एक ऐतिहासिक कदम भएको बताउँदै यसले भावी पुस्तामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । सदस्य सचिव शर्माले सीमित बजेटका बाबजुद खेलाडीको मनोबल उच्च राख्न कार्यक्रम आयोजना गरिएको र आगामी वर्षमा खेलकुद विकासलाई थप गति दिने प्रतिबद्धता जनाए ।
खेलाडी तथा संघको सम्मानका लागि परिषद्ले कूल १८ लाख ५० हजार रुपैयाँ खर्च गरेको जनाएको छ। सम्मानित हुने अन्य खेलाडीहरूमा विजय महत्तो (सेपाक्ताक्रो), बादल कार्की (एथलेटिक्स), सुबास भण्डारी, अर्जुन कुमाल (क्रिकेट), सुस्मिता थापा (तेक्वान्दो) र स्मृति गुरुङ (कराते) लगायत थिए।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया