खाद्य सुरक्षाका लागि जैविक विषादी निर्विकल्प, ६ देशका कृषि विज्ञ पोखरामा

समाधान संवाददाता २०८२ असार २६ गते १८:५७

पोखरा ।

रासायनिक विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्य, पर्यावरण र खाद्य सुरक्षामा गम्भीर संकट निम्त्याएको भन्दै यसको प्राकृतिक विकल्प खोज्न ६ देशका विज्ञहरू पोखरामा जुटेका छन् । ‘प्राकृतिक समाधानमा केन्द्रित जलवायु स्मार्ट बाली संरक्षण’ शीर्षकमा आयोजना गरिएको क्षेत्रीय कार्यशालामा नेपालसहित बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार र भुटानका प्रतिनिधिहरूले रासायनिक विषादीको प्रयोग घटाउने साझा रणनीति बनाउन मन्थन सुरु गरेका हुन् ।


केन्द्रीय कृषि प्रयोगशालाको आयोजना र गण्डकी प्रदेश कृषि मन्त्रालयको सहकार्यमा शनिबारसम्म चल्ने कार्यशालाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी कृषि मन्त्री पद्मा जिसी श्रेष्ठले रासायनिक विषादीका कारण उत्पादन घट्ने, माटोको उर्वराशक्ति नासिने र नागरिकको स्वास्थ्यमा घातक असर परिरहेको बताइन् । ‘अब पनि हामी सचेत भएर जैविक विषादीको प्रयोगमा नजाने हो भने थप संकट निम्तिन्छ,’ उनले भनिन्, ‘दीगो र आत्मनिर्भर कृषि प्रणालीका लागि जैविक विषादीको प्रयोग अनिवार्य सर्त हो ।’

Advertisement


कार्यक्रममा विज्ञहरूले रासायनिक विषादीको अनियन्त्रित प्रयोगले निकट भविष्यमै खाद्य संकट निम्त्याउने चेतावनी दिएका छन् । वनस्पती क्वारेन्टाइन तथा कीटनाशक व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले भने, ‘प्रकृतिमा आधारित समाधान अहिलेको अपरिहार्य आवश्यकता हो, अन्यथा जलवायु संकट र वातावरणीय प्रदूषणसँगै खाद्य संकट पनि भोग्नुपर्नेछ ।’


यसैबीच, पोखराका केही किसानले जैविक विषादीको प्रयोगबाटै उत्पादन बढाउन सकिने सफल उदाहरण प्रस्तुत गरेका छन् । पोखरा–१३ मा व्यावसायिक तरकारी खेती गर्दै आएकी सकुन्तला चौधरीले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘४ वर्षअघि रासायनिक विषादी प्रयोग गर्दा लागत बढी र समस्या धेरै थियो । अहिले जैविक विषादी अपनाउँदा किराको प्रकोप घटेको छ र उत्पादन पनि बढेको छ ।’

Advertisement


गण्डकी प्रदेश कृषि मन्त्रालयले पनि पोखराका विभिन्न स्थानमा टमाटर र सुन्तलाका नमूना फार्महरूमा जैविक विषादीको सफल परीक्षण गरिसकेको जनाएको छ । मन्त्रालयका सचिव वासुदेव रेग्मीका अनुसार यस्ता सफल अभ्यासलाई अन्यत्र विस्तार गर्न कार्यशालाले महत्वपूर्ण भूमिका खेल्नेछ ।


तीन दिनसम्म चल्ने कार्यशालामा सहभागीहरूले आ–आफ्ना देशका सफल अभ्यासहरू आदानप्रदान गर्ने, साझा चुनौतीको सामना गर्ने रणनीति बनाउने र जैविक विषादी प्रयोग गरिएका नमूना फार्महरूको स्थलगत अवलोकन गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया