नवलपरासी कांग्रेसमा कारबाहीको जुहारी
केन्द्रले प्रदेश महामन्त्रीलाई, जिल्लाले केन्द्रीय सदस्यलाई गर्यो निष्कासन

बुटवल। नेपाली कांग्रेस, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) भित्रको गुटगत विवाद कारबाहीको तहमा पुगेको छ। केन्द्रीय अनुशासन आयोगले संस्थापनइतर पक्षका नेता तथा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारबाही गरेलगत्तै, जिल्ला समितिले त्यसको प्रतिक्रियास्वरूप संस्थापन पक्षका नेता तथा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई पार्टीबाट निष्कासन गरेको छ।
जिल्ला कार्यसमितिले बिहीबार बर्दघाटमा पत्रकार सम्मेलन आयोजना गरी पूर्वगृह राज्यमन्त्रीसमेत रहेका कँडेललाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय सार्वजनिक गरेको हो। जिल्लाका कार्यवाहक सभापति विक्रम यादवले कँडेलको निष्कासन घोषणा गरेका थिए।
जिल्ला प्रवक्ता राधेश्याम पाठकका अनुसार, जिल्ला अनुशासन समितिले गत वैशाख २९ गते नै गरेको कारबाहीको निर्णयलाई बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेको हो।
कारबाहीमा परेका प्रदेश महामन्त्री खनालले भने आफूमाथिको कारबाही ‘धन र डन’को बलमा गरिएको प्रतिक्रिया दिएका छन्। उनले १३ वर्षको उमेरदेखि पार्टीमा क्रियाशील आफूलाई प्रतिशोध साधिएको तर जिल्लाका बहुमत नेता-कार्यकर्ता आफ्नो पक्षमा रहेको दाबी गरे।
जिल्ला समितिको आरोप छ कि खनालमाथि कारबाहीका लागि कँडेलले नै केन्द्रमा अगुवाइ गरेका थिए, जसको बदलामा जिल्लाले यो कदम चालेको हो। खनाललाई केन्द्रीय अनुशासन आयोगले एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।
खनालमाथि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा उद्योगपति विनोद चौधरीलाई असहयोग गरेको आरोप छ। चौधरीले नै खनालले असहयोग गरेको भन्दै केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका थिए।
जिल्ला समितिको निर्णयलाई बलियो देखाउन आयोजित पत्रकार सम्मेलनमा बर्दघाट नगर समिति, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय समिति र जिल्ला कार्यसमितिका नेतृत्वको उपस्थिति थियो। उनीहरूले खनालमाथिको कारबाही तुरुन्त फुकुवा नभए उत्पन्न हुने परिस्थितिको जिम्मेवार केन्द्रीय समिति हुने चेतावनीसमेत दिएका छन्।
यो विवाद सडकमा समेत पुग्ने देखिएको छ। खनाल पक्षले कारबाहीको विरोधमा प्रदर्शनको तयारी गरेपछि कँडेल पक्षले विज्ञप्ति जारी गरी त्यस्ता कुनै कार्यक्रम नरहेको भन्दै जिल्लाको कारबाहीलाई ‘अवैध’ भनेको छ। नेता कँडेलले पनि जिल्ला समितिको कारबाही अवैध भएकाले अस्वीकार्य हुने प्रतिक्रिया दिएका छन्।
गत निर्वाचनमा खनालले नेतृत्व गरेको निर्वाचन क्षेत्र नं. १ बाट विनोद चौधरी निर्वाचित भएका थिए भने कँडेल निर्वाचन क्षेत्र नं. २ बाट राप्रपाका उपाध्यक्ष ध्रुव प्रधानसँग १६ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए।








हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यक : मन्त्री थापा
घरको फोहोर पानी मिसाउन पक्की सडकको नाली फुटाइयो, कानुन विपरीत गर्नेको विवरण संकलन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया