विद्यार्थीले गरे गुरुहरुको सम्मान

समाधान संवाददाता २०८२ असार २७ गते १७:००

पोखरा ।
गुरु पूर्णिमाको अवसर पारेर पोखरामा ५२ वर्षअघिका विद्यार्थीहरूले आफूलाई शिक्षा–दीक्षा दिने गुरुहरूलाई सम्मान गरेका छन् ।


विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरबाट विसं २०२९ सालको प्रवेशिका परीक्षा (एसएलसी) मा उत्तीर्ण भएका विद्यार्थीहरूले बिहीबार एक विशेष कार्यक्रम आयोजना गरी आफ्ना गुरुहरूलाई सम्मान गरेका हुन् । कार्यक्रममा गुरुहरू नरहरि भट्टराई, शालिग्राम अधिकारी, शिवप्रसाद पराजुली, इन्द्रबहादुर थापा, हरिलाल तिमिल्सिना र भानुभक्त पौडेललाई दोसल्ला ओढाई सम्मान गरिएको शिक्षासेवी लेखनाथ लामिछानेले जानकारी दिए ।


आफूहरूले शिक्षा दिएर विभिन्न क्षेत्रमा स्थापित भएका पूर्वविद्यार्थीबाट ५ दशकपछि सम्मान पाउँदा विगतको स्मरण भएको सम्मानित गुरुहरूले बताए । उनीहरूले यस्तो सम्मानले जीवनमा थप ऊर्जा मिलेको भन्दै खुसी व्यक्त गरे।

Advertisement


तत्कालीन जिल्ला विकास समिति, कास्कीका सदस्य हुतराज शर्माले जीवित गुरुहरूको सम्मान र दिवंगत गुरुहरूको स्मरणमा कार्यक्रम आयोजना गरिएको बताए ।


सो ब्याचका अध्यक्ष हरिबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीपक पौडेल, हुतराज शर्मा, शान्तिरमण पौडेल, होमनाथ आचार्य, नीरबहादुर बानियाँ लगायतले अग्रज गुरुको सम्मान र दीर्घायुको कामना गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा गुरुहरूप्रति समर्पित कविता वाचनसमेत गरिएको थियो ।

Advertisement


समूहका सदस्य चीनप्रसाद गुरुङले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन सचिव लेखनाथ लामिछानेले गरेका थिए । राजनीति, शिक्षा र सामाजिक क्षेत्रमा क्रियाशील त्यस ब्याचका विद्यार्थीले हरेक वर्ष यस्तै कार्यक्रम गर्ने योजना बनाएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया