‘हिउँको गीत’को चर्चा

पोखरा ।
र्यान्डम रिडर्स सोसाइटीको १ सय १८ औं नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।
कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले रैथाने ज्ञान पद्धतिमा आधारित रहेर कृतिको चर्चा गरे । रैथाने ज्ञान प्रणालीमा ज्ञान सामूहिक हुने बताउँदै त्रिवेणीले हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान पनि सँगसँगै बगिरहेको धारणा राखे । उनले हिउँको गीतमा स्थान विशेष वातावरणीय सम्बन्ध, ‘पेब्याक’ को परम्परा, मूल्य र मान्यताको परम्परा र जमिनको महत्वसम्बन्धी रैथाने विशेषता पाइने जिकिर गरे ।
‘उपन्यासले प्राचीन समाजको सामाजिक द्वन्द्वलाई बेजोड रुपमा पस्किएको छ र एउटा बस्तीको विघटनमा त्यसको भूमिकालाई दर्साएको छ । यो नै उपन्यासको मूल कथानक हो जुन अति सुन्दर तरिकाले स्थापित छ,’ त्रिवेणीले भने, ‘अझ चर्चा गर्नुपर्ने अर्को पक्ष भनेको रैथाने परम्पराको अन्त्यमा औपनिवेशिक शक्तिको हात हुने कुरा हो । संसारभर नै रैथाने परम्परा र पद्धतिको अवसान औपनिवेशिकताको प्रवेशसँगै भएको छ । त्यो औपनिवेशिकता कुन रूपमा कसरी छिर्छ, त्यो समाजपिच्छे फरक हुन सक्छ तर त्यसले ल्याउने नियति सबै समाजमा एउटै हुन्छ– समाजको विखण्डन र विनाश जो हिउँको गीतमा पनि आएको छ ।’
उपन्यासले रैथाने ज्ञान प्रणलीलाई आफूमा समाहित गरेको र उक्त प्रणालीको विघटनमा औपनिवेशिक शक्तिको हातलाई पनि छर्लङ्ग बनाएकाले उपन्यास अब्बल सावित भएको त्रिवेणीको भनाइ छ । उपन्यासकार तीर्थ गुरुङले आफूले उपन्यास आफ्नै व्यक्तिगत जिन्दगीसँग जोडेर लेख्न सुरु गरेको अनुभव सुनाए । मिर्गौलासम्बन्धी रोगबाट पीडित गुरुङले आफ्नै पिताको मिर्गौला प्रत्यारोपण गरेपछि प्राप्त भएको पुनर्जीवनलाई प्रतीकात्मक रुपमा अभिव्यक्त गर्ने माध्यमका रूपमा लेखन अघि बढाएको प्रसंग गुरुङले भावुक हुँदै सुनाए ।
यसअघि पाठशाला (उपन्यास) र आपा क्हार्प (कथा संग्रह) बजारमा ल्याइसकेका गुरुङले आफ्नै मातृभूमि, मातृभाषा र मातृसंस्कृतिलाई ‘पेब्याक’ होस् भन्ने हेतुले पनि उपन्यास लेखेको बताए । हालसम्म पाठकको मायाबाट हौसला मिलेको बताउँदै उनले आगामी संस्करणमा पाठकको सुझावलाई ध्यानमा राखेर परिमार्जन पनि गर्ने प्रतिबद्धता जनाए । गुरुङ जातिको उद्गम थलो क्होला राज्यको विकासदेखि विघटनसम्मको कथावस्तु हिउँको गीतमा समेटिएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नेपालप्रकाश अधिकारी, कौशलचन्द्र जिसी, कुमार तामाङ, डा लक्ष्मीशरण अधिकारी, मेघराज ढकाल, डा हुमबहादुर गुरुङ लगायतले बोलेका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया