पत्रकारिताले समाजलाई डोहोर्याउनुपर्छः मुख्यमन्त्री

पोखरा ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २०४६ सालपछि देशमा ठूलो परिवर्तन भए पनि जनताको ‘पर्चेजिङ क्यापेसिटी’ अर्थात् खर्च गर्न सक्ने क्षमता अझै वृद्धि हुन नसकेको बताएका छन् । संसदीय पत्रकार मञ्च गण्डकीको आइतबार भएको छैटौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनमा उनले गणतन्त्र स्थापनापछि देशले भौतिक, सामाजिक र संरचनात्मक रुपमा महत्वपूर्ण प्रगति गरेको दाबी गरे ।
तर जनताको आम्दानी र खर्च गर्ने क्षमता पर्याप्त वृद्धि हुने गरी सरकारहरुले काम गर्न नसकेको उनले स्वीकारेका छन् । ‘मैले गाउँबाट ५ घन्टा हिँडेर पहिलो पटक बस चढ्न पुगेको अनुभव छ । टुकी बालेर पढेको अवस्था थियो । अहिले मेरो घरसम्म सडक, बिजुली, विद्यालय र स्वास्थ्य चौकी पुगेको छ । तर यी उपलब्धिका बाबजुद पनि जनताको पर्चेजिङ क्यापिसिटी अपेक्षित रूपमा वृद्धि हुन सकेको छैन,’ मुख्यमन्त्री पाण्डेले भने ।
यसले जनजीवनमा अझ सुधार ल्याउनुपर्ने आवश्यकतालाई झल्काउँछ । मुख्यमन्त्रीले त्यसका लागि नीतिगत सुधार र आर्थिक वृद्धिमा जोड दिनुपर्नेमा पनि जोड दिए । ‘पत्रकारिताको कलमले यस विषयमा पनि आवाज उठाउन आवश्यक छ,’ उनले भने । मुख्यमन्त्री पाण्डेले पत्रकारितालाई राज्यको चौथो अंग भन्दै यसको गरिमा र जिम्मेवारी अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।
‘आजको डिजिटल युगमा पत्रकार र गैर–पत्रकार छुट्याउन गाह्रो भएको अवस्था छ,’ उनले भने, ‘मोबाइल फोन र डिजिटल प्रविधिको सहज पहुँचले सामाजिक सञ्जालमा आफूलाई पत्रकार बताउनेको संख्या बढेको छ । त्यसले पेशागत पत्रकारहरूको भूमिका चुनौतीमा पारेकाले पत्रकारहरुले पनि सत्य, तथ्यमात्र खोजेर सत्तालाई प्रश्न गरिरहनुपनुपर्छ ।’
पाण्डेले यस्ता अनियन्त्रित र नक्कली पत्रकारिताले पेशागत पत्रकारलाई ओझेलमा पार्ने खतरा बढेको सुनाए । ‘तथ्यमा आधारित पत्रकारिता केवल अनुभूति वा धारणा होइन, प्रमाण र स्रोतसहितको वस्तुगत प्रस्तुति हो । सामाजिक सञ्जालमा लेखिएका विचार र समाचार माध्यमबाट सम्प्रेषित खबरहरूबीच ठूलो भिन्नता छ । यस बीचको भिन्नता बुझाउने र स्थापित गर्ने जिम्मेवारी हामी सबै पत्रकारहरूकै हो,’ उनले भने ।
सामाजिक सञ्जालमा लेखिएका विचार र समाचार माध्यमबाट सम्प्रेषित खबरहरूबीच ठूलो भिन्नता छ
उनले पत्रकारहरूलाई सकारात्मक सोच राखेर तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरे । ‘यदि हामीले तथ्यमा आधारित सकारात्मक पत्रकारिता गर्न सकेनौं भने संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै जनमानसमा शंका उत्पन्न गराउनेहरूको पक्षमा मलजल पुग्नेछ,’ उनले भने । मुख्यमन्त्री पाण्डेले पत्रकारको विवेक, निष्ठा र सामाजिक उत्तरदायित्वप्रति पूर्ण विश्वास व्यक्त गर्दै पत्रकारहरूलाई स्वार्थ–प्रेरित खेलबाट टाढा रहन आग्रह गरे ।
‘तपाईंहरूले समाचार तोडमोड गरेर नकारात्मकता फैलाउने होइन, यथार्थ प्रस्तुत गर्दै समाजलाई सही मार्गमा डोहो¥याउने काम गर्नुपर्छ,’ उनले भने । डिजिटल प्रविधिको प्रयोगले सूचना र सञ्चारको पहुँच सजिलो बनाएको तर यससँगै आएका विकृति र असत्य प्रचारविरुद्ध पनि पत्रकारिताले सत्यको पक्षमा उभिनुपर्ने मुख्यमन्त्री पाण्डेले औंल्याए । ‘सत्य, सन्तुलन र सकारात्मक चेतनाको पक्षमा पत्रकारिता उभिए लोकतन्त्र, संविधान र संघीयताको रक्षा हुनेछ,’ उनले भने ।
कार्यक्रममा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले पत्रकारितामा नयाँ आयाम थप्नुपर्ने आवश्यकतामा जोड दिए । ‘कहिलेकाहीं समाचारहरू हेर्दा लाग्छ, यदि त्यो समाचार यस्ता कोणबाट आएको भए अझ सकारात्मक सन्देश दिन सक्थ्यो,’ उनले भने । नेपालीले संविधान, संघीयता र लोकतन्त्र जस्ता संवेदनशील विषयमा पत्रकारिताले गहिरो अनुसन्धान, अध्ययन र आत्मसुधार गर्नुपर्नेमा जोड दिए ।
सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचालले पत्रकारितालाई बौद्धिक अभ्यास मात्र नभई सामाजिक उत्तरदायित्वको संज्ञा दिइन् । ‘हामी पत्रकारहरूले सकारात्मक पक्षलाई उजागर गर्नुका साथै नकारात्मक पक्षहरूलाई सचेततापूर्वक विश्लेषण र सुझावसहित प्रस्तुत गर्नुपर्छ,’ उनले भनिन् । प्रदेश सरकारका गतिविधिहरू सकारात्मक रूपमा प्रस्तुत हुँदा जनविश्वास बढ्ने तर कमजोरीलाई पनि उजागर गर्नुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय जनता पार्टी (राप्रपा) संसदीय दलका नेता पञ्चराम गुरुङले पत्रकारिताको मूलधार सत्य, सन्तुलन र विश्वसनीयतामा आधारित हुनुपर्ने बताए । ‘पत्रकारिता कुनै पार्टी वा व्यक्तिको स्वार्थपूर्तिको हतियार बन्नु हुँदैन,’ गुरुङले भने । उनले डिजिटल युगमा नक्कली पत्रकारहरूको संख्या बढ्दा पेशागत पत्रकारहरूलाई जोखिम बढेकोमा चिन्ता व्यक्त गर्दै नेपोलियन बोनापार्टको भनाइ उद्धृत गरे, ‘हजारौं सैनिकभन्दा एक इमानदार पत्रकार डरलाग्दो हुन्छ ।’
कार्यक्रमका संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष भरत कोइरालाले संसदीय पत्रकारहरुले जनताको आवाज लिएर सधैं सत्तालाई प्रश्न गरिरहेको बताएका थिए । उनले संघीयता स्थापनासँग गठन भएको संसदीय पत्रकार मञ्चले स्थापना कालदेखि नै संघीयताको मर्मअनुरुप नै आफ्ना गतिविधि अगाडि बढाएको सुनाए । कार्यक्रम कोषाध्यक्ष आलेले सञ्चालन गरेकी थिइन् ।







सम्पादकीय—सहकारीका संकट सुल्झाऊ
कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया