
जोमसोम ।
पछिल्लो समय हिमाली जिल्ला मुस्ताङको संस्कृति लोपोन्मुख अवस्थामा छ । बढ्दो आधुनिकता र सडक सहजताका कारण यहाँमा पुरानो परम्परागत मौलिक संस्कृति हराउँदै जान थालेको छ ।
हिमाली जिल्ला मुस्ताङको सांस्कृतिक पहिचान भनेकै यहाँका ढुंगा र माटोले निर्मित परम्परागत घरको मौलिक संस्कृति मुख्य मानिन्छ । गुजुमुज्ज एक आपासमा जोडिएका पुराना मौलिक परम्परागत घरले यहाँको मौलिक परम्परा र संस्कृतिलाई जीवन्त तुल्याउने गर्छन् ।
यहाँका यस प्रकारका पुराना परम्परागत घरले यहाँका मौलिकता र संस्कृति झल्काउनेमात्रै होइन, यहाँको पर्यटन विकासमा समेत महत्वपूर्ण टेवा पुर्याउने गरेका छन् । तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका ९६ वटै गाउँ बस्तीका प्रत्येक घरहरुको भौतिक संरचना ढुंगा र माटोले निर्मित छन् । गुजमुज्ज बस्तीका परम्परागत घरहरुको छतमाथि लस्करै दाउँरा पाँजेर राख्ने यहाँको सदिंयौदेखिको सांस्कृतिक प्रचलन पनि हो ।
घरका छतमाथि दाउरा पाँजेर राख्दा बर्खा याममा पानी चुहिने समस्यालाई मुक्त गर्ने र यसरी दाउँरा पाँजेर राख्दा छतमाथि सुकाइने बिसुनलाई हावाहुरीले पु¥याउने असरबाट जोगाउने गर्छ । यहाँका मौलिक सांस्कृतिक घरमा जसले धेरै दाउरा पाँजेर राख्छ, त्यही घर सम्पन्नशाली हुने यहाँका पुरानो मान्यता पनि रहिआएको छ ।
पछिल्लो समय प्राविधिको विकास, बढ्दो आधुनिकता र सडक यातायात सहजताका कारण यहाँको सदिंयौ वर्षदेखिको यहाँको मौलिक संस्कृति बिथोलिन थालेको छ । यहाँ पुराना मौलिक परम्परागत घर मासेर नयाँ आधुनिक कंक्रिट घरहरु निर्माण हुने होडबाजी नै चलेको छ । मुस्ताङको कोरला मुख्य राजमार्ग सडक लगायत यहाँका ग्रामीण बस्तीहरुमा आधुनिकताको नाममा धमाधम कक्रिट घरहरु निर्माण भइरहेका छन् ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले संस्कृति जोगाउन घरमा सेतो र छतमा कालो रङ लगाउनैपर्ने नियम बनाएको छ
यहाँको मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, लेते, लोमान्थाङ लगायतका क्षेत्रहरुमा धमाधम आधुनिक बंगला रुपी घरहरु निर्माण भइरहेको छ । योसँगै यहाँका पुराना मौलिक परम्परागत घरहरु धमाधम मासिन थालेका छन् । यसैबिचमा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका संस्कृति बचाउ अभियानमा जुटेको छ ।
गाउँपालिकाले यहाँका सदियौं वर्ष पुराना घरका मौलिक संस्कृति र परम्परालाई बिथोलिन नदिन स्थानीय नागरिकसँग अनुरोधसमेत गरेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समेटेर गाउँपालिका भित्रका मौलिक ढुंगा र माटोले बनेका परम्परागत घरको मौलिक संस्कृति जोगाउन अभियान नै सञ्चालन गरेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।
पछिल्लो समय अन्धाधुन्ध तवरबाट घरहरु निर्माण गर्ने क्रम बढेकाले संस्कृति जोगाउन गाउँपालिकाले नीति तथा कार्यक्रममा घर निर्माणमा निश्चित मापदण्ड ताकिएको अध्यक्ष बिष्टको भनाइ छ । यहाँ गाउँपालिकाले कुनै व्यक्ति वा समुदायले घरहरु निर्माण गर्दा त्यस्ता घरहरुको सेतो र घरको छतको रंग अनिवार्य कालो हुनुपर्ने नियम बनाएको छ । यहाँ घरहरु निर्माण गर्दा घरको रंग सेतो र छतको बोर्डर कालो रंगको नभएमा त्यस्ता घरलाई गाउँपालिकाले कारवाही प्रक्रियाअघि बढाउने जनाएको छ ।
यसरी पुरानो संस्कृतिको जर्गेना गर्न घरको छत माथिको बोर्डर कालो रंग हुनुपर्ने अथवा त्यसो नभएमा घरको छतमाथि दाउरा पाजेर राख्नु पर्ने नियम तोकिएको अध्यक्ष बिष्टले स्पष्ट पार्नुभयो ।
गाउँपालिकाभित्र आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्नले घरहरु निर्माण गर्दा आर्थिक समस्या परेमा घरमा सेतो रंग र छत माथिको बार्डर, झ्याल÷ ढोका कालो रंगले पोत्न आर्थिक अनुदान सहयोग गरिने अध्यक्ष बिष्टले बताए । पछिल्लो समय यहाँको मौलिक संस्कृति हराउँदै जाने जोखिम बढेकाले यस्तो निर्णय गर्नुपरेको अध्यक्ष बिष्टको भनाइ छ ।
‘यहाँ हामी कहाँ गुम्बाको रंग रातो र पहेलो हुन्छ, व्यक्ति र समुदायको घरहरु सेतो र कालो हुन्छ,’ अध्यक्ष बिष्टले भने, ‘हामी यही पुरानो संस्कृति संरक्षण हुनुपर्छ भन्नेमा छौं, यसले पनि गाउँपालिकाले यस खाले निर्णय गरेको हो ।’

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया