पोखरामा कविता-नाटक ‘आमा’ मञ्चनको तयारी अन्तिम चरणमा

समाधान संवाददाता २०८२ असार ३० गते १९:३७


पोखरा

Advertisement

आमाको ममता, समर्पण र सन्तानप्रतिको निःस्वार्थ प्रेमलाई प्रस्तुत गर्ने कविता-नाटक ‘आमा’ को मञ्चन तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा थिएटरमा यही साउन २ देखि १० गतेसम्म निरन्तर मञ्चन हुने यो नाटकले एक आमाको जीवनका विभिन्न कालखण्डलाई भावनात्मक रूपमा प्रस्तुत गर्नेछ।

पोखरा थिएटरका प्रमुख कार्यकारी अधिकृत परिवर्तनका अनुसार, सृजनशील निर्देशन र गहिरो भावनात्मक रचना समेटिएको यो नाट्यकृतिले दर्शकलाई आमाको जीवनका चारवटा महत्त्वपूर्ण चरणको यात्रा गराउनेछ।

Advertisement

नाटक ‘आमा’ चार दृश्यमा विभाजित छ, जसले ‘फूलमाया’ नामक पात्रमार्फत आम नेपाली आमाको समर्पण, सपना र सङ्घर्षको जीवन्त चित्रण गर्छ। कथामा फूलमायाको बाल्यकालकी साथी ‘सपना’ लाई गुडियाको रूपमा देखाइएको छ, जसले आमाको अधुरो आकांक्षाको प्रतीकको काम गर्छे। युवावस्थामा मातृत्व र जिम्मेवारीको बोझ, शान्तिको खोजीमा निस्किएर बेपत्ता भएका श्रीमान् र अन्त्यमा विदेशिएको छोराको अनन्त प्रतीक्षामा बित्ने उनको जीवनलाई नाटकले मार्मिक रूपमा देखाउँछ। अन्त्यमा, मृत फूलमायालाई ‘सपना’ पात्रले नै चिठी र स्मृतिहरूका माध्यमबाट पुनर्जीवन दिन्छिन्।

यस नाटकमा प्रसिद्ध कवि तीर्थ श्रेष्ठका ‘फुल्न नपाएका फूलमायाहरू’, ‘म यशोधरा’, ‘धर्सैधर्साको चक्रव्यूहमा बूढी आमा’ र ‘वृद्धाश्रमबाट आमाको चिठी’ जस्ता चर्चित कवितालाई नाटकीय रूप दिइएको छ। निर्देशकका अनुसार, नाटकमा प्रयोग गरिएको दृश्य, प्रकाश र सर्पहरूको प्रतीकात्मक नृत्यले आमा बन्नुको अनुभूति, सपनाहरूको त्याग र प्रतीक्षाको पीडालाई दर्शकमाझ जीवन्त बनाउने प्रयास गरिएको छ।

Advertisement

लेखक तथा निर्देशक नारायण न्यौपानेले कविता र नाटकको दृश्यविधानलाई एउटै छायाँमा बुनेर दर्शकलाई नयाँ स्वाद दिने प्रयास गरेको बताए। “सजीव र निर्जीव पात्रहरूमार्फत हामीले समस्त आमाहरूको कथा भन्ने कोसिस गरेका छौं,” उनले भने, “आमा त्यो शक्ति हो, जो न थाक्छे, न हार्छे; केवल माया गर्छे र पर्खिरहन्छे।”

नाटकलाई जीवन्त तुल्याउन कलाकारहरू कृष्टि गुरुङ, अञ्जली शाही, सिता अधिकारी, सुसन पौडेल, धनकाजी श्रेष्ठ, रमेशबाबु तिमिल्सिना, श्रीकृष्ण भण्डारी, सृष्टि पंगेनी र राहुल श्रेष्ठले निरन्तर अभ्यास गरिरहेका छन्।

लेखक तथा निर्देशक न्यौपाने रहेको नाटकमा कवि तीर्थ श्रेष्ठका कविता समावेश छन्। नाटकको सुपरिवेक्षण प्रमिला तुलाचनले गरेकी छन् भने संगीत, प्रकाश र दृश्य संयोजन परिवर्तनले गरेका छन्। त्यसैगरी, ध्वनि तथा प्रकाश परिचालनमा दिलबहादुर थापा, सह-निर्देशनमा रमेशबाबु तिमिल्सिना, कला निर्देशनमा विकास अधिकारी, कोरियोग्राफीमा सरिता मगर, पोस्टर डिजाइनमा निशान थापा, मञ्च व्यवस्थापनमा धनकाजी श्रेष्ठ र बक्स अफिसमा अस्मिता गोदार रहेका छन्।

तपाईको प्रतिक्रिया