मुस्ताङमा योग प्रशिक्षण सुरु

समाधान संवाददाता २०८२ असार ३१ गते १४:१३

जोमसोम ।
कर्मचारी मिलन केन्द्र मुस्ताङको आयोजनामा तथा प्रमुख जिल्ला अधिकारी (सिडिओ) विष्णुप्रसाद भुसालको सहजीकरणमा जोमसोममा आजदेखि दैनिक योग ध्यान साधना कार्यक्रम सुरु गरिएको छ ।


स्वस्थ, तनावरहित र ऊर्जाशील जीवनयापनका लागि घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कभर्ड हलमा सोमबारदेखि कार्यक्रम सञ्चालनमा आएको हो ।


यहाँका कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधि, पर्यटन व्यवसायी, युवा क्लब, आमा समूह तथा स्थानीय बासिन्दाहरूको शारीरिक स्फूर्ति र तनावमुक्त जीवनका लागि ऊर्जा प्रदान गर्ने उद्देश्यसहित योग ध्यान साधना कार्यक्रम सुरु गरिएको जानकारी दिइएको छ ।

Advertisement


कार्यक्रम नियमित रूपमा दैनिक बिहान ५ः३० बजेबाट ६ः३० बजेसम्म सञ्चालन हुने सिडिओ भुसालले जानकारी दिए । पुरातन समयदेखि योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रुपमा लिने गरिन्थ्यो भन्ने कुरा उल्लेख गर्दै सिडिओ भुसालले नियमित योग अभ्यासले मानिसको शारीरिक, मानसिक र सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।


उनका अनुसार योगाभ्यास आत्मा र परमात्माबीचको सम्बन्ध स्थापनाको अभ्यास हो । यसले मानिसलाई रुपान्तरण र अनुभूतिको मार्गमा डोहोर्‍याउँछ । योगका यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्यागजस्ता अङ्गहरूलाई मुख्य रूपमा लिइन्छ ।

Advertisement


जिल्ला समन्वय समिति प्रमुख माया गुरुङका अनुसार नीलगिरी र धौलागिरी हिमालको छायाँमा बसेर नियमित रूपमा ध्यान र योग साधना गर्नाले मानव जीवनलाई सकारात्मक र सुखमय दिशातर्फ उन्मुख गराउन मद्दत मिल्छ । उनले योगाभ्यासले शरीरका सबै अंगहरु सक्रिय बनाई शारीरिक क्षमताको विकास मात्र होइन, मानसिक सन्तुलन कायम राख्न पनि प्रभावकारी भूमिका खेल्ने धारणा राखिन् ।


कार्यक्रमको पहिलो दिन करिब ५० जना भन्दा बढीको सहभागिता रहेको बताइएको छ । कार्यक्रममा योगका विविध विधि, प्रक्रिया र अभ्यासहरु गराइएको थियो । साथै, योग अन्तर्गत धार्मिक सांगीतिक नृत्यका माध्यमबाट पनि सहभागीहरूलाई सक्रिय बनाइएको थियो । समयको उचित व्यवस्थापनसहित निरन्तर अभ्यास गरिन सकेमा योगले शारीरिक स्वास्थ्यको संरक्षण र क्षमताको अभिवृद्धिमा उल्लेखनीय टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया