कोरलानाकासहित सोह्र सीमा स्तम्भको नालीबेली

सुन्दरकुमार थकाली २०८२ असार ३२ गते १४:०७

जोमसोम

हिमालपारिको जिल्ला मुस्ताङ, जसको उत्तरी सिमाना चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ। यही दुर्गम र रणनीतिक महत्त्वको १३६ किलोमिटर लामो सीमाक्षेत्रमा नेपाल-चीन सम्बन्धका प्रतीकका रूपमा १६ वटा सीमा स्तम्भहरू ठडिएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल ३३ नं. गुल्म अन्तर्गतको बोर्डर आउट पोस्ट (बीओपी) नेचुङका अनुसार उपल्लो मुस्ताङसँग जोडिएका यी १६ स्तम्भमध्ये ९ वटा साना र ७ वटा मझौला खालका छन्। बीओपी नेचुङका इन्चार्ज, प्रहरी निरीक्षक विष्णुहरी थापाले स्तम्भ नं. १८, १९, २०, २५, २६, २८, २९, ३१ र ३३ साना आकारका तथा स्तम्भ नं. २१, २२, २३, २४, २७, ३० र ३२ मझौला आकारका रहेको जानकारी दिए। भौगोलिक रूपमा स्तम्भ नं. १८ देखि २३ सम्म डोल्पा जिल्लातर्फ र स्तम्भ नं. २५ देखि ३३ सम्म मनाङ जिल्लातर्फ अवस्थित छन्।

यीमध्ये स्तम्भ नं. २४ सबैभन्दा महत्त्वपूर्ण ट्रान्जिट प्वाइन्ट हो, जुन कोरलानाकाको मुख्य प्रवेशविन्दु पनि हो। यही विन्दुमा चीनले आफ्नो भूमिमा भन्सार र अध्यागमनसहितका भव्य भौतिक संरचना निर्माण गरेको छ। नेपालतर्फ भने सुरक्षा निकाय र अध्यागमन कार्यालयका लागि हाल प्रिफ्याब कन्टेनरबाट निर्मित अस्थायी भवनहरू छन्। यही २४ नम्बर स्तम्भको दशगजा क्षेत्र हुँदै उपल्लो मुस्ताङका बासिन्दाहरू चीनको लिग्चे बजारमा दैनिक उपभोग्य सामग्री खरिदका लागि जाने गर्छन्।

Advertisement

यी सीमा स्तम्भहरूको निगरानी गर्नु आफैँमा एक कठिन कार्य हो, किनकि १६ मध्ये पाँचवटा स्तम्भ ५,००० मिटरभन्दा बढीको उचाइमा छन्। स्तम्भ नं. १८ (डोल्पातर्फ) ५,१८० मिटरको उचाइमा अवस्थित सबैभन्दा अग्लो स्तम्भ हो भने २४ नं. स्तम्भ (कोरलानाका) ४,६१० मिटरमा रहेको सबैभन्दा कम उचाइको स्तम्भ हो। कुल १६ स्तम्भमध्ये ७ वटामा मात्र सडकको पहुँच छ भने बाँकी ९ वटा स्तम्भसम्म पुग्न पैदल हिँड्नुको विकल्प छैन। विशेषगरी मनाङतर्फका ३२ र ३३ नं. स्तम्भहरू अत्यन्तै विकट भौगोलिक स्थानमा रहेको बीओपीले जनाएको छ।

यस्तो कठिन परिस्थितिका बाबजुद सीमा सुरक्षालाई चुस्तदुरुस्त राखिएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले नेपाल र चीनबीचको आपसी समझदारीमा तोकिएका स्तम्भहरूको संयुक्त गस्ती र अनुगमन हुँदै आएको बताए। यसका साथै, कोरलानाकामा रहेको बीओपीले साप्ताहिक रूपमा हरेक स्तम्भको आलोपालो गस्ती गर्छ। आन्तरिक सीमा सुरक्षाका लागि नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सँग समेत समन्वय गरेर गस्ती हुने गरेको प्रजिअ भुसालले उल्लेख गरे।

Advertisement

सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको बीओपीले सीमा स्तम्भको सुरक्षा, मानव तस्करी, वन्यजन्तुको चोरी-सिकारी र अन्य सीमा अपराध नियन्त्रणको मुख्य दायित्व निर्वाह गरिरहेको छ। यसका अतिरिक्त, नाकामा रहेको भन्सार र अध्यागमन कार्यालयसँग समन्वय गरी राजस्व चुहावट रोक्न पनि बीओपीले महत्त्वपूर्ण भूमिका खेलिरहेको प्रजिअ भुसालले जनाए।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया