
जोमसोम ।
विगत सात वर्षदेखि भाडामा कार्यालय सञ्चालन गर्दै आएको मुस्ताङको थासाङ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्न थालेको छ । गाउँपालिकाको केन्द्रसम्बन्धी विवादका कारण प्रभावित बनेको भवन निर्माण प्रक्रिया अब अगाडि बढाइएको हो ।
थासाङ गाउँपालिकाको केन्द्रसम्बन्धी विवादमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि प्रशासकीय भवन निर्माणको बाटो खुलेको गाउँपालिका अध्यक्ष प्रदीप गौचनले जानकारी दिए ।
‘संघीयता कार्यान्वयन भएको सात वर्षसम्म कोवाङस्थित भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएका थियौँ,’ अध्यक्ष गौचनले भने, ‘अब केन्द्रसम्बन्धी मुद्दा सर्वोच्चले खारेज गरिसकेको छ, त्यसैले हामी भवन निर्माणमा जुटिसकेका छौँ ।’
थासाङ गाउँपालिकाको केन्द्र सुरुदेखि नै कोवाङमै छ । हालसम्म भट्टचन समाजघरलाई वार्षिक भाडा बुझाएर कार्यालय सञ्चालन हुँदै आएको छ । अब विवाद समाधान भएसँगै आफ्नै प्रशासकीय भवन बनाउन बाटो खुलेको थासाङ–२ का वडाध्यक्ष गौतश शेरचनले जानकारी दिए । उनका अनुसार थासाङ–२ का स्थानीय दाताहरु दुरेन्द्र शेरचन, विष्णुप्रसाद शेरचन, प्रवीण गौचन र राम थकालीले करिब ६ रोपनीभन्दा बढी जग्गा दान गरेका छन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षदेखि भवन निर्माण प्रक्रिया सुरु गरेको जानकारी गाउँपालिकाका इन्जिनियर त्रिलोचन गिरीले दिए । उनका अनुसार गाउँपालिकाको ४० प्रतिशत र संघीय सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार आयोजना (डोलीडार)को ६० प्रतिशत लागत साझेदारीमा भवन निर्माण गरिनेछ ।
गाउँपालिकाको केन्द्रसम्बन्धी विवादमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो
साढे तीन तले हुने उक्त भवनको कुल लागत अनुमानित ११ करोड ५३ लाख रुपैयाँ छ । तीमध्ये ८ करोड ४९ लाख रुपैयाँमा शर्मा एण्ड अनिश आशिष जेभी पोखरासँग ठेक्का सम्झौता गरिएको हो । भवन निर्माणको ठेक्का चालु आर्थिक वर्षको जेठ ६ गते दिइएको हो । सम्झौताअनुसार निर्माण कार्य २२ महिनामा सम्पन्न गर्नुपर्नेछ, जसअनुसार वि.सं. २०८३ फागुन ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
ठेक्का पाएको कम्पनीले कार्य सुरु गर्न डोलीडारबाट २५ लाख र गाउँपालिकाबाट ४३ लाख, गरी ६८ लाख रुपैयाँ अग्रिम लिएको छ । डोलीडारले ५ करोड ४० लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी बजेट गाउँपालिकाले व्यवस्थापन गर्ने गरी लागत साझेदारी गरिएको हो । यसका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको इञ्जिनियर गिरिले स्पष्ट पारे ।
जग्गा दाताहरूले दान गरेको जग्गामा भवन निर्माण गर्न कानुनी प्रक्रिया, जग्गा सम्याउने कामलगायतका तयारी भइरहेको छ । निर्माणाधीन भवनमा ३० वटा कोठा हुने जनाइएको छ । तीमध्ये प्रशासनिक कक्ष, कर्मचारी आवास, बैठक कक्ष, सभाहल, विषयगत शाखाका कोठा, अपांगमैत्री पूर्वाधार, स्तनपान कक्ष र सवारी पार्किङसमेत रहनेछ ।
यसअघि मुस्ताङका ५ मध्ये ४ गाउँपालिकाले आफ्ना प्रशासकीय भवन निर्माण गरिसकेका छन् । अब भवन बनेपछि थासाङ गाउँपालिकाको प्रशासनिक कार्यसम्पादन सहज हुनुका साथै आर्थिक भार पनि घट्ने अपेक्षा गरिएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया