कृषि ज्ञान केन्द्रको समीक्षा

समाधान संवाददाता २०८२ असार ३२ गते १४:५१

पोखरा ।
कृषि ज्ञान केन्द्र कास्कीको वार्षिक समीक्षा कार्यक्रम भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेट तथा नीति तथा कार्यक्रमअनुसार कास्की जिल्लामा सञ्चालित विभिन्न योजना र कार्यक्रमहरूको समीक्षा गरिएको हो ।


कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणको नीति जनस्तरमा प्रभावकारी रूपमा प्रचार गर्न आवश्यक रहेको बताए । उनले उत्पादनमुखी रणनीति अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।


कृषकले उत्पादन गरेका वस्तु बजारसम्म पुर्‍याउन नसकेको गुनासो बढ्दै गएको उल्लेख गर्दै उनले सम्बन्धित सरकारी निकायलाई उत्पादनको बजारीकरणमा ध्यान दिन आग्रह गरे । उत्पादन नीति र कार्यक्रमसँगै क्रय, विक्रय र विनिमयका क्रियाकलाप सहज बनाउनेतर्फ लाग्नुपर्नेमा उनको जोड छ ।

Advertisement


कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले कार्यालयले ८५ प्रतिशत वित्तीय प्रगति हाँसिल गरिसकेको जानकारी दिए । निर्धारित लक्ष्य र उद्देश्य प्राप्तिमा पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको उनको भनाइ छ । कास्की खाद्यान्नमा आत्मनिर्भर हुने दिशामा अगाडि बढिरहेको दाबी गर्दै उनले हालसम्म ८० हेक्टर क्षेत्रमा आलु खेती विस्तार गरिएको जानकारी दिए ।


स्थानीय बाँसका कच्चा पदार्थ प्रयोग गरी निर्माण गरिएका टनेलहरू प्रभावकारी देखिएको सुनाउँदै उनले फलफूल बगैंचा सुदृढीकरण कार्यक्रम पनि निकै सफल भएको जनाए । उनले देखिएका कमी, कमजोरी क्रमशः सुधार गर्दै जाने प्रतिबद्धतासमेत गरे । रैथाने बाली संरक्षण कार्यक्रममार्फत उवा बालीको व्यावसायिक उत्पादन र प्रवद्र्धनमा उल्लेखनीय उपलब्धि हाँसिल भएको उनको भनाइ छ ।

Advertisement


सो अवसरमा उत्कृष्ट कृषकहरूलाई सम्मान गरिएको थियो । सम्मानित कृषकहरूमा अन्नपूर्ण गाउँपालिकाका नरेन्द्रप्रसाद पौडेल, रूपा गाउँपालिकाका जोरेली मियाँ, माछापुच्छ्रे गाउँपालिकाका कृष्णप्रसाद दाहाल र पोखरा महानगरपालिकाकी पिन शोभा गुरुङ छन् । उनीहरूलाई जनही १० हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ ।


कार्यक्रममा स्वागत वरिष्ठ प्रशासन सहायक सोमलाल तिवारी, कृषि प्रसार अधिकृत रामकृष्ण अर्याल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया