फेवातालमा सीमा स्तम्भ गाड्ने काम सकियो

समाधान संवाददाता २०८२ असार ३२ गते १६:३४

पोखरा ।

 सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै पोखरास्थित फेवातालको सीमाङ्कन गरी सीमा स्तम्भ गाड्ने कार्य सम्पन्न भएको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त प्रयासमा तालको चार किल्ला निर्धारण गरी स्तम्भहरू जडान गरिएको हो।

पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीका अनुसार, तालको सीमा क्षेत्रमा कुल १०५५ वटा डिजिटल सीमा स्तम्भ (पिल्लर) जडान गरिएको छ। तीमध्ये ६११ वटा कंक्रिटका पिल्लर रहेका छन्।

Advertisement

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सर्वोच्च अदालतको आदेशअनुसार सम्बद्ध निकायहरूसँग समन्वय गरी फेवाताल संरक्षणका लागि थप कामहरू अगाडि बढाइने बताए । महानगरको अगुवाइमा सम्पन्न यो कार्यलाई एक ‘ऐतिहासिक’ सफलताको संज्ञा दिँदै उनले यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

करिब ४५ दिनसम्म सीमाङ्कन कार्यमा खटिएका प्राविधिक, कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सम्पूर्ण टोलीलाई पनि उनले धन्यवाद दिए । महानगरपालिकाले पहिलो चरणमा सीमा स्तम्भ जडान कार्य सम्पन्न गरेको र अब दोस्रो चरणको काम सुरु गर्ने योजना बनाएको छ।

Advertisement

यो सीमाङ्कनले तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफललाई समेटेको छ। यस कार्यले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचानको संरक्षणमा ऐतिहासिक महत्त्व राख्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया