बेनीको शिरमा ‘रावण पार्क’

म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–५ स्थित पछैमा निर्माण भइरहेको ‘रावण पार्क’ अन्तिम चरणमा पुगेको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरी ज्ञान आर्जन गर्ने स्थलका रूपमा वर्णन गरिएको पछै जिल्ला सदरमुकाम बेनी बजारको उत्तरपश्चिमतर्फको डाँडामा पर्छ । त्यहीँ निर्माण भइरहेको ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिमा १० वटा टाउका छन् । जनै राख्ने र सरसफाइ गर्नेबाहेकका सबै काम पूरा भइसकेका छन् ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले करिब ९४ प्रतिशत भौतिक प्रगति भएको रावण पार्क आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्यसहित ठेक्काको म्याद थपिएको जानकारी दिए ।
‘चार रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग, स्लेट बिछ्याउने काम, दुवो रोप्नेजस्ता संरचना तयार भइसकेका छन्’, उनले भने, ‘ऋषिमुनिको मन्दिर, हवन कुण्ड, रावणको नाभि गाडिएको भनिएको स्थान यथावत् राखेर मूर्ति, बगैँचा, विश्रामस्थल, घेराबार र जमिन संरक्षणलगायत पूर्वाधार बनाइएको हो ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उत्पादन विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागतमा आर्थिक वर्ष २०७६/७७ देखि रावणको मूर्तिसहित पार्क निर्माण सुरु गरिएको थियो ।
नगरपालिकाले मन्त्रालयमा नियमित प्रतिवेदन पेस गर्न नसक्दा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा बजेट व्यवस्था हुन सकेन । त्यसकै कारण निर्माण व्यवसायी पनि पछि हट्न खोजेका थिए । ४४ महिनासम्म काम रोकिएको नगरप्रमुख केसीले उल्लेख गरे ।
दुई वर्षमै काम सक्ने लक्ष्यसहित २०७७ सालको फागुनमा धर्म एस कास्यप जेभीले एक करोड ७६ लाख रुपैयाँमा ठेक्का लिएको थियो । तर निर्माणको गति भने गत फागुनदेखि मात्रै देखिएको हो । बजेटको व्यवस्था गरी २०७८ सालको असारदेखि रोकिएको निर्माणलाई निरन्तरता दिइएको र अहिले अन्तिम चरणमा पु¥याइएको बेनी–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताए ।
उनका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र ऋषि पुलह र पुलत्यको तपोभूमि पछैमा रावण जन्मिएको र उनको नाभि गाडिएको भनिने शिला अझै सुरक्षित छ । १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलह आश्रम क्षेत्रभित्र पार्क सञ्चालनमा आएपछि धार्मिक पर्यटकको चाप बढ्ने उनले विश्वास व्यक्त गरे ।
समुद्री सतहबाट दुई हजार मिटर उचाइमा अवस्थित पछैबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकीको दोभानमा अवस्थित बेनीलगायत धेरै भूभाग देख्न सकिन्छ । पौराणिक मान्यताअनुसार यहीँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरेर सिद्धि प्राप्त गरेका थिए । रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ ।
विसं २०६६ मा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेनीमा यस्तो उद्यान बनाउने परिकल्पना गरेका थिए ।
विसं २०७४ देखि बजेट विनियोजन गरिएको भए पनि स्थान विवाद र स्रोतको अभावका कारण रामायण उद्यानको योजना कार्यान्वयन हुन सकेको थिएन । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना अघि सारिएको छ । बेनी बजारबाट गाडीमा झन्डै ३० मिनेटको यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी–अर्थुङ्गे–बाँसबोट–एकपाटे–पुरुण्डी सडक खण्ड कालोपत्रे भइसकेको छ भने पुरुण्डीबाट पछैसम्म करिब दुई किलोमिटर कच्ची बाटो छ । रासस








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया