पोखरा २६ का ताल संरक्षणका लागि समिति

समाधान संवाददाता २०८२ साउन १ गते १३:०१

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ भित्र रहेका तीनवटा तालको संरक्षण तथा आगामी दिनमा गर्न सकिने विकास, निर्माणमा सहयोग पुर्‍याउने गरी ताल संरक्षण समिति गठन गरिएको छ । स्थानीय सरकारको रूपमा रहेको वडा नम्बर २६ संरक्षक रहने गरी खाष्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिमा ईश्वरीप्रसाद अधिकारी र गुँदे ताल वातावरण संरक्षण समितिको अध्यक्षमा वामदेव ढुंगानालाई चयन गरिएको हो ।


खाष्टे, न्युरेनी तथा गुदे ताल संरक्षण विकास समितिको सोमबार भएको घोषणा सभा तथा पदस्थापन समारोहमा समिति गठन गरी ताल संरक्षणका क्षेत्रको जिम्मेवारी दिइएको छ । ३ वर्षे कार्यकालका लागि गठन गरिएको खाष्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिको अध्यक्षमा ईश्वरीप्रसाद अधिकारी छन् भने उपाध्यक्षमा इन्दु पौडेल लामिछाने, सचिवमा ई. सञ्जयराज तिमिल्सेना र कोषाध्यक्षमा नवराज बराल छन् । सदस्यहरूमा रामबाबु बस्ताकोटी, ईश्वराज भण्डारी, रेवती रमण लामिछाने, शान्ति पौडेल, राज गुरुङ र गोविन्द विक छन् ।


भेलाले गुदे ताल वातावरण संरक्षण समितिको अध्यक्षमा वामदेव ढुंगानालाई चयन गरेको छ भने उपाध्यक्षमा बद्रीप्रसाद बराल, सचिवमा शर्मिला सुनार, कोषाध्यक्षमा दीपेन्द्र भण्डारी र सदस्यहरूमा बद्रीनाथ भण्डारी, सूर्य परियार, प्रविन रानाभाट, वालकृष्ण गौतम, सीता ढुंगाना, सरोज विक र युवराज गुरुङ छन् । नवगठित समितिलाई पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा र खाष्टे–न्युरेनी मत्स्य पालन सहकारीका निवर्तमान अध्यक्ष हरिप्रसाद अधिकारीले अविर र खादा लगाएर स्वागत गरेका थिए ।

Advertisement


समितिले सोमबारदेखि नै तालमा माछा मार्ने र तालको सौन्दर्यमा असर पुग्ने किसिमका कुनै पनि काम तथा अन्य गतिविधि गर्न पूर्ण रूपमा रोक लगाउँदै संरक्षणका काममा सरोकारवालालाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ ।


वडाध्यक्ष नरेन्द्र थापाले वडाका तालको विकासका लागि समय–समयमा रकम विनियोजन भए पनि काम हुन नसकेको अवस्थालाई ध्यानमा राखी आगामी दिनमा सबैको राय, सुझाव र सल्लाहअनुसार समितिले काम गर्ने बताए । उनले वडाको विकासमा सबैको सकारात्मक र रचनात्मक सहयोग आवश्यक रहेकोमा जोड दिए ।

Advertisement


खाष्टे–न्युरेनी मत्स्य पालन सहकारी संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सूर्य भण्डारी, चन्द्रगोपाल राजभाट, मनोहरि ढुंगाना र सहकारी अध्यक्ष छबिलाल लामिछानेलगायतले तालको संरक्षणसँगै आम्दानीका लागि माछापालनलाई प्रक्रिया अनुसार अघि बढाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया