शैक्षिक शुल्क र छात्रवृत्तिसम्बन्धी नेविसंघ पोखराको ध्यानाकर्षण

समाधान संवाददाता २०८२ साउन १ गते १५:१९

पोखरा ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरपालिका कार्यसमितिले प्रेस विज्ञप्तिमार्फत पोखरा महानगरपालिका शिक्षा महाशाखालाई तीनवटा माग सम्बोधन गर्न आग्रह गरेको छ ।


शैक्षिक सत्र २०८२ मा पोखरा महानगरपालिकाभित्रका विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीले भर्ना शुल्क, शैक्षिक शुल्क र छात्रवृत्तिसम्बन्धी गुनासो गरेपछि नेविसंघले कार्यसमितिलाई ध्यानाकर्षण गराएको नेविसंघले बताएकाे छ ।


महानगरभित्रका सबै विद्यालय तथा क्याम्पसहरुले कूल विद्यार्थी संख्या अनुसार १० प्रतिशत जेहेन्दार तथा आर्थिक रुपमा कमजोर विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने र त्यसका लाभग्राहीको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेको छ ।

Advertisement


नेपालको संविधान र ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन’ को पालन गर्दै कक्षा १२ सम्म कुनै पनि शुल्क नलिने व्यवस्था लागू गर्न माग गरिएको छ । सामुदायिक विद्यालयमा लिइँदै आएको भर्ना शुल्क र महिनावारी शैक्षिक शुल्क तत्काल बन्द गर्नुपर्ने नेविसंघको भनाइ छ ।


नेविसंघले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जानुपर्ने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘एकपटक भर्ना भएका विद्यार्थीलाई अर्को शैक्षिक सत्रमा पुनः भर्ना शुल्क नलिइयोस् । अतिरिक्त क्रियाकलापको नाममा थप शुल्क उठाउने प्रवृत्तिमाथि पनि रोक लगाइयोस् । निःशुल्क शिक्षाको संवैधानिक अधिकार पालना गरियोस् । हाम्रा माग सम्बोधन नभए विभिन्न शैक्षिक आन्दोलनका कार्यक्रमहरू घोषणा गरिनेछ र आवश्यक परे महानगरभित्रका विद्यालय बन्द गरिनेछ । त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी पोखरा महानगरपालिका शिक्षा महाशाखाको हुनेछ ।’

Advertisement

तपाईको प्रतिक्रिया