रुपामा एकैदिन प्रशासकीय भवन शिलान्यास, यातायात र डेन्टल सेवाको सुरुवात

समाधान संवाददाता २०८२ साउन १ गते १७:२७

रुपा ।

कास्कीको रुपा गाउँपालिकाले एकैदिन तीनवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गर्दै विकास र सेवा प्रवाहमा नयाँ फड्को मारेको छ । गाउँपालिकाले मिति २०८२ साउन १ गते आफ्नो प्रशासकीय भवनको शिलान्यास, पालिकाभित्र स्थानीय यातायात सेवाको शुभारम्भ तथा रुपाकोट अस्पतालमा निःशुल्क डेन्टल सेवाको सुरुवात गरेको हो ।

एक विशेष कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । हालसम्म आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ भोग्दै आएको गाउँपालिकाको उक्त भवन ७ करोड ८० लाख ५४ हजारको लागतमा निर्माण हुन लागेको हो । विद्युतिय ठेक्का प्रक्रियामार्फत RIPL-MCPL JV काठमाण्डौंले एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गरे निर्माण कम्पनीलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरे । निर्माण कम्पनीका प्रतिनिधिले पनि समयमै गुणस्तरीय काम सम्पन्न गरी भवन हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

यसैगरी, पालिकाको कार्यालयसम्म पुग्न स्थानीयलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाभित्रै सञ्चालन हुने गरी स्थानीय यातायात सेवा पनि सुरु गरिएको छ । सडक सञ्जाल भएर पनि सार्वजनिक यातायातको अभावमा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै स्थानीय व्यवसायीको मागअनुसार पालिकाले रुट, समय र भाडादर निर्धारण गरी सेवा सञ्चालनमा ल्याएको हो ।

साथै, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै रुपाकोट अस्पतालमा निःशुल्क डेन्टल सेवाको पनि शुभारम्भ गरिएको छ । गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको अध्यक्षता तथा अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त सेवा सुरु गरिएको हो । रुपा गाउँपालिका र नेलम्बो नेपालको संयुक्त लगानीमा महँगो मानिने दन्त सेवा स्थानीयलाई निःशुल्क उपलब्ध गराइएको हो । नेलम्बो नेपालका कार्यक्रम संयोजक भिम प्रसाद भण्डारीले पालिकावासीलाई निःशुल्क सेवा दिन पाउँदा खुसी व्यक्त गरे । अध्यक्ष ओझाले पालिकाले उपलब्ध गराएको ५० प्रतिशत अनुदानमा स्वास्थ्य बिमा, सहुलियत दरमा एम्बुलेन्स तथा निःशुल्क दन्त सेवाजस्ता सुविधाको भरपुर लाभ लिन सम्पूर्ण पालिकावासीलाई आग्रह गरेका छन् ।

Advertisement

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न आमा समूहका सदस्य, समाजसेवी तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया