जनकवि केशरी धर्मराज थापाको स्मरण, महेन्द्र गुफामा शालिक बनाइने

समाधान संवाददाता २०८२ साउन १ गते १७:३२

पोखरा

जनकवि केशरी धर्मराज थापाको १०१औँ जन्मजयन्तीको अवसरमा पोखरामा एक विशेष कार्यक्रमका बिच स्मरण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले राष्ट्रले चिनेको लोक सर्जकलाई आफ्नै क्षेत्रबाट उचित सम्मान हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा जनकवि थापाको व्यक्तित्व र कृतित्वबारे परिचर्चा गर्दै उनको जन्मभूमि बाटुलेचौरमा योगदानको कदर हुनुपर्नेमा जोड दिइयो । कार्यक्रमको मुख्य आकर्षणको रूपमा थापाको शालिक निर्माणको योजना अघि सारिएको छ । पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जनकवि केशरीको शालिक निर्माणका लागि महेन्द्र गुफा परिसर उपयुक्त हुने र त्यसका लागि स्थलगत निरीक्षणसमेत भइसकेको जानकारी दिए । उनले भने, “शालिक निर्माणका लागि जनकविका परिवार जग्गा उपलब्ध गराउन तयार छन्, पोखरा महानगरपालिका सकारात्मक छ र आवश्यक परेमा वडाले पनि बजेट विनियोजन गर्नेछ । प्रतिष्ठानले अगुवाइ गरे यो कामले सार्थकता पाउँछ ।”

Advertisement

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले बाटुलेचौर साहित्य र संगीतको उर्वर भूमि भएको बताउँदै स्रष्टाको सम्मानले नै समाज सम्मानित हुने धारणा राखिन् । उनले थापाले गन्धर्व समुदाय र सारङ्गीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरिन् ।

यस्तै, पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले धर्मराज थापा राष्ट्रिय गौरवका लोक साधक भएको बताउँदै उनको कृतित्वलाई जीवन्त राख्न स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताए । साहित्यकार एवं पत्रकार असफल गौतमले जनकवि केशरीको जीवनी प्रस्तुत गर्दै उनलाई लोक साहित्य र संगीतको मेरुदण्डका रूपमा चित्रित गरे ।

Advertisement

प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कवि शिव त्रिपाठी, शिवहरि आचार्य, यमनकाजी गुरुङ, कोमलप्रसाद बास्तोला लगायतका वक्ताले कविको जन्मघरलाई ‘कविकुञ्ज’का रूपमा विकास गरी संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष नेत्रबहादुर बानियाँ, पूर्व सदस्य डोबबहादुर केसी लगायतले जनकवि केशरी धर्मराज थापाका कालजयी लोकगीत प्रस्तुत गरेका थिए । प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सुरुवातमा सहभागीहरूले जनकवि केशरीको तस्बिरमा माल्यार्पण गरी स्मरण गरेका थिए ।

तपाईको प्रतिक्रिया