गण्डकी मेडिकल कलेज फेरि स्वास्थ्य बीमाका ‘प्रथम सेवा विन्दु’ कायम

समाधान संवाददाता २०८२ साउन १ गते २०:०१

पोखरा ।
पोखरास्थित गण्डकी मेडिकल कलेजलाई सरकारले फेरि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पुनः ‘प्रथम सेवा विन्दु’का रूपमा कायम गरिएको छ । स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार अब बीमित सेवाग्राहीहरूले प्रारम्भिक उपचार सेवाका लागि गण्डकीको एकमात्र निजी अस्पताल गण्डकी मेडिकल कलेजलाई प्रथम सेवा विन्दुका रुपमा काम गर्न दिने निर्णय गरेको हो ।
स्वास्थ्य बीमा बोर्डले १३ वटा ठूला रेफरल अस्पताललाई आगामी असोज मसान्तसम्म ‘प्रथम सेवा विन्दु’ का रूपमा सेवा दिन अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार बोर्डले यसअघि हटाइएको प्रथम सेवा विन्दुको सुविधा फेरि बहाल गर्ने निर्णय गरेको हो ।


त्यसमध्ये पोखरा नयाँबजार स्थित रहेको गण्डकी मेडिकल कलेज पुन प्रथम सेवा विन्दु कायम भएको हो । यसअघि बोर्डले २०८२ साउन १ गतेदेखि रेफरल अस्पतालहरुले प्रथम सेवा विन्दुको रूपमा काम गर्न नपाउने भन्दै पत्राचार गरेको थियो । त्यसपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल, गण्डकी मेडिकल कलेज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालहरु अन्योलमा परेका थिए । स्थानीय तह र सेवाग्राहीको चर्को विरोधपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रको आधारमा बोर्डले फेरि असोज मसान्तसम्मका लागि सेवा निरन्तर गर्ने निर्णय गरेको हो ।

के हो ‘प्रथम सेवा विन्दु’ ?

Advertisement


बिमितले सुरुमा बिमा गर्दा नै अस्पताल छनोट गरेको हुन्छ । छनोट गरेको अस्पताल नपुगेमा त्यसले उपचार गर्न पाइँदैन । त्यसमा प्रायले नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र वा सरकारी अस्पतालमा जानु अनिवार्य गरेका थियो । त्यहाँबाट आवश्यक ठानेमा मात्रै बिरामीलाई उच्चस्तरको उपचारका लागि रेफर गरिन्छ । रेफरलबिना सिधै अन्य अस्पतालमा गएमा बीमा अन्तर्गतको सेवा नपाइने व्यवस्था छ । यसरी पहिलो सेवा विन्दुबाट प्रक्रिया सुरु गरेपछि मात्र स्वास्थ्य बीमाले परीक्षण, उपचार वा औषधिको खर्च व्यहोर्छ ।


यसअघि बोर्डले यी अस्पतालहरूलाई सेवा विन्दु सूचीबाट हटाएको थियो, जसले बीमितलाई अन्यत्र जानुपर्ने बाध्यता थियो । पुनः समावेशीकरणसँगै बीमा योजनाबाट निःशुल्क उपचार, परीक्षण, औषधि लगायतका सेवा सहज रूपमा प्राप्त हुनेछन् । यो निर्णयले सेवाग्राहीलाई सहजता र विश्वास दिनेसमेत अपेक्षा गरिएको छ । स्वास्थ्य बीमा गरेपछि बीमितले उपचारका लागि सिधै ठूलो अस्पताल जान पाउँदैनन् । सुरुमा आफूले छनोट गरेको ‘प्रथम सेवा विन्दु जानुपर्छ ।

Advertisement


बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, उपत्यका बाहेकका १३ वटा रेफरल अस्पताललाई असोज मसान्तसम्म प्रथम सेवा विन्दुको रूपमा काम गर्न सक्ने गरी पत्राचार गरिएको छ । साथै, स्थानीय तहहरुलाई चाँडोभन्दा चाँडो छुट्टै प्रथम सेवा विन्दुका रूपमा अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ ।


सरकारले अरु प्रथम विन्दु भएका निजी अस्पताललाई हटाएर यसअघि सरकारी संघीय अस्पताललाई मात्र प्रथम विन्दु बनाएकाे थियाे । त्यसअघि कोशी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नारायणी अस्पताल बीरगञ्ज, गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भरतपुर अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, जीपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके, भेरी अस्पताल नेपालगञ्ज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, डडेल्धुरा अस्पताल डडेल्धुरा मात्र छनोट गरेको थियो ।

तपाईको प्रतिक्रिया