३७ वर्षे यात्रामा पूर्णविराम लगाउँदै नेता ढुंगानाले गरे पार्टी परित्यागको घोषणा

पोखरा । नेपाली कांग्रेसका पुराना नेता तथा सामाजिक व्यक्तित्व कृष्णप्रसाद ढुंगानाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। पार्टीभित्रको बढ्दो गुटबन्दी, अपमानजनक व्यवहार र निष्ठावान कार्यकर्ताको अवमूल्यनप्रति असन्तुष्टि जनाउँदै उनले ३७ वर्ष लामो कांग्रेसी यात्रामा पूर्णविराम लगाएका हुन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै पोखरा-३१ निवासी ढुंगानाले आफू स्वतन्त्र नागरिकको रूपमा देश र जनताको सेवामा लाग्ने बताए। उनले विज्ञप्तिमा भनेका छन्, “पार्टीभित्रको गुटबन्दी, ईर्ष्या, अनुशासनहीनता र असहिष्णु राजनीतिक संस्कारले मलाई अत्यन्तै दुःखी बनाएको छ। मैले पार्टीलाई सधैं धर्मको रूपमा लिएँ, तर पछिल्लो समय देखिएको विकृति र अपमानजनक व्यवहार सहन नसक्ने अवस्थामा पुगेँ।”
वि.सं. २०४६ सालदेखि प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा अडिग रही पार्टीका विभिन्न तहमा सक्रिय ढुंगानाले आफ्नो निर्णय सहज नभएको उल्लेख गरेका छन्। “यो मेरो लागि सहज निर्णय होइन, तर आत्मसम्मान, मूल्य र विचारको पक्षमा उभिनु मेरो धर्म हो,” विज्ञप्तिमा भनिएको छ। उनले पार्टीलाई दिएको ३७ वर्षको समर्थन, अमूल्य समय र योगदानलाई इतिहासको साक्षी राख्दै अलग हुने घोषणा गरेका हुन्।
ढुंगानाले आफू कुनै अर्को पार्टीमा प्रवेश नगर्ने र बाँकी जीवन सामाजिक सेवामा समर्पित गर्ने स्पष्ट पारेका छन्। उनले विगतका सहकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्दै कसैसँग आफ्नो व्यक्तिगत द्वेष नरहेको बताए। “मेरो निर्णयले कसैको मन दुखेको भए क्षमा चाहन्छु,” उनले भने। पार्टी परित्यागको घोषणा गर्दा पनि उनले कांग्रेसभित्रका निष्ठावान नेताहरू डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मालाई सधैं सम्झिरहने भावुक भनाइ राखे।
आफ्नो बहिर्गमनबारे टिप्पणी गर्दै उनले भने, “सर्वमान्य नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताले पार्टी छाड्दा त केही भएन भने म जस्तो सामान्य कार्यकर्ताले छाड्दा पार्टीलाई केही फरक पर्दैन। तर, मेरो यो कदमले समाजमा केही परिवर्तनको सन्देश भने अवश्य दिनेछ।”
कांग्रेसभित्र सादगी, समर्पित र समाजसेवी छविका रूपमा चिनिने ढुंगानाको यो निर्णयले पोखराको स्थानीय राजनीति र सामाजिक वृत्तमा तरंग पैदा गर्ने अनुमान गरिएको छ। यसले पार्टीभित्र निष्ठावान कार्यकर्ताहरूले भोग्नुपरेको अवस्थालाई समेत उजागर गरेको छ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया