पोखरा विश्वविद्यालय २९औं वर्षमा: वृक्षरोपण र सम्मानसहित वार्षिकोत्सव मनाइयो

पोखरा।
पोखरा विश्वविद्यालयले आफ्नो २९औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ। वि.सं. २०५४ साउन १ गते ‘पोखरा विश्वविद्यालय ऐन, २०५३’ अनुसार स्थापना भएको विश्वविद्यालयले बिहीबार केन्द्रीय कार्यालय परिसर, पोखरा-३० मा वृक्षारोपण तथा दीर्घसेवा पदक वितरण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन उपकुलपति प्रा.डा. वेदराज के.सी.ले पानसमा दीप प्रज्ज्वलन गरी गरे। समारोहमा विश्वविद्यालयमा २५ वर्षभन्दा लामो समयदेखि अनवरत सेवा प्रदान गरेका शिक्षक तथा कर्मचारीहरूलाई दीर्घसेवा पदक, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरियो।
सम्मानित हुनेहरूमा रजिस्ट्रार सह-प्रा.डा. अजय थापा, सह-प्रशासक गोबर्धन भट्टराई, उप-प्रशासक सीतादेवी ढकाल, मुख्य सहायकहरू बिमल कार्की र पुरूषोत्तम रानाभाट, सवारी चालक झगबहादुर कमर तथा कार्यालय सहयोगीहरू दुर्गा रेग्मी र जोगीराम नेपाली रहेका छन्।
कार्यक्रममा उपकुलपति प्रा.डा. के.सी.ले पोखरा विश्वविद्यालय उच्च शिक्षाको एक महत्त्वपूर्ण संस्थाको रूपमा स्थापित भइसकेको बताउँदै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चिनाइरहनु आवश्यक नरहेको धारणा राखे। उनले विश्वविद्यालयलाई हालको उचाइमा पुर्याउन योगदान दिने पूर्वपदाधिकारी, समाजसेवी तथा शिक्षासेवीहरूप्रति आभार प्रकट गर्दै २५औँ विश्वविद्यालय सभामार्फत अघि सारिएका नीति तथा कार्यक्रमहरू अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. तीर्थराज अर्यालले आयोग विश्वविद्यालयको मार्गनिर्देशनअनुसार चल्ने र आगामी दिनमा पनि लक्ष्य तथा योजनासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
दीर्घसेवा पदकबाट सम्मानित रजिस्ट्रार सह-प्रा.डा. अजय थापाले पोखरा विश्वविद्यालयसँगै आफू हुर्किएको अनुभव सुनाउँदै २५ वर्ष निरन्तर सेवा गर्न पाउँदा गर्व महसुस भएको बताए। उनले भने, “सुरुमा स्नातकोत्तर तहमा १२-१५ र स्नातक तहमा २८ विद्यार्थी तथा ८-१० कर्मचारीबाट सुरु भएको विश्वविद्यालयले आज ६५ वटा कलेजमार्फत ३५ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा दिइरहेको छ। यो सफलताको श्रेय सम्पूर्ण संस्थापक, पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीलाई जान्छ।”
पूर्व रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीले आफ्नो कार्यकालमा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय काम भएको स्मरण गर्दै अबको प्राथमिकता देशका विभिन्न भागमा कलेज विस्तार गरी उच्च शिक्षाको पहुँच पुर्याउनु पर्नेमा जोड दिए।
व्यवस्थापन संकायका डीन सह-प्रा.डा. दयाराज ढकालले “म पोखरा विश्वविद्यालयलाई अगाध प्रेम गर्छु” भन्दै विश्वविद्यालयप्रतिको आफ्नो गहिरो लगाव प्रकट गरे।
प्राध्यापक संघका सभापति सह-प्रा.डा. निरञ्जन श्रेष्ठले पूर्वपदाधिकारीहरूको योगदानको कदर गर्दै सेवा आयोगको वार्षिक कार्यतालिका बनाउन, प्राध्यापकहरूको आत्मसम्मानको रक्षा गर्न तथा शिक्षक-कर्मचारीमा देखिने असन्तुष्टि सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए।
स्कूल अफ बिजनेसका निर्देशक सह-प्रा.डा. श्रृजन ज्ञवालीले सबैको बौद्धिक र भौतिक योगदानको सदुपयोग गर्दै विश्वविद्यालयप्रति गर्व महसुस हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सह-प्रा.डा. पूर्णबहादुर खाँडले विश्वविद्यालयको गुणस्तर उच्च रहेको र यसको प्रभावकारी उपस्थिति देशभर फैलिएको उल्लेख गरे।
कर्मचारी संघकी कार्यवाहक अध्यक्ष बन्दना गोदार थापाले कर्मचारीको वृत्ति विकास, सरुवा, बढुवा र पदोन्नति प्रक्रियामा स्पष्टता ल्याउनुपर्ने तथा तालिम र अनुसन्धानमा समेत ध्यान दिनुपर्ने माग राखिन्।
दीर्घसेवा पदकबाट सम्मानित कर्मचारी पुरूषोत्तम रानाभाटले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने र सम्पूर्ण शिक्षक तथा कर्मचारीको सेवा-सुविधामा समान व्यवहार हुनुपर्ने धारणा राखे।
कार्यक्रममा सह-प्रशासक तेजनारायण पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सह-प्रशासक तारादेवी सापकोटाले गरेकी थिइन्।








सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया