च्याउखेतीमा रमाएका थापा

समाधान संवाददाता २०८२ साउन २ गते १२:४६

गण्डकी ।
युवाको विदेश मोह बढेसँगै देशव्यापी रूपमा कृषिप्रतिको अनाकर्षण बढिरहेको अवस्थामा पोखरा महानगरपालिका ११ का ध्रुवबहादुर थापाले भने व्यावसायिक च्याउखेतीमा लगानी बढाउँदै गएका छन् ।


काहुँ सिस्नेरी एग्रो फार्म सञ्चालन गर्दै आएका उनले च्याउखेतीका लागि करिब १ करोड ५० लाख बढी लगानी गरिसकेका छन् । विगतमा खाद्यान्न आपूर्तिको काममार्फत व्यावसायिकतामा लागेका थापाले कोरोना महामारीपछि व्यावसायिक रूपमा च्याउखेती थालेका थिए ।


कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको योजनालाई व्यवहारमा उतार्नुअघि विसं २०७४ देखि अध्ययन तथा प्रक्रियागत काम गरेका थिए । अहिले उनले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा च्याउखेती गरिरहेका छन् ।

Advertisement


२०७७ फागुनमा चिस्यानसहितको प्रविधियुक्त टनेलको काम सकेपछि च्याउखेती थालेका उनले सुरुमा ५० लाख लगानी गरेको सुनाए । सुरुमा १२ टन क्षमताको उक्त टनेलबाट प्रत्येक ३ महिनाको एक याममा २ हजार ४ सय किलोसम्म गोब्रे च्याउ उत्पादन भएको थियो ।


बजारको बढ्दो मागसँगै च्याउखेतीप्रतिको लगाव बढेपछि अहिले १२ टन क्षमताको टनेललाई विस्तार गरी २० टन बनाइएको छ । थापाले थप २० टन क्षमताका टनेल बनाइरहेका छन् । १२ टन क्षमताको टनेलको क्षमता वृद्धिसँगै अर्को टनेल निर्माण गर्दा करिब ७० लाख लगानी भएको छ ।

Advertisement


पछिल्ला समयमा गरिएको थप टनेल निर्माण तथा क्षमता विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत २७ लाख ९१ हजार ८ सय ८८ अनुदान बापतको रकम प्राप्त भएको थापाले उल्लेख गरे । दैनिक करिब ५ सय किलो गोब्रे च्याउ टिप्दै आइएको छ ।


‘कन्ये च्याउ सामान्य टहरामा उत्पादन गर्न सकिए पनि गोब्रे च्याउका लागि हाइटेक प्रविधि जडित टनेलभित्र गर्नुपर्ने हुन्छ । आफूले उत्पादन गरिरहेको च्याउको खपत पोखरामा हुने गरेको छ’, थापाले भने । २० टन क्षमताका दुई वटा टनेलबाट पूर्णरूपमा उत्पादन हुँदा प्रत्येक ३ महिनाको समयावधिमा ६ हजार किलो च्याउ उत्पादन गर्ने लक्ष्य लिइएको छ ।


‘बजारमा प्रतिकिलो ३ सयदेखि ३ सय ५० सम्ममा च्याउ बिक्री हुन्छ’, उनी भन्छन्, ‘पोखराको बजारमा दैनिक ६ सय किलोसम्म यो च्याउको माग छ ।’ थापाको च्याउखेती फार्ममा हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । च्याउको कम्पोस्ट राख्ने, टिप्ने, त्यसको व्यवस्थापन गर्ने लगायत कामका लागि आवश्यकताअनुसार अन्य जनशक्ति पनि खटाउने गरिएको छ ।


बहुपोषणयुक्त च्याउमा ३५ प्रतिशत प्रोटिन पाइन्छ भने क्यालोरी तथा चिल्लो पदार्थको मात्रा कम हुने भएकाले पछिल्लो समय यसको माग र प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डि प्राप्त हुन्छ भने कम मात्रामा कार्बोहाइड्रेड हुन्छ । नियमित रूपमा च्याउ खानाले उच्च रक्तचाप, मधुमेहलगायत रोग नियन्त्रण गर्न मद्दत पुग्ने तथा क्यान्सरको जोखिम कम गर्नुका साथै तौल घटाउन पनि उपयोगी मानिन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कास्कीले पोखरा र आसपासमा व्यावसायिक च्याउ खेतीप्रतिको आकर्षण बढाउन अनुदान, सहयोग लगायतका कार्यक्रम अघि बढाएको छ ।


परियोजना अन्तर्गत पोखरा र आसपासका क्षेत्रमा च्याउखेतीको विकासका लागि गत आवमा करिब ४० लाख लगानी गरिएको परियोजना कार्यान्वयन इकाइ प्रमुख माधव लम्सालले जानकारी दिए । पोखरा कन्ये च्याउमा आत्मनिर्भर बनिसकेको बताउँदै उहाँले गोब्रे च्याउमा आत्मनिर्भर बनाउनका लागि पहल भइरहेको उल्लेख गरे । आगामी एक–दुई वर्षभित्रमा यस क्षेत्रलाई गोब्रे च्याउमा पनि आत्मनिर्भर बनाउने गरी काम भइरहेको उनको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया