शिशुवा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा शिव पुराण प्रवचन हुने

समाधान संवाददाता २०८२ साउन २ गते १६:०८

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर ३० को शिसुवामा रहेको शिशुवा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा साउन महिनाभरि शिव महापुराण प्रवचन हुने भएको छ । हिन्दु धर्मशास्त्रअनुसार साउनको महिना शिवको महिमा हुने धार्मिक मान्यतालाई आत्मसात् गर्दै साउन महिनाभर भगवान् शिवको महिमा झल्किने गरी धार्मिक प्रवचन, भजनकीर्तन र चन्दादातालाई सम्मान गर्ने कार्यक्रम तय गरिएको हो ।


यसैबीच बिहीबारदेखि सुरु भएको प्रवचन कार्यक्रमको शुभारम्भ गर्दै उद्योग व्यवसायी गोविन्दप्रसाद कर्माचार्यले ज्येष्ठ नागरिक समाजका ऐना भएकाले उनीहरूमा भएको ज्ञान र सीपको अनुसरण समाजले गर्नुपर्ने धारणा राखे ।


साथै उनले ज्येष्ठ नागरिकलाई दिउँसोको समय बिताउन असुविधा भइरहेको अवस्थामा ज्येष्ठ बुबाआमाको सम्मानका खातिर हरेक टोलटोलमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापनाका लागि राज्यले ध्यान दिनुपर्ने सुझाव राखे । महिना दिनसम्म चल्ने प्रवचनको क्रममा प्रत्येक सोमबार स्थानीय स्तरका रहेका धार्मिक मठमन्दिरबाट बोलबम यात्रा निकालिने बताइएको छ ।

Advertisement


शिसुवा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष ताराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बोधराज गौतमले गरे भने स्वागत मन्तव्य सल्लाहकार इन्द्रबहादुर थापाले गरे । सोही अवसरमा स्थानीय समाजसेवी बलराज पौडेल र ऋषिराम जमरकट्टेल लगायतले धार्मिक महत्त्वका बारेमा आ–आफ्नो धारणा राखे ।


दैनिक रूपमा हुने प्रवचनमा पण्डित राजेन्द्र अधिकारीले धार्मिक प्रवचन दिनेछन् भने गणेशमा कृष्णप्रसाद लामिछाने, रुद्रीमा प्रेमनारायण पौडेल र कर्तामा हरिमाया थापा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया