बिरौटाका मापदण्ड विपरीतका संरचना ८ वर्षपछि भत्काइयो

समाधान संवाददाता २०८२ साउन ३ गते १६:२१

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ७ र १७ मा पर्ने मापदण्ड विपरीतका संरचना अन्ततः ८ वर्षपछि भत्काइएको छ । आरटिओ सडक अन्तर्गत बिरौटा चोकदेखि तीनकुने चोकसम्मको ११ सय ५० मिटर सडकको दायाँबायाँका ती संरचना अटेर गर्दै आएपछि वडा कार्यालयको अगुवाइमा शुक्रबार ती संरचना भत्काइएको हो ।

विगतमा सडक विस्तारको काम सुरु हुँदासमेत घरधनीहरूले संरचना हटाउन मानेका थिएनन् । बाध्य भएर निर्माण कम्पनीले विवादित ठाउँ छाडेर बाटो बनाएको थियो । जसका कारण बाटोको धेरैजसो खण्ड साँघुरो भएको थियो भने फुटपाथ, नाला र कालोपत्रको काम अधुरो थियो ।

निर्माण कम्पनीले झन्डै ३ वर्षअघि नै सडकको मुख्य भाग निर्माण गरिसकेको भए पनि मापदण्ड विपरीत बनेका संरचना हटाउन महानगर सफल भएको थिएन । सडक निर्माण सम्पन्न भए पनि उपयोगमा ल्याउन सकिने अवस्थामा थिएन ।

Advertisement

शुक्रबार मात्रै वडा नम्बर १७ मा पर्ने ट्याक्सी चोकभन्दा तलका ६ घर र वडा नम्बर ७ मा पर्ने १ घर गरी कुल ७ वटा संरचना भत्काइएको वडा अध्यक्ष राममोहन आचार्यले जानकारी दिए । तीमध्ये एक घर पूर्ण रुपमा भत्काइएको हो । वडाध्यक्ष आचार्यका अनुसार अब केही दिनमै बाँकी रहेको नालासहितको फुटपाथ निर्माण गरी त्यसमाथि कालोपत्र गरिनेछ ।

‘नक्सा पास नगरी बनाइएका संरचना भएकाले कानुनबमोजिम कारबाही गरिएको हो,’ उनले भने, ‘घरधनीहरूकै अटेरीपनले सडक निर्माणको पूर्णता लिन नसकेको थियो ।’

Advertisement

तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठले उक्त सडकका लागि पोखराका तत्कालीन मेयर मानबहादुर जिसी पालामा बजेट विनियोजन भएको जानकारी दिए । उनका अनुसार महानगरले उक्त सडकलाई गौरवको आयोजनाको सूचीमा राखेर निर्माण अघि बढाएको हो ।

तर, निर्माण अवधिभर पटकपटक म्याद थप गर्नुपरेको थियो । अन्ततः २०७९ सालको अन्त्यतिर मात्रै मुख्य सडक निर्माण सकिएको हो । तथापि मापदण्ड विपरीतका संरचना हटाउन नसक्दा सडक पूर्ण रूपमा सम्पन्न हुन सकेको थिएन ।

यसअघि सडक विस्तारको क्रममा फिस्टेल रेसिडेन्सी क्षेत्रका ५ घरका विषयमा पनि संरचना भत्काउन खोज्दा सम्बन्धित व्यक्तिहरू अदालत गएका थिए । महानगरले बारम्बार दुःख दिएको भन्दै ती घरधनीले अन्तिरिम आदेशको माग गरेका थिए ।
तर, पछि आपसी सहमतिका आधारमा ती संरचना हटाई सो खण्डमा सडक निर्माण सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ । आरटिओ सडक योजनाअन्तर्गत पोखरा महानगरले विसं २०७५/०७६ मा बिरौटा चोकदेखि तीनकुने चोकसम्मको ११ सय ५० मिटर लम्बाइको पक्की सडक निर्माणका लागि ८ करोड २५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

तर, बाटो छेउका संरचना नहटाइँदा केही ठाउँमा फुटपाथ, नाला र कालोपत्रको काम थाँती रहँदै आएको थियो । पटकपटक म्याद थपिँदै जाँदा निर्माण कार्य सुस्त भएको भन्दै समाधान दैनिकले निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो ।

सुरुमा महानगरको योजना २६ मिटर चौडा सडक निर्माण गर्ने थियो । तर, त्यस्तो मापदण्डमा ५६ वटा घर भत्किनुपर्ने अवस्था देखिएपछि योजना परिमार्जन गरी २४ मिटरमा झारिएको थियो ।

२४ मिटरमा लैजाँदा २१ वटा संरचना सार्वजनिक जग्गा मिचेर मापदण्ड विपरीत बनेका थिए । तीमध्ये १७ वटा संरचना यसअघि नै महानगरले हटाइसकेको थियो । पछि महानगरले फेरि मापदण्ड घटाएर २२ मिटरमा सडक सीमित गरेको थियो ।
सडकछेउका संरचना दुईवटा वडामा पर्ने भएकाले सडकको आधा भाग वडा नम्बर ७ मा ११ मिटर र बाँकी भाग वडा नम्बर १७ मा ११ मिटर रहेको छ ।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नक्सा पास नगरी बनाइएका संरचना भत्काउने कानुनी अधिकार प्रयोग गरेको हो । यद्यपि केही संरचना नक्सा पाससमेत नभएको समाधानले फेला पारेको छ । वडाध्यक्ष आचार्यले अबको केही महिनाभित्र यस सडकलाई पूर्णरूपमा सम्पन्न गरी स्थानीय बासिन्दालाई सहज आवागमनको सुविधा प्रदान गरिने बताए ।

तपाईको प्रतिक्रिया