नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखालाई सहयोग

समाधान संवाददाता २०८२ साउन ३ गते १६:२६

पोखरा ।

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पोखरा महानगरपालिका वडा नम्बर ९ को कार्यालयले नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखालाई विपद् राहत सामग्री प्रदान गरेको छ । बाढी, पहिरोबाट प्रभावितलाई सहयोग गर्नका लागि वडा कार्यालयले १ लाख बराबरको राहत हस्तान्तरण गरेको हो ।

समारोहमा पोखरा ९ उपशाखाले जिल्ला शाखा कास्कीका पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापनसमेत गरेको छ । कार्यक्रममा नेवा मिस–पुच नयाँबजार र सांस्कृतिक समिति नयाँबजारले नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखालाई २/२ लाख आर्थिक सहयोग गरे । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाले सिद्धमार्ग आमा समूहलाई २० हजार आर्थिक सहयोग गरेको छ ।

Advertisement

पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले विपद् व्यवस्थापनको क्षेत्रमा वडा कार्यालयले कम्तीमा ५ प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए । उपशाखाका पूर्व सभापतिसमेत रहेका मर्सानीले वडाले गर्नुपर्ने विपद् व्यवस्थापनको काम रेडक्रस उपशाखालाई गर्न सुझाव दिए ।

‘विपद्को पूर्व तयारीको क्रममा वडा कार्यालयको रेडक्रस उपशाखासँग सहकार्यको सुरुवात भएको छ,’ उनले भने, ‘रेडक्रस उपशाखालाई साधनको स्रोतको कमी हँुदैन । समय सापेक्ष राम्रो काम गरेर पोखरा ९ उपशाखा अब्बल बन्नु पर्छ ।’ नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले विपद् व्यवस्थापन, विशेष रक्तदान र एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाउन सुझाव दिए ।

Advertisement

उनले डेंगी संक्रमण बढेको सन्दर्भमा टोल टोलमा सचेतनामुलक कार्यक्रम गर्न आग्रह गरे । नेपाल रेडक्रस सोसाइटी कास्की सभापति उर्मिला खड्का भण्डारीले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने अनुमानलाई मध्यनजर राख्दै १० घर परिवारलाई विपद् राहतको सामाग्री जोहो गर्न सबै उपशाखालाई परिपत्र गरेको जानकारी दिइन् ।

उनले पोखरा ९ उपशाखाले नयाँ कार्यालय भवनबाट रेडक्रसको अभियानलाई प्रभावकारी बनाउन आग्रह गरिन् । रेडक्रस सोसाइटी कास्कीका मन्त्री सन्तोष अधिकारीले जिल्ला शाखाले वार्षिक बजेटमा ५ उपशाखालाई कार्यालय व्यवस्थापनमा सहयोग गर्ने जानकारी दिए । ४८ उपशाखामध्ये १० उपशाखाको हातेमालो कार्यक्रम राखेको उल्लेख गर्दै उनले सहयोग लिएर चल्ने पोखरा ९ उपशाखा सहयोग दिने ठाउँमा पुगेको दाबी गरे ।

कार्यक्रममा पोखरा ९ का वडा सदस्य नन्दराम गिरी, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति रमा न्यौपाने कोइराला, पोखरा ९ का वडा सचिव कुलराज पौडेल, नेवा मिस पुच नयाँबजार अध्यक्ष कोपिला श्रेष्ठ, सांस्कृतिक समिति नयाँबजारका अध्यक्ष योगेन्द्र बाटाजु, नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाका सभापति राजेन्द्र पहारी, उपसभापति लक्ष्मी पहारी, सचिव वासुदेव तिम्सिना, महिला सदस्य रुपा केसी लगायतले विपद् व्यवस्थापनमा रेडक्रसले खेलेको भूमिकाबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया