रोटरी काठमाडौं हेरिटेजद्वारा वृक्षरोपण

समाधान संवाददाता २०८२ साउन ३ गते १६:३०

काठमाडौं ।

रोटरी काठमाडौं हेरिटेजले वृक्षरोपण तथा बाग्मती सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको गुह्येश्वरीस्थित बाग्मती नदीको किनारवरपर क्लबले अधिकार सम्पन्न बाग्मती आयोजनाका अभियन्ताहरूको सहयोगमा विभिन्न प्रजातिका १५० बिरुवाहरू रोप्नुका साथै बाग्मती सरसफाइ पनि गरेको हो ।

रोटरी क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का वातावरण समितिका प्रमुख ध्रुव आचार्य, अधिकार सम्पन्न बाग्मती आयोजनाका पूर्वप्रमुख उद्धव तिमिल्सिना र हालका पदाधिकारी प्रकाश अर्यालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बाग्मती आयोजनाका अभियन्ताहरू, बाल सारथी एकेडेमीका विद्यार्थीहरू, स्थानीयहरू, क्लबका सदस्यहरू तथा उनीहरूका परिवारका सदस्यहरू गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।

Advertisement

क्लबका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव चिजन पौडेलले र कार्यक्रमको संयोजन क्लबका पब्लिक इमेज चेयर डा. माला खरेलले गरिन् । बाग्मती अभियानका थानेश्वर भट्टले बिरुवाहरू उपलब्ध गराउनका लागि सहयोग गरे । कार्यक्रममा बाग्मती सफाइ अभियानका अभियानकर्ताहरूले रोपिएका बिरुवाहरूको गोडमेल तथा संरक्षण गर्ने जिम्मेवारी लिने प्रतिबद्धता जाहेर गरे । क्लबका प्रेसिडेन्ट नोमिनी पुण्यप्रसाद न्यौपानेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।

अहिले विश्वमा बढ्दो तापक्रमले नकारात्मक असर गरिरहेको र वातावरण संरक्षणलाई विभिन्न देशहरूले प्राथमिकता दिँदै आएको सन्दर्भमा नेपालले पनि यसलाई प्राथमिकता दिएर विश्वमा नै उदाहरणीय देश बन्न सक्ने अवसर रहेको छ । वातावरण संरक्षणका यस्ता कार्यक्रमहरूले देशको पर्यटनलगायत अन्य विभिन्न आर्थिक क्षेत्रलाई समेत सकारात्मक प्रभाव पारेर देशको दिगो आर्थिक विकासमा मद्दत गर्नेमा क्लब विश्वस्त छ । रोटरी क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले समेत यस वर्ष ५० हजार वृक्षारोपण गर्ने लक्ष्य लिएकोले क्लबले यो कार्यक्रम आयोजना गरेको हो । क्लबले भविष्यमा पनि यस्ता विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया