कारागार भत्किएपछि कैदीबन्दी सारियो

समाधान संवाददाता २०८२ साउन ३ गते १७:१३

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरमा रहेको जिल्ला कारागारको गेट (प्रवेशद्वार) भत्किएपछि यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ । गत बुधबार अपराह्न पौने ५ बजेतिर कारागारको पश्चिमतिर रहेको कैदीबन्दी प्रवेश गर्ने गेट भत्किएको हो । अविरल वर्षाका कारण सदरमुकाम बेसीसहरस्थित जिल्ला कारागारको पर्खाल भत्किएपछि असुरक्षित बनेका १०८ जना कैदीबन्दीलाई छिमेकी जिल्ला तनहुँ र कास्की स्थानान्तरण गरिएको छ । स्थानान्तरणको विरोधमा रहेका कैदीबन्दी र प्रशासनबीच ५ बुँदे लिखित सहमति भएपछि उनीहरू अन्यत्र जान तयार भएका हुन् । कारागारको भत्किएपछि थप भौतिक तथा मानवीय क्षति हुन सक्ने भन्दै प्रशासनले कैदीबन्दीलाई अन्यत्र सार्ने निर्णय गरेको थियो ।

Advertisement

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार कैदीबन्दीले जिल्ला नछाड्ने अडान लिएपछि शुक्रबार जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, वडाध्यक्षसहितको टोलीले कैदीबन्दीसँग छलफल गरेको थियो । लामो छलफलपछि प्रशासनले कैदीबन्दीको सुरक्षा, मानवअधिकार र अन्य माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि स्थानान्तरणको बाटो खुलेको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार ६ महिलासहित ३० जनालाई तनहुँ र ७८ जना पुरुषलाई कास्की कारागारमा पठाइएको छ ।

जिल्लामै बस्नुपर्ने माग राख्दै आएका कैदीबन्दीसँग लामो छलफल, अन्तर्क्रियापश्चात् भएको लिखित प्रतिबद्धतापछि शनिबार स्थानान्तरण हुन सहमत भएका थिए । कारागारको मर्मतपछि उनीहरूलाई फेरि लमजुङ ल्याइने बताइएको छ । अन्यत्र जिल्लामा रहँदा एउटै ब्लकमा रहने गरी सम्बन्धित जिल्लाका प्रजिअ र कारागार प्रशासनसँग समन्वय गर्ने सहमति भएको छ ।
यसैगरी यहाँ बन्दीहरूले उत्पादन गरेका सामग्रीको सुरक्षा र बजारीकरणको जिम्मा कारागार प्रशासनले लिने सहमति भएको वार्तामा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसीले जानकारी दिए ।

Advertisement

कारागार प्रशासक बेनीबहादुर मुक्तानका अनुसार करिब ३ मिटर पर्खाल भत्किएको छ । १० जना महिला र २५ जना पुरुष गरी ३५ जना क्षमताको कारागार भए पनि जिल्ला कारागारमा तेब्बर बढी कैदी र थुनुवा छन् । कारागारमा हाल ६ महिलासहित १ सय ८ जना कैदी र थुनुवा छन् ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले यथाशीघ्र कारागार पर्खाल मर्मतका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने बताए । उनले भवन जीर्ण भएको र पर्खालहरूमा समस्या देखिएको बताए । विगतका वर्षमा पनि कारागारको पर्खाल भत्किने गरेको थियो ।

Advertisement

२०२८ सालमा निर्मित ३५ जना क्षमताको यो कारागारमा तेब्बरभन्दा बढी कैदीबन्दी राखिँदै आएको थियो । जीर्ण भवन र क्षमताभन्दा बढी कैदीबन्दीका कारण कारागार व्यवस्थापनमा चुनौती थपिँदै आएको थियो ।

कारागार प्रशासक बेनीबहादुर मोक्तानका अनुसार पुरुष कैदीबन्दीलाई ४ वटा बस र महिलालाई एउटा हाइसमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षाबीच कास्की र तनहुँ ल्याइएको हो ।
प्रशासन र कैदीबन्दीबीच भएको ५ बुँदे सहमतिमा भत्किएको संरचना तत्काल मर्मत गर्ने, मर्मतपछि सबै कैदीबन्दीलाई लमजुङ नै फर्काउने, स्थानान्तरण गरिएका कैदीबन्दीलाई छुट्टै ब्लकमा राख्न पहल गर्ने, उनीहरूको लत्ताकपडा र उनीहरूले उत्पादन गरेका सामग्रीको सुरक्षा र बजार व्यवस्थापन गर्ने तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया