
जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिकास्थित थाक सात सय क्षेत्रको सामूहिक चरन क्षेत्र मार्चे लेकमा याकचौरीको आलो रगत पिउने मेला सुरु गरिएको छ । मार्चे याक नाक कृषक समूहले बिहीबारदेखि त्यहाँको लेकमा याकचौरीको आलो रगत पिउने मेला आयोजना गरेको हो ।
हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा जिउँदो याकचौरीको रगत पिउने मेला सयौं वर्षदेखि चल्दै आइरहेको छ । प्राकृतिक उपचार पद्धतिमध्येको एक उपचार पद्धति मानिएको चौरीको आलो रगत पिउँदा मानिसको पेट सम्बन्धी सम्पूर्ण रोगको निदान हुने जनविश्वास रहिआएको छ ।
समुद्री सतहको झन्डै ४ हजार मिटरको अग्लो उचाइमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मार्चे लेकमा मार्चे याक नाक कृषक समूहका १० वटा गोठ रहेको समूहका सदस्य सोजन हिराचनले जानकारी दिए । हिउँदमा बेसी र गर्मीयाममा मार्चे लेकमा पुर्याएर याक/चौरी पालन गर्ने प्रचलन रहेको सदस्य हिराचनले बताए । त्यहाँको मार्चे लेकमा १० घरधुरीको करिब आठ सयभन्दा बढी याकचौरी रहेको उनले जानकारी दिए । मार्चे लेकमा थाक सात सय क्षेत्रअन्तर्गत सौरु, सिर्खुम, लार्जुङ, नाउरिकोट र ताक्लुङलगायतका याकचौरी कृषकहरूको गोठ रहेका छन् ।
निकै रमणीय स्थानमा रहेको मार्चे लेक नीलगिरि हिमालको फेदमै अवस्थित छ । निकै हरियाली र कोलाहलमुक्त स्थान मार्चे बुगिनमा बर्सेनि साउन महिनामा याकचौरीको आलो रगत खाने मेला लाग्छ । हिउँद याममा भने बेसी स्थानान्तरण गरिएका याकचौरी उच्च लेकमा स्थानान्तरण गर्नुअघि बर्सेनि वैशाख महिनामा थासाङको घट्टे खोलामा याकचौरीको आलो रगत खाने मेला लाग्ने गर्छ ।
बर्खायाममा उच्च लेकको चरन क्षेत्रमा पर्याप्त हरियो घाँस पलाउने र उच्च लेकका याकचौरीले त्यहाँको प्राकृतिक जडीबुटी सेवन गर्ने भएकाले याकचौरीको आलो रगत स्वास्थ्यवद्र्धक मानिएको हो । उच्च लेकको चरन क्षेत्रमा त्यहाँ पालन गरिएका याकचौरीले वन्य जडीबुटी यार्सागुम्बा, पाँचऔँले, निरमसी, जटामसी, सतुवा, चिची, भोलु चिया, कुरिलो, तोरा चिची, जिम्बु र वन लसुनलगायत वनस्पति खाने भएकाले याकचौरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने जनविश्वास छ । यसरी वन्य जडीबुटी खाएका जिउँदो याकचौरीको रगत खाँदा मानिसको ग्यास्ट्रिक, गानोगोला, दम, प्रेसर, सुगर र यौन शक्तिको क्षमतामा समेत योगदान पुर्याउने भएकाले जिल्लाभित्र र जिल्लाबाहिरका उल्लेख्य सर्वसाधारण याकचौरीको रगत खान मुस्ताङ आउने गरेको समूहका सदस्य सोजन हिराचनले बताए ।
त्यसो त मुस्ताङको उच्च लेकको चिसो हावापानीमा हुर्काइएका याकचौरीको मासुसमेत निकै स्वादिलो र पोसिलो हुने गर्छ । मुस्ताङका उच्च लेकमा पाइने यार्सागुम्बा, निरमसी, जटामसी र पाँचऔँलेलगायतका जडीबुटीहरू आयुर्वेद चिकित्साका लागि औषधिको रूपमा प्रयोग गर्ने गरिएको छ । यसैका खातिर यहाँका याकचौरीको रगत खाने मानिसको पेट सम्बन्धी उपचार हुने जनाइन्छ ।
मुस्ताङको थासाङस्थित मार्चे बुगिन लेकमा १० दिनसम्म याकचौरीको आलो रगत खाने मेला चल्ने जनाइएको छ । चौरीको आलो रगत खाने मेला सञ्चालनपूर्व बुधबार त्यहाँको मार्चे लेकमा सामूहिक रूपमा गोठ पूजा गरिएको मार्चे याक नाक कृषक समूहका अध्यक्ष बबुद्ध गौचनले जानकारी दिए । यस वर्ष याकचौरीको आलो रगत प्रतिगिलास दुई सय रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय भएको उनले बताए । ‘यस वर्ष पनि विगतको जस्तै चौरीको रगत खाने मेलाको सबै व्यवस्थापन गरिसकेका छौँ, आ–आफ्ना गोठहरूमा टहरा बनाएर होटल पनि चलाएका छौँ,’ अध्यक्ष गौचनले भने, ‘करिब तीन सय जनाभन्दा बढी सर्वसाधारणको उपस्थिति हुने अनुमान गरिएको छ, यहाँ रगत खानेदेखि याकको मासुसमेत खाने व्यवस्था मिलाएका छौँ ।’
मुस्ताङको मार्चे लेकसम्म पुग्न बेनी–जोमसोम मुख्य राजमार्गदेखि कालीगण्डकी पूर्व करिब तीनदेखि पाँच घण्टाको ठाडो उकालो यात्रा गर्दै पुग्न सकिने समूहका अध्यक्ष गौचनले जानकारी दिए । मार्चे लेक जान सौरु र चिमाङबाट पुग्न सकिने दुईवटा गोरेटो बाटो रहेको उनले बताए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया